काठमाडौँ । चाबहिल स्थित मनास्लु वल्र्ड कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
एक कार्यक्रमका बीच कलेजले आफ्ना विद्यार्थीहरूका लागि कलेज बारे जानकारी गराएको हो। अभिमुखीकरण कार्यक्रम भए पनि स्तरीय प्रस्तुतिहरू तथा गतिविधिहरूले कार्यक्रम उत्साहजनक बनेको थियो ।
मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा चर्चित सञ्चारकर्मी ऋषि धमला, उत्प्रेरक वक्ता विकास देव योञ्जन, गायिका रचना दाहाल र उनको ब्यान्ड विशेष अतिथिका रूपमा रहेका थिए ।
विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्य रहेको कार्यक्रममा मनास्लु वल्र्ड कलेजका क्याम्पस प्रमुख राजन श्रेष्ठ, वित्त प्रमुख कुमार मोक्तान सहित सञ्चालक समिति सदस्यहरू, प्रशासक, शिक्षक, शिक्षिका, कर्मचारी, कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहित कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजको कक्षा १२ मा कानुन विषय अध्ययनरत छात्रा अपेक्षा कार्कीले मनास्लुको बृहत् परिवारमा नयाँ साथीहरूलाई स्वागत गर्न पाउँदा गौरवको महसुस गरेको बताइन्। एक वर्ष अघि आजका नयाँ विद्यार्थी बसेकै ठाउँमा उत्साह लिएर र धक मानेर आफू बसेको स्मरण गर्दै उनले आज आफ्नो निर्णय सही थियो भन्ने महसुस गरेको बताइन् ।
जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र मनास्लु बाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने उनले उल्लेख गरिन् । मनास्लुले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र ‘लर्नर’ बाट ‘लिडर’ बनाउने उनको भनाई थियो।
अभिमुखीकरण कार्यक्रम र मनास्लु बारे जानकारी गराउँदै कलेजका क्याम्पस प्रमुख श्रेष्ठले प्रमुख अतिथि र अतिथिहरूलाई उपस्थितिका लागि आभार प्रकट गरे। मनास्लु टिमको एकताले बनेको संस्था भएको हुँदा यसको यात्रा लामो रहेको उनको भनाई थियो।
जिपिएले मात्रै व्यक्तिको भविष्य निर्धारण गर्न नसक्ने हुँदा जिपिएले मात्तिने र आत्तिने गर्न नहुने उनले बताए। मनास्लुले आफ्ना विद्यार्थी सँग भएका क्षमतालाई विकास गरेर उसको करियर बनाउन मद्दत गर्ने उल्लेख गरेका श्रेष्ठले विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
कलेजले मिस्टर एण्ड मिस मनास्लु २०२४ का विजेता क्रमशः स्यारोन लामा वाइबा र दाबा छिरिङ भोटेलाई सम्मान पत्र सहित सम्मान गरेको थियो। सम्मान ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मिस मनास्लु विजेता लामाले मनास्लु आफ्नो स्मृतिमा सदा रहने बताइन्।
एउटा विद्यार्थी मात्रै बनेर छिर्दा देखि मिस मनास्लु र ब्रान्ड एम्बेसडर बन्दा सम्मको यात्रा अविस्मरणीय रहेको उल्लेख गरेकी उनले आफूलाई पूर्ण छात्रवृत्तिमा अमेरिकामा पढ्न जान सक्ने बनाउने मनास्लु प्रति आभार प्रकट गरिन्।
सामान्यतया अभिमुखीकरण भन्ने बित्तिकै नियमहरू पढाउने अवसरका रूपमा कलेजहरूले लिने भए पनि मनास्लुले भने राष्ट्रिय रूपमा ख्यातिप्राप्त व्यक्तित्वहरू ल्याएर उत्प्रेरणा दिने, मनोरञ्जन गराउने र सफलताका कथाहरू बाँड्ने अवसरका रूपमा यसलाई प्रयोग गरेको थियो। उत्प्रेरक वक्ता विकास देव योञ्जनको विशेष प्रस्तुतिले मनास्लु छिरेको पहिलो दिन नै विद्यार्थीहरूलाई आगामी यात्राका लागि ऊर्जा प्रदान गर्दै तयार बनेको थियो।
त्यस्तै कार्यक्रममा प्रस्तुतिका लागि उपस्थित विभिन्न ब्यान्डको प्रस्तुति, ¥याप देखि दोहोरी सम्मका संगीतको संयोजन, गायन, नृत्य, जादु लगायत प्रस्तुतिहरूले कार्यक्रमलाई अझै रोचक र अर्थपूर्ण बनाएका थिए। कार्यक्रमको सुरुवातमै प्रस्तुत स्वागत नृत्य वास्तवमै जो कोहीको मन जित्ने खालको थियो। अन्य प्रस्तुतिहरू पनि कुनै व्यावसायिक कलाकारको भन्दा कम थिएनन्। यी सबै पक्षहरूले कार्यक्रमलाई रोचक र उत्साहजनक बनाएको थियो।
कार्यक्रममा शुभकामना दिन पुगेका चर्चित सञ्चारकर्मी ऋषि धमलाले मनास्लुको व्यवस्थापन बाट आफू प्रभावित भएको बताए। सबै पक्षको राम्रो समिश्रण भएकाले मनास्लु उत्कृष्ट कलेज हो भन्ने आफ्नो बुझाइ रहेको उनले उल्लेख गरे।
धमलाले मनास्लुको अनुशासनले यो देशको आगामी यात्राको मार्ग निर्देश गर्ने भन्दै भोलिका मन्त्री, प्रधानमन्त्री, वैज्ञानिक, पत्रकार, कलाकार सबै मनास्लुका विद्यार्थी बन्ने विश्वास व्यक्त गरे। उनले मनास्लुमा अध्ययनरत विद्यार्थीलाई विदेश जाने नभई देशमै अध्ययन गर्न सुझाव दिए । आफ्नो जीवनका अनुभूतिहरू समेत बाँडेका उनले सबै विद्यार्थीलाई सफलताको शुभकामना दिए।
कार्यक्रममा कक्षा ११ पढाउने अध्यापकहरूको परिचय विद्यार्थीहरू माझ गराइएको थियो भने सह प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजका बारे जानकारी दिँदै के गर्ने, के नगर्ने लगायत विषयहरूमा जानकारी दिँदै अभिमुखीकरण गराएका थिए। श्रेष्ठले मनास्लुको आज सम्मका उपलब्धि र आगामी योजनाहरू पनि विद्यार्थीहरू माझ बाँडे।
कार्यक्रमको अनौपचारिक सत्रमा प्रस्तुत गायिका रचना दाहाल र उनको ब्यान्डको प्रस्तुति सहभागी विद्यार्थीहरूले सबैभन्दा बढी रुचाएको प्रस्तुति बनेको थियो। त्यस्तै मनास्लु ब्यान्डले पनि तारिफयोग्य प्रस्तुति दिएको थियो ।
कार्यक्रममा विभिन्न परीक्षा तथा गतिविधिहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बर्तौलाले आमन्त्रणका लागि मनास्लुलाई धन्यवाद दिए । कार्यक्रमको सुरुमा राखिएको स्वागत मन्तव्य बाटै आफू प्रभावित भएको बताएका उनले नयाँ आएका सबै विद्यार्थी त्यस्तै क्षमतावान् बन्न सकुन् भन्ने कामना गरे। विद्यार्थीहरू भविष्यको द्वारमा रहेको हुँदा जिम्मेवारी बोधका साथ अघि बढ्नुपर्ने बताएका उनले विभिन्न अर्थपूर्ण उदाहरणहरू मार्फत उनीहरूलाई मार्गदर्शन गरे।
मनास्लुको नारा नै नेतृत्वकर्ता जन्माउने रहेको हुँदा भोलि हरेक क्षेत्रमा कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई देख्न पाइयोस् भने कामना उनले गरे। बर्तौलाले युवाहरूले राजनीति प्रतिको चाख र अध्ययन नराख्ने हो भने देश वर्षौँ पछि पर्ने भन्दै फोहोरी खेल भनेर बस्ने नभई त्यसलाई सुधार्न लाग्नुपर्नेमा जोड दिए ।
कानुन विषय समेत अध्यापन हुने गरेको मनास्लुले नेपालको विधायीकी प्रक्रिया बुझ्न संसद् भवन आउन चाहे आफूले सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरे। उनले सबै विद्यार्थीहरूको भविष्य सुन्दर होस् भन्ने शुभकामना दिए ।
कार्यक्रम समापन गर्दै मनास्लु वल्र्ड कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति गेन्द्र लामाले मनास्लु गन्तव्यमा पुगेको नभई त्यस तर्फको यात्रामा रहेको उल्लेख गरे। उनले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरे।
लामाले कलेजलाई विश्वास गर्ने ७०० भन्दा धेरै विद्यार्थीलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गरे। उनले कठिन समयमा सुरु भएको मनास्लु, यसको मिसन–भिजन, झेलेका चुनौती, पाएको सफलता र आगामी लक्ष्य बारे विस्तृतमा चर्चा गरे।
मनास्लुको सफलताको श्रेय सिङ्गो मनास्लु टिमलाई जाने उनको भनाई थियो। कार्यक्रम नै कलेजले गर्ने गतिविधिहरूको प्रतिनिधि भएको हुँदा कार्यक्रममा देखिएका जस्तै गतिविधिहरू वर्ष भरी कलेजमा विद्यार्थीहरूका लागि गर्ने बताउँदै उनले कार्यक्रम अन्त्य गरे।
0 comments
Write Down Your Responses