Powered by Blogger.
रुदानेको २६ औं स्मृति दिवशमा थाहामा माल्यार्पण, हेटौडामा अन्तरक्रिया र दिप प्रज्वलन


हेटौंडा ।  थाहा दर्शनका प्रणेता रूपचन्द्र विष्ट ‘रुदाने’को २६ औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

मकवानपुरको हेटौंडामा रूपचन्द्र विष्ट स्मारक समिति र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई रूपचन्द्र÷थाहा÷जनमुखी अभियानबारे प्रशिक्षण दिइएको छ । मान्छेमा चेतना जगाउने अभियानका संस्थापक अभियन्ता विष्टको स्मृतिमा स्मारक समितिले वार्षिक कार्यक्रम गर्दै आएको छ ।

रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले विसं २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो ।

राष्ट्रिय पञ्चायतका सदस्य बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्ने नेताका रूपमा परिचित थिए । जनमुखी राजनीति गरेर पटक पटक जेल जीवन बिताएका रुदानेले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत जेल जीवन बिताएका थिए । 



केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी भन्ने उनका वाणी अहिले पनि उत्तिकै चर्चित छन् ।

विसं १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौँमा निधन भएको थियो।

यसैगरी थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको अवसरमा हेटौंडाको थाहाचोकमा शनिबार साँझ दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । 

रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल र नुरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान हेटौंडाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए ।

संविधानसभा सदस्य प्रल्हाद लामिछानेले रुपचन्द्र बिष्ट सबैको साझा ब्यक्तित्व भएको बताउँदै उनको विचार आज पनि सान्दर्भिक रहेको धारणा राखे । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, वडा नम्बर १० का सदस्य ईश्वरप्रसाद मैनाली, नेपाल अडिटर्स एसोसिएसनका प्रतिनिधि प्रकाश ढकाल, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्याल लगायतको उपस्थिति थियो ।

यता रुदानेको जन्मनगर थाहा नगरमा पनि  थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को सम्झनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम नगर प्रमुख बिष्णुबहादुर बिष्टको अध्यक्षतामा विकास घरको प्रांगणमा रहेको रुदानेको सालिकमा माल्यार्पण गर्दै सम्पन्न भयो ।



कार्यक्रममा वक्ताहरूले रुपचन्द्र बिष्टको योगदान स्मरण गर्दै “श्रमलाई प्राथमिकता दिन सक्नु नै उनलाई सच्चा श्रद्धाञ्जली दिने तरिका हो” भन्ने धारणा राखेका थिए । उनीहरूले बिष्टको जीवन र विचार आज पनि सान्दर्भिक रहेको बताए ।

कार्यक्रममा उपप्रमुख भरत गोपाली, स्थानीय स्मारक समितिका अध्यक्ष बिमल कुमार बिष्ट, जिल्ला बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल, माओवादी, जिल्ला समन्वय सदस्य अरुण रायमाझी, जनमुखी सहकर्मी ज्योती रायमाझी लगायतका वक्ताहरूले रुपचन्द्र बिष्टको राजनीतिक, सामाजिक योगदान र थाहा दर्शनको महत्त्वमाथि चर्चा गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू तथा जनमुखी सहकर्मीहरूको उपस्थित रहेको थियो। वक्ताहरूले रुदानेले नेपाली समाजमा श्रम, न्याय, समानताको आवाज उठाएको उल्लेख गर्दै उहाँको आदर्श पछ्याउनु आजको आवश्यकता भएको बताए ।





0 comments

Write Down Your Responses