Powered by Blogger.
तीजमा बालविवाह बालश्रम विरुद्ध सन्देश

मनहरी ÷ हरितालिका तीजमा सामान्यतः महिलाहरु आफ्ना दैनिकीका दुःख पीडाका गीतहरु गाउँदै रमाउने प्रयास गर्छन् ।
तर मनहरी गाउँपालिकामा भने महिला र किशोरीहरुले बालविवाह र बालश्रमको पीडा गीतबाट ब्यक्त गरेका छन् । मनहरी गाउँपालिका स्तरीय गाउँ बाल संरक्षण समितिको आयोजना तथा मनहरी एफएम १०४.३ मेगाहर्जको व्यवस्थापनमा भएको बाल बिबाह र बालश्रम न्यूनिकरण बिषयको तीज गीत प्रतियोगितामा महिला तथा किशोरीहरुले बाल बिबाह र बाल श्रम न्यूनिकरणका मुद्धाहरु उठाएका हुन् । उनीहरुले १३ बर्षकै उमेरमा बिबाह भएको र विवाहपछि पनि किशोरीले छोरी जन्माएको भन्दै घरबाट निकाला भएका दर्दनाक कथा गीतमार्फत प्रस्तुत गरेका थिए ।
५ वटा टिम सहभागी भएको प्रतियोगितामा प्रगति संवाद समूह, द्वित्तीय सुमधुर संवाद समूह, तृत्तीय सगरमाथा संवाद समूह भएको थियो । राष्ट्रिय संवाद समूह र संयुक्त निगरानी समूह सान्त्वना भएको थियो । प्रथम, द्वित्तीय र तृत्तीय हुने टिमलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार रुपियाँ नगद पुरस्कारको व्यवस्था गरिएको थियो । सान्त्वना हुनेहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरी गाउँपालिकामा २० बर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने सन्देशलाई कार्यान्वयन गर्न विवाह निमन्त्रणा कार्डमा समेत जन्ममिति उल्लेख गर्नुपर्ने नियम लागू गराउन लागिएको बताए । उनले आगामी दिनमा होटलहरुमा हुने बाल श्रम र बाल विवाहको घटनालाई रोक्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माइती नेपालकी संयोजक माया लामाले स्वागत गरेकी थिइन् । निर्णायकहरुमा मृगतृष्णा कला साहित्य डबलीका पूर्व अध्यक्ष गोविन्दप्रसाद पौडेल र गायक बुद्धिमान घिसिङ रहेका थिए । सोही कार्यक्रममा नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, सुन्दर लामा, कुमार चेपाङ, सुजन चेपाङ, रीता चेपाङ लगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा बाल कल्याण समाज, प्लान इन्टरनेशनल, माइती नेपाल, एस्थर बेन्जामिन स्मृति संस्था, इटीएससी नेपाल, हिमराइट्स, शक्ति समूह, सिविन नेपाल, मकवानपुर महिला समूह, सहास नेपाल, दिब्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था, मृगतृष्णा कला साहित्य डबली, मनकामना सनातन धर्म संरक्षण संस्था लगायतको सहकार्य रहेको थियो ।

0 comments

Write Down Your Responses