Powered by Blogger.
१८ वर्षपछि मात्र कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकले रुट इजाजत पायो


मकवानपुर । सडक स्थापना भएर सवारी साधन चल्न थालेको १८ वर्षपछि मात्र कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकले रुट इजाजत पाएको छ । 

यातायात व्यवस्था विभागले इन्द्रशरोबर गाँउपालिकाको पहलपछि केही दिन अघि उक्त सडकलाई स्थायी रुट इजाजत दिएको हो ।

सडक सञ्चालनमा आएयता २०५७ सालदेखि टाटा सुमो,माइक्रो, मिनीबस तथा निजी कारहरु लामो समयदेखि चल्दै आएको थियो । तर स्थानीयहरुले माग गर्दै आए पनि  विभिन्न कारणले यातायात कार्यालयले रुट इजाजत भने दिएको थिएन । अब यो सडक भएर सञ्चालन हुने सम्पुर्ण सवारी साधनहरुले बाग्मती र नारायणी यातायात कार्यालयमा गइ तत्काल दर्ता गराएर मात्र  सवारी साधन सञ्चालन गर्न वडा कार्यालयले अनुरोध गरेको छ । 

अहिले काठमाडौंबाट कुलेखानी भिमफेदी हुँदै हेटौंडा पुग्ने बाटोहरुमध्ये सो सडक दुरीको हिसावले सबैभन्दा छोटो हो । 

तत्कालिन प्रधानपञ्च मानबहादुर लामा र सानुकान्छा लामाको पहलमा जनताहरुलाई गहुँ र चामल दिएर खन्न सुरुवात गरिएको यो बाटो अहिले विभिन्न सवारी साधनहरुको आवागमनले चर्चामा रहेको छ । 

पञ्चायतकालमै स्थानीय विकासका अगुवा लामाद्धोयले जनस्तरबाट निर्माण सुरु गरेको यो बाटो २०४६ सालपछि तत्कालिन कार्यबाहक प्रधानमन्त्री तथा काँगेसका नेता वलबहादुर राईले शिलान्यास गरेका थिए । 

स्थानीय वीरबहादुर लामा जिल्ला विकास समितिको सभापति र सांसद भएपछि यो सडक विकास र विस्तारको लागि धेरै नै पहल गरेका थिए । 

जिल्ला विकास समिति, प्लान इन्टरनेशनल र जनस्तरबाट पहल तथा स्थानीय स्तरको बजेट प्रवाह गरी बाटोलाई यो रुपमा ल्याउन सफल भएको गाँउपालिकाका अध्यक्ष जीवन लामाले बताउनुभयो । 

पछिल्लो समय सिस्नेरीको बाटोमा अत्याधिक बजेट निकासा भएको र सोही कारण फाखेलको बाटो ओझेलमा पार्न प्रयत्न गरिएको स्थानीयहरु बताउँछन् । 

सिस्नेरीको बाटो बन्द हुँदा मात्र वैकल्पीक रुपमा प्रयोगमा ल्याइएको र केही व्यक्तिहरुले फाखेलको बाटोलाई रुट इजाजत नदिएर एकाधिकार लाद्ने प्रयत्न गरेपनि जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव वैद्य, मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको सकारात्मक प्रयासले मुर्त रुप पाएको बताइएको छ । 

अध्यक्ष जीवन लामा र वडाअध्यक्ष धनवीर स्याङ्तान तथा धनराज महर्जनले रुटको जिम्मा आफुहरु जनप्रतिनधीको हैसियतले लिने भन्दै अस्थायी रुट इजाजत दिन खोजिएकोमा त्यसको विरोध गर्दै स्थायी रुटको माग गर्दै आएका थिए । 






0 comments

Write Down Your Responses