Powered by Blogger.
राष्ट्रियताका सवालमा सबै राजनैतिक दलको एकमत हुनैपर्छ


जयराम बिडारी ‘जीवन्त बिम्ब’
थाहा –६ बज्रबाराही (मकवानपुर)


यतिबेला सारा भारतीय मिडिया लिपुलेक कालापनीको पक्षमा र नेपाली चेली मनिषा कोइरालाको बिरुद्धमा एकबद्ध भएर लागिरहेछन् । हामीमा त्यो सम्बेदनशिलतालाई ख्याल गरिएको जस्तो लाग्दैन ।

बिशेष गरेर सरकारको भजन गाऊँ भन्न खोजिएको होइन तर बिषय र मुद्धाका आधारमा बिवेकको प्रयोग चाहिं  गरिनु नै पर्छ । यति भनिसक्दा पनि मेरो सरकारले लिपुलेक कालापानी लिम्पियाधुरा सहितको जुन नक्शा जारी गरेको छ त्यसलाई स्थापित गराउन सफल भयो भने नेपाली जनताले युगौंयुग सम्म यो सरकारको मुक्तकंठले प्रशंसा  गर्नेछन् । 

हामी(नेपाली)हरु चेतनाका नाममा कसैको समर्थन वा बिरोधका लागि कसैको तलबी कर्मचारीको जस्तो भूमिका निभाइरहेछौं ।  वाश्तविकता  त्यो भन्दा धेरै नै फरक कुरा हो । समर्थन र बिरोधका लागि बिवेक बन्धक नराखौं, सहि र सत्य हाम्रो आवाज हुनु पर्दछ । 

राष्ट्रीयताको मुद्धा बडो जोडतोडले उठिरहेको बर्तमान परिस्थितिलाइ हेर्दा अतिक्रमणमा परेको नेपाली भूमी लिपुलेक,कालापानी र लिम्पियाधुरा हरहालतमा फिर्ता नै एक मात्र उद्देश्य हो जस्तो देखिंदैछ जुन सुखद परिणामका साथ टुंगियोस् भन्ने सारा नपालीको सदिक्षा रहेकोछ ।

राष्ट्रियताका सवालमा सबै राजनैतिक दलको एकमत हुनु पक्कै पनि सुन्दर पक्ष हो । भारतीय संचार माध्यमहरुले नेपालको भूमिलाइ लिएर गलत तथा भ्रमपूर्ण समाचार सम्प्रेषित गरेर एक खालको आतंकको खेती गरिरहेको परिप्रेक्षमा नेपाली चेली तथा अभिनेत्री मनिषा कोइरालाले भारतीय भूमीबाटै आफ्नो मातृभूमिको लागि गरिएको अभिव्यक्ति सर्वथा प्रशंसनीय छ । 

मनिषा कोइराला तीनै ब्यक्ति हुन् जो राजा ज्ञानेन्द्रको शासनकालमा आफ्ना बुवा प्रकाश कोइरालाको तत्कालीन चुनाव प्रचार प्रशारका क्रममा नेपालका  सारा मिडिया मिलेर मनिषालाइ खुइल्याएकै हुन् । 

अहिले उनलाई भारतीय संचार माध्यमले एकेहोरो खेदो खनिरहेछन् । ब्यक्ति त उहिनै हो , तर मनिषा त्यतिबेला पनि सहि थिइन् राजतंत्र बिनाको नेपालले प्रगती र बिकाश गर्न सक्दैन भन्ने मान्यता हो उनको । अहिले पनि कर्मथलोको कुरो अलग हो, आफ्नो जन्मथलोको बारेमा उनले जुन अपनत्व देखाइन सायद यो देशको प्रधानमंत्रीले भन्दा बढि हलचल मचाइन् उनले पुरै भारतभरी ।

‘राजभक्ति त मर्दैन पापी राजा भएपनि, देशभक्ति त मर्दैन चुत्थो देश भएपनि’ भने जस्तै देश महान नै हो , हाम्रा नेताहरुका अकर्मण्यताले प्रगति बिकाश र सुशासन हुन सकेन तर जनजनको राष्ट्रभक्ति संसारको जुनसुकै कुनामा बसेपनि मर्दैन भन्ने कुरा उन्ले प्रष्ट पारेकी छिन् । 

बर्तमान सरकार चौतर्फि घेराबंदिमै थियो इतिहासमा  यत्तिको दवाव खेपेको सरकार सायद कुनै पनि थिएन । स्पष्ट बहुमत मात्रै होइन दुई तिहाई बहुमतमा हुदाहुदैपनि यो सरकारले परिणाममुखि नतिजा दिन नसक्नुको यथार्थ सवैले बुझेकै कुरो हो । घ्यू बेचुवा र तरवार बेचुवाको संगमले आशातित परिणाम दिने कुरै आउदैन । अझ थप कुरा के पनि हो भने आमाको बरखि नै नबारी प्रतिगमन आधा सच्चियो भन्दै प्रधानमंत्रीको लाइनमा लाग्ने तत्कालीन महासचिव माधवकुमार नेपाल देखि निर्वाचन हारेपनि राष्ट्रिय सभामा जानका लागि मुख मिठ्याएर बसेका बामदेब गौतम अनि जसरी पनि सक्तिको केन्द्रबिन्दुमा बसिरहन मन पराउने प्रचण्डको कोपभाजनमा परेको थियो सरकार ।

बिद्रोह र विध्वंश मच्चाउने क्षमता भएको, तर सिर्जना र विकासको कुनै दृष्टिकोण तथा प्रतिबद्धता नभएको व्यक्ति हुन् प्रचण्ड भन्ने जानकारी अब नेपालीलाइ मात्र नभई बाह्य जगतका मानिसलाई समेत जानकारी भइसकेको छ ।

सत्ता र धनसत्ताबाहेक अर्को कुनै गन्तव्य नभएका प्रचण्डले आफूलाइ फाइदा हुने बाहेक अरुकुरामा सम्झौता गर्दैनन् । सरकार गठन भएको एकबर्ष देखि ङ्यारङुरु सुरु गरेका प्रचण्डले अहिले डिप्रेसनको औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् ।  
   
यस्ता गफाडि तथा धोकाधडि दिनेहरुको ग्यांग बोकेर हिडेपछि जुनसुकै बेला पनि दुर्घटना हुनु अस्वाभाविक होइन । फेरी हामी नेपालीहरुलाई अस्थिर राजनीतिको बानी जो परेको छ ।   
  
सरकारले बदमासी गरेको होला त्यसलाई पार्टीले अनुगमन वा निर्देशन दिनेहोला नि ।  सरकार साच्चिकै चेपुवामा परेको हो भने त्यसबाट निकाश दिने काम पार्टीको होला । पार्टीमा सवै एक अर्कों प्रति असहिष्णु हुने हो भने सामूहिकताको प्रकृति कसरीै फस्टाउने ? सधैभरी यिनका रोइलोको पछि दौडिदै देशले बिकाश र समृद्धिको लागि कहिले ध्यान दिने ? नेपालको राजनीति नेपाली जनबाट हुन् नसकेको तमाम उदाहरण इतिहास बाट नै प्रष्ट हुदै आइ रहेको छ । 

पृथ्वीनारायण शाहले केपुचियन पादरीहरुलाई नेपालबाट लखेटे पनि उनको देहसावन पछि बिभिन्न बाहानामा कृश्चियनहरु नेपाल पसेर आफ्ना कुत्सित कार्यहरु गरिनैरहे । पृथ्वी नारायण शाहसंग पराजित भएका कृष्चियनहरुले आफ्ना गतिविधिलाइ फरक रुपमा प्रस्तुत गरेर यहांको राज्यसत्तालाई आफ्नो स्वार्थ अनुसार हस्तक्षेप गरेर यो देशलाइ तहस–नहस पार्ने सम्मको काम गरेको देखिन्छ । 

इतिहास देखिको अध्ययन गर्ने हो नेपालको जहानिया राणा शासनका सुत्राधार यीनै कृश्चियन थिए राणाहरु भित्रको आन्तरिक कलहमा यीनको प्रत्यक्ष परोक्ष रुपमा भूमिका रहेको पाइन्छ ।

जब भारतमा स्वतंत्रताको प्राप्ति भयो यहांको ( नेपालको )आन्तरिक मामीलाका घुसपैठ गर्ने गर्ने जिम्मा अंग्रेजहरुबाट भारतीयहरुले शुरु गरेको देखिन्छ ।  सन १९५० असमान सन्धिको सूत्राधार तीनै हुन् । जसले नेपाल लगायतका आफ्ना वरिपरीका कुनै पनि छिमेकीसंग कहिल्यै मित्रवत् ब्यवहार गर्न सकेको छैनन् । 

२००७ सालको क्रान्ति देखि ०३६ ,सालको आन्दोलन लगायत २०४६ सालको एवं २०५२ सालको माओवादी गुरिल्ला युद्धका सुत्राधार हुदै ०६२–०६३को आन्दोलन साथै १२ बुंदे दिल्ली सम्झौताको बारेमा सारा नेपाली जनता जानकार छदैछन् ।

त्यतीले मात्र नपुगेर, नेपालको लागि लड्न नेपालीलाई प्रयोग गर्न माओबादीको स्थापना पनि भारतले नै गरेको हो भन्ने कुरा हिजो मात्र एकपुर्व भारतिय जर्नेलले पोल खोले ।  

राजदरवार हत्याकाण्ड , गणतन्त्र लगायत सवै कर्ताधर्ता भारत नै भए पछि यहाँका नेताहरु त कठपुतलि मात्र हुन् कि भन्ने आशंका जन्मिएको छ । 

हामीले नेता मानिदिएका यी परावलंबी अनुहारले हाम्रा सामू के को आधारमा फूर्ति गर्नु ? फेरी पनि यीनै परावलंबीहरुलाइ हामी नेता मानिरहन्छौं र यीनैबाट देशले समृद्धिको सपना साकार पार्छन् भनेर सोचिरहन्छौं भने हामी कहिल्यै  र कुनै पनि हालतमा सुध्रिनेवाला छैनौं भन्ने बलियो प्रमाण अरु के होला ?

हालः थानकोट, काठमाडौं 

0 comments

Write Down Your Responses