Powered by Blogger.
पत्रकार गोले तामाङ पत्रकार संघ मकवानपुरद्धारा सम्मानित हुदै

मकवानपुर /  मकवानपुरमा तामाङ सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी पूर्णिमा गोलेलाई तामाङ पत्रकार संघ मकवानपुर शाखाले सम्मान गर्ने भएको छ । रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गते मनाइदै आइरहेको ‘तामाङ प्रसारण दिवस’ को अवसर पारेर गोलेलाई सम्मान गर्न लागिएको हो ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा बसेको विशेष बैठकले यही आउँदो भदौ १ गते शुक्रबारको दिन परेको २४ औँ तामाङ प्रसारण दिवसमा ‘तामाङ पत्रकारिता सम्मान–२०७५’ बाट गोलेलाई सम्मान गर्ने निर्णय गरेको संघका जिल्ला सचिव दिलबहादुर लामाले जानकारी दिए । गोलेलाई भदौ १ गते बिहान ११ बजे नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा हुने कार्यक्रममा सम्मान गर्ने कार्यक्रम तय भएको छ । मकवानपुरमा तामाङ सञ्चारका माध्यमबाट तामाङ भाषा, धर्म, रितिरिवाज तथा समग्र तामाङ समुदायलाई टेवा पुराउने सञ्चारकर्मीहरुमध्ये गोलेलाई पहिलो पटक संघको जिल्ला शाखाले सम्मान गर्न लागेको हो । यस अघि तामाङ पत्रकार संघ मकवानपुर शाखा (तत्कालिन तामाङ सञ्चार समूह) ले तामाङ समुदायमा योगदान पुराएकाहरुलाई सम्मान गर्दै आइरहेको भए पनि यस वर्षदेखि पूर्व संचारकर्मी तथा क्रियाशिल संचारकर्मीलाई नै सम्मान गर्ने निर्णय भएको हो ।
को हुन् पूर्णिमा गोले ?
वि.सं. २०४० साल माघ ४ गते पिता हरिबहादुर गोले र माता बुद्धिमाया गोलेको कोखबाट जन्म लिएकी पूर्णिमा गोले, मकवानपुरको तत्कालिन भैँसे गाविस वडा नम्बर ६ सानुटारमा जन्मिएकी हुन् । एम.ए. सम्मको अध्ययन पुरा गरिसकेकी गोले, मकवानपुरमा तामाङ भाषामा कार्यक्रम सञ्चालन गर्ने पहिलो महिला कार्यक्रम प्रस्तोता हुन् ।

जिल्लामा तामाङ भाषामा कार्यक्रम संचालकका रुपमा देखिएका डेबिट तामाङ र मेम्बर लोपछि चर्चामा आएकी उनले जिल्लाकै पहिलो एफ.एम. मनकामना एफ.एम. ९२.९ मेगाहर्जमा १ वर्ष ५ महिनासम्म तामाङ भाषाको कार्यक्रम संचालन गरेकी थिईन् । मकवानपुरको पहिलो टेलिभिजन टिम टेलिभिजनमा समेत १ वर्ष कार्यक्रम प्रस्तोता भएर काम गरेकी गोलेले हेटौँडा एफ.एम.मा वि.सं. २०६३ बैशाख २४ गतेदेखि वि.सं. २०६५ कार्तिक ३० गतेसम्म तामाङ भाषा सहित नेपाली भाषामा कार्यक्रम प्रस्तोता तथा समाचारवाचकका रुपमा काम गरेको अनुभव छ ।

विकासका लागि सहकार्य नेपाल, हेटौँडामा कार्यक्रम उत्पादन तथा आमसञ्चार सम्बन्धी तालिमको प्रशिक्षकका रुपमा समेत कार्य गरेकी गोलेले वि.सं. २०६७ सालदेखि २०७० सालसम्म स्थानीय शान्ति समितिमा रही कार्य गरेको अनुभव समेत छ । त्यस समयमा उनले रेडियो कार्यक्रम ‘शान्ति संवाद’ उत्पादन तथा संचालन गरेकी थिईन् । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) मकवानपुरको अध्यष समेत भएर कार्यभार सम्हालेकी उनले रेडियो मकवानपुरमा कार्यक्रम संयोजक समेत भएर काम गरेकी थिईन् ।

‘तिर्थ दास स्मृति पत्रकारिता पुरस्कार २०७३’ बाट समेत सम्मानित भइसकेकी गोलेलाई तत्कालिन तामाङ सञ्चार समूह ( हाल तामाङ पत्रकार संघ) केन्द्रीय समितिले समेत वि.सं. २०६९ साल भदौ १ गते ‘तामाङ मिडिया अवार्ड’ बाट सम्मान गरेको थियो । उनलाई वि.सं. २०६७ साल भदौ १ गते नेपाल तामाङ राष्ट्रिय महासंघले समेत सम्मान गरिसकेको छ ।

0 comments

Write Down Your Responses