Powered by Blogger.
भूकम्पले जगायो सहयोग र समर्पण भाव

१२ वैशाख अर्थात् २५ अप्रिल शनिबारका दिन विनाशकारी भूकम्प गएको थियो । त्यो दिन हाडजोर्नी बिशेषज्ञको हरेक दुई महिनामा हुने मिटिङ छाउनीस्थित मिलिटरी हस्पिटल, बीरेन्द्र अस्पतालमा भएको थियो । मिटिङ सकेर साथीहरुसँग हल्का ब्रेकफास्ट लिँदै थिएँ । ब्रेकफास्ट लिइसकेपछि घर फर्कने तयारी हुँदै थियो ।

मिटिङका लागि बीरेन्द्र अस्पताल छाउनी जाँदै गर्दा बाटोमा स्वयम्भूको अन्त्यन्त राम्रो दृष्य देखेर एउटा तस्वीर पनि खिचेँ । त्यो तस्वीर अझै मसँग छ । मिटिङ सकिएपछि सोचें, स्वयम्भू हुँदै रिङरोड भएर घर जान्छु, त्यहाँबाट निस्किएँ । बिस्तारै बाटो छिचोल्दै अघि बढ्दै रिङरोड पुगें । त्यहाँ धेरै खलबल थियो । ट्राफिक दायाँ र बायाँ मान्छे हिँडिरहेका थिए । बनस्थली स्कुल आइपुग्दा धेरै विद्यार्थी देखिए । परीक्षाको रिजल्ट भएको हो वा के हो धेरै विद्यार्थी त्यहाँ थिए । अघि बढेर बालाजु पुग्न हम्मेहम्मे पर्यो । बालाजु चोकबाट दायाँ फर्केर सोह्रखुट्टे जाने सामाखुशीको बाटोमा पत्नी सपनाको फोन रिसिभ गरेँ । घर आइपुग्न कति समय लाग्छ भनेर सोधिन् । अब दुई पाँच मिनेटमा घर आइपुग्छु भनेँ ।

जब ड्राइभ गर्दै एम्वासडर होटल भन्दा २० मिटर जति मात्र टाढा खानी बिभागको ठिक अगाडि पुगेपछि एक्कासी यस्तो घटना भयो कि जुन मैले कहिल्यै महसुस गरेको थिइनँ । गाडी हल्लियो । जति रोके पनि गाडी रोकिँदैन । बुझ्न सकिनँ, आफै बिरामी पो भएँकी, वा कुनै प्रोव्लेम आयोकी भनेर । ब्रेक लगाउँछु रोकिँदैन । वरपर यसो हेरेको त मोटरवाइक बाटोमा ढलिरहेको देखेँ । पर्यटक जोडी, बुढाबुढी एकअर्कालाई अँगालो मारेर रोइरहेको देखेँ । त्यसबेला लाग्यो, यो अर्थक्वेक रहेछ । त्यसपछि गाडीबाट बाहिर निस्किइनँ । एम्वासडर होटलको बिल्डिङ खस्ने हो कि भनेर दूरी विचार गरेँ । त्यसअगाडि भडे भन्ने रेस्टुराँ छ, त्यसको नजिकै भुटु भन्ने अर्को रेस्टुराँ पनि छ । दुवै रेष्टुराँबाट मानिस रुँदै कराउँदै बाहिर निस्किरहेका थिए । यत्तिकैमा गाडीको ह्यान्ड मिररबाट पछाडिको दृष्य हेरेँ । पछाडि त धुलोको मुस्लो उडिरहेको थियो । राजदरबारको पश्चिमतिरको पर्खाल सबै भत्किएको रहेछ । त्यसपछि, भूँइचालो थोरै थामिएपछि गाडीबाट निस्किएर एउटा फोटो खिचेँ ।

बल्ल दुई चिन्ताले सतायो । पहिलो चिन्ता परिवारको । के भयो होला र दोश्रो चिन्ता ग्रान्डी अस्पतालको । त्यसपछि म बिस्तारै ड्राइभ गर्दै लाजिम्पाटस्थित मेरो घरतर्फ गएँ । गाडी घरमा नलगेर नेपाली चुल्होको पार्किङमा नै राखेँ । नेपाली चुल्होको भवन ढलिहाल्यो भनेपनि असर नगर्ने गरी दूरी विचार गरेर गाडी त्यहा राखेर घर गएँ । घर जान लागेको बेला बाटोमा मान्छेको रोइकराइ र कोलाहल थियो ।  मेरो घरको अगाडिको छिमेकीको पर्खाल भत्केको रहेछ । गाडी नलगेको राम्रै भयो । घर पुगेँ । छोरासँग भेट भयो । अँगालो मारे । त्यो बेला छोरा पनि निकै भावुक थियो । परिवारका सबैको आँखाभरि आँसु थियो । त्यसपछाडि म र छोरा सबै परिवार घरपछाडिको गार्डेनमा बस्यौँ । त्यसपछि सपनालाई भनेँ, ‘हेर, अहिले अस्पताल जानै पर्छ ।’ किनभने, म अस्पतालको मेडिकल डाइरेक्टर पनि हुँ । मेरो ठूलो जिम्मेवारी छ बिरामीप्रति, उनीहरुको के गति होला र?

Medical Director of Grande International Hospital Dr. Chakra Raj Pandeyत्यो बेलासम्म टेलिफोन पूरै अवरुद्ध थियो । पटकपटक अस्पतालमा फोन गर्दा कुरा हुन सकेन । अस्पताल जान परिवारलाई सम्झाउन निकै गाह्रो भयो । सपनाले सँगै अस्पताल जाने आग्रह गरिन्, तर घरमा केटाकेटीको साथी कोही नहुँने भएकोले एक्लै अस्पताल आउने निधो गरेँ । अस्पतालका लागि बाहिर निस्किएँ । त्यसपछि माछापुछ्रे बैंकको ठिक अगाडि एउटा खाली टुरिष्ट भ्यान आइरहेको देखेँ र हात दिएँ । भ्यान रोकियो । हाँस्दै चालकले भने, ‘डाक्टरसाब म तपाईलाई चिन्दछु । उनलाई ग्रान्डी अस्पताल जान लागेको बताउँदै पुर्याइदिन आग्रह गरेँ । बसुन्धारासम्म पुर्याउछु र त्यहाँबाट आफ्नो मोटर बाइकमा  अस्पताल पुर्याइदिन्छु भन्दै उनले मोटरबाइकमा अस्पताल पुर्याइदिए ।

अस्पताल पुग्दा बेहाल थियो । मान्छेको कोलाहल र रुवाबासी । बिरामी बाहिर निकालिएका थिए । घाइतेको भिड । औषधिदेखि अक्सिजन, पानीदेखि बिजुलीसम्मको व्यवस्था मिलाउन कठिन थियो । परिस्थिति बयान गर्नसक्ने स्थिति नै थिएन । हाम्रा सहकर्मी डाक्टर, अनकल डाक्टर, इन्जिनियर, स्टाफ सबै दौडिरहेका थिए व्यवस्था मिलाउन । अस्पतालमा कार्यरत झोर र साङ्लेका स्टाफले त परिवार नै गुमाउनुपर्यो । पाँच शव लिएर आए, तिनलाई पन्छायौँ । घाइतेको औषधि उपचार गर्दैछौँ, टेन्ट छैन । खुला आकाशमा राख्न पनि भएन । सन्तोष पन्तको छोरा साकार पन्त भाइले निकै सहयोग गरे उनले तत्काल क्याटरिङको टेन्ट ल्याएर टाँगिदिए । त्यसपछि आर्मीसँग कुरा गरेँ, आर्मीले दुईवटा टेन्ट ल्याएर टाँगिदिए । मुख्य सचिव र स्वास्थ्य मन्त्रालयसँग पनि सहयोग मागेँ, यो बेला हामीलाई हजुरको मद्दत अत्यन्त खाँचो छ भनेँ ।

पानीदेखि खानासम्म, उपचारदेखि आश्रयसम्म धेरै कुरा व्यवस्था गर्नुपर्यो हामीले । हामी सबै कुरा भएर पनि एक्कासी गरिब भयौँ । यो बीचमा सिन्धुपाल्चोकबाट तीन बिरामीलाई हेलिकप्टरले आफैँ ल्याएर हाम्रो रुफटप हेलिप्याडमा छाडेर उड्यो । त्यसबेला लिफ्ट बन्द छ । १४ तलामाथिको हेलिप्याडबाट डन्जिनियर, डाक्टर, स्टाफ सबै लागेर बिरामीलाई तल लिएर आउन सफल भयौँ र उनीहरुको पनि उपचार गर्यौ । भूकम्पसँगै दुइ तीन इस्यु एकैपटक आए । एकातिर उपचारको कुरा । अर्को इन्जिनियरिङ फ्यासिलिटीको कुरा । दुइटा सँगै लैजानन कोसिस गर्यौं । धेरै मानिसले धेरै योगदान गरे । सबै ग्राण्डी स्टाफको ठूलो योगदान रह्यो, सबैभन्दा महत्वपूर्ण भूमिका भने इन्जिनियरको रह्यो ।

इन्जिनियरिङ डिपार्टमेन्टले पानी, बिजुलीको ब्यवस्थादेखि एमआरआइलाई माइनस असी डिग्री टेम्प्रेचरमा मेन्टेन गरी राख्ने व्यवस्थासम्म मिलायो । जसले हामीलाई भेन्टिलेटर लगायतका सुबिधाका लागि सहज भयो । यो बीचमा हामीले बिरामी, कुरुवा, आगन्तुक र आश्रितका लागि समेत खानाको व्यवस्था गर्यौँ । त्यसका लागि ग्रान्डी अस्पतालले डटेर सामना गर्यो र कुशल रुपमा व्यवस्थापन गर्यो । त्यसबखत नेपाली सेना, सशस्त्र प्रहरी बल र विभिन्न सामाजिक र राजनीतिक संघसंगठनले उल्लेखनीय सहयोग गरे । त्यसैगरी वर्ड फुड अर्गनाइजेशन र अष्ट्रेलियन एडलगायतका अन्तर्राष्ट्रिय संघसंगठनले पनि सर्भिस टेन्ट लगायतमा गरेको सहयोगको लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ ।

त्यो दिन दिउँसो सिइओ डाक्टर सफिकसँग अस्पतालभित्रै एउटा कुनामा बसेर दाल, साग र भात अनि एक दुइ ग्लास स्प्राइट खाएँ, जुन मेरो जीवनमा खाएको सबैभन्दा मीठो खाना भयो । डाक्टर सफिकले भन्नुभयो, ‘डाक्टर पाण्डे तपाईं अरु दबाएर खानुस्, बेलुका खान पाइन्छ पाइन्न, ठेगान छैन ।’खाना पनि जीवनमा कहिल्यै नखाएको परिमाणमा टन्नै खाएँ । त्यसपछि अरु स्टाफलार्इ खुवायौं । नर्सले भने त्यसबेला खाइसकेका थिए ।

हामीलाई सबैभन्दा ठूलो च्यालेन्ज के आइलाग्यो भने, प्यासेन्ट केयर एकठाँउमा छ, उता भूकम्पपीडित घाइतेको भिड अर्कोतिर छ । भूकम्पले हामी यस्तो अवस्थामा पुग्यौ कि, उपचारका लागि आवश्यक कति सामग्री नै छैन । हामीले एउटा औँला काटिएको बिरामीलाई समेत फर्काउनुपर्ने अवस्था आयो । भवनभित्र गएर औषधि र उपकरण प्रयोग गर्न सकिएन । एघार तल्लाको अपरेशन थियटरमा अपरेशन सुरु गर्न सम्भव भएन । यो बीचमा स्टेरलाइजगर्ने इक्यूपमेन्ट ढले । त्यसलाई सिधा गरेर मेन्टेन गर्न गाह्रो भयो । त्यसलाई भोलिपल्ट मात्र मिलाउन सक्यौँ तर फस्ट डे गर्न सकेनौँ । जसले हामीलाई अत्यन्त गाह्रो भयो । त्यो चुनौती आइलाग्यो । करोडौंको सामान छ, एउटा क्याथल्याबको मात्र हाफ अ मिलियन डलर, पाँच करोड रुपैयाँ परेको छ । अपरेसन थियटरको उपकरण भनौँ, त्यसैगरी एमआरआइ भनौँ, सिटी भनौँ । सबैकुरा के कस्तो अवस्थामा छ भनेर हामी पाँच सातजनाको टोली सबै १४ तलासम्म हिँडेर त्यसैदिन घुमेर हेर्यौँ ।

अर्थक्वेक आइरहेको छ, हामी हिडिरहेकै छौँ । पाइप फुटेको ठाउँमा पानी बन्द गर्दै हिँडिरहेको छ हाम्रो इन्जिनियरिङ टोली । हामीले यसरी इक्विपमेन्ट प्रोटेक्सन र तीनको अवस्थाबारे जानकारी लियौँ । ट्रिटमेन्टको लागि टिम अप्रोच सबै डाक्टर र नर्सको सहयोगबाट सम्भव भयो । साथमा उपचार र खानाको व्यवस्था सबै बिरामीलाई निःशुल्क गर्यौं । औषधि होस्, अप्रेशन होस् वा अन्य उपचार, सम्पूर्ण कुरा निःशुल्क गरेर ग्रान्डी अस्पतालले आफ्नो भूमिका, आफ्नो राष्ट्र र समाजप्रतिको उत्तरदायित्व अत्यन्त इमान्दार भएर पूरा गर्यो । यससँगै हामीले तत्काल बन्द भएका लिफ्ट सञ्चालनमा ल्याउन इन्जिनियर हायर गर्यौ । दोस्रो दिन ३ लिफ्ट सञ्चालनमा ल्याउन सकियो । एक–दुई दिनपछि बिरामीलाई मनाएर उपचारको लागि भित्रमात्र के लगेका थियौ । फेरि भूकम्प आयो । भागाभाग भयो । सहयोग र असहयोगका अनुभूति गरियो, धेरै चुनौती आए । त्यसैबीच वीर हस्पिटलका निर्देशक डा. बुलन्द थापाले फोन गरेर ग्राण्डीमा डाइलाइसिस सेवा चलिरहेको छ कि छैन भनेर सोध्नुभयो । हामीले दोस्रो दिनदेखि नै डाइलाइसिस सुचारु गर्यौँ । हाम्रो आरओ वाटर चलेको हुनाले डायलायसिसमा कुनै समस्या भएन ।

अरु अस्पतालको आरओ वाटर बिग्रिएका बेलासमेत हामीले भूकम्पका बेला सहकार्य गरी अन्य अस्पतालका डाइलासिस आवश्यक भएका बिरामीलाई पनि सुविधा दियौँ । स्वास्थ्य मन्त्रालय र अन्य संघसंस्थासँग सकेसम्मको सहकार्य गरी प्रत्येक बिरामी र आश्रितलाई सेवा दियौँ । हामीसँग भएका हरेक दिनका जानकारी मन्त्रालयलाई दिने र उपचार सेवालाई तिव्रता दिने सबै काम गर्यौं ।

भवनको अवस्थाको चिन्ता र व्रिकवाल चर्किएका कारण मान्छे डराउँथे । बिरामी र आफन्त भवन ढल्ने भो भनेर त्रसित थिए । त्यसपछि यूएस एडका इन्जिनियरको टोली, जापानी इन्जिनियरको टोली, क्यानेडियन इन्जिनियरको टोली सबैलाई लिएर भवन निरिक्षण गरायौँ । त्यसको साथै भोलिपल्ट नै एनसेटका इन्जिनियर ल्याएर भवन निरीक्षण गरायौँ । भवन निर्माता सिइका कन्ट्रयाक्टरलाई पनि बोलायौँ र एनसेटले अगाडि र पछाडिको भवनलाई हरियो स्टिकार दिए । बीचको भवनलाई पहेँलो स्टिकार दिए । जहाँ भवनको इनफिल वाल मर्मत गरी सञ्चालन गर्न सकिने भनिएको छ । उनीहरुले अस्पताल स्ट्रकचरली सोलिड भएको बताए ।

काम गर्ने स्टाफ र डक्टरलाई निर्धक्क बनाउन भारतबाट एक्सपर्ट र इन्जिनियर ल्याएर भवनको अझ गहनरुपमा निरीक्षण गरायौँ । हायातका होटल र याक एण्ड यति होटल निरीक्षण गर्न आएका इन्जिनियरिङ टिमलाई अस्पतालमा ल्याएर उनीहरुलाई मिटिङमा राखेर अन्तरक्रिया समेत गर्यों । उता ड्याफको इन्जिनिरिङ टिमले डाक्टर, बोस र गुजरातको इन्जिनियरिङ टोलीबाट पनि अस्पताल निरीक्षण र परीक्षण गरायौँ । उनीहरुले बिल्डिङ स्ट्रक्चरल्ली पर्फेक्ट भएकाले निर्धक्क भएर काम गर्न सुझाव दिए । उनीहरुले अस्पताल भवनलाई अझ बलियो बनाउने र सुन्दरसमेत बनाउने बताएका छन् । सिस्मिक जोइन्ट र एक्सपान्सन जोइन्ट बेस्ट वेबाट अझ बलियो बनाउने योजनासहित ग्रान्डी अघि बढेको छ ।

यत्रो ठूलो काम गर्दाको साइकोलोजिकल स्ट्रेस, फिनान्सियल डिस्ट्रेस, अब दैनिक वन पोइन्ट थ्री मिलियन डलर रेभिन्यू कलेक्सन गर्ने अस्पतालले एक करोड रुपैयाँ पनि कमाउन सकेन । भनेपछि हामीलाई स्टाफ स्यालरी दिनदेखि लिएर हस्पिटलको दैनिक गतिबिधिरु गर्न अथवा हाम्रो अर्थक्वेक भिक्टीमलाई फ्रि ट्रिटमेन्ट गर्न हम्मेहम्मे पर्यो । यति प्रतिकुल परिस्थितका बाबजुद पनि हामीले सात सय भन्दा बढी विरामीलाई निःशुल्क उपचार गर्न सक्यौँ । जसमा एक सय २२ भन्दा बढीको मेजर अपरेसन नै गर्यौ । जसमा ढाड भाँचिएकादेखि लिएर हिप जोइन्ट रिप्लेसमेन्टदेखि लिएर मल्टिपल फ्रर्याक्चरदेखि लिएर एन्कल फ्रर्याक्चरदेखि लिएर टिस्यु इन्जुरी र डायलाइसिस गर्नपर्ने किड्नी सट डाउन भएको बिरामीसम्मको उपचार हामीले गर्यौं । सबै बिरामीलाई उच्चस्तरको उपचार दियौँ । यी सबै कुरा विचार गरेर क्यानेडियन एड, यूएस एड, जापान एडले पनि उनीहरुका रेस्क्यू टिममेटलाई चोटपटक लागेको खण्डमा ग्रान्डीमा ल्याएर उपचार गराउने सहमति गरे । क्यानेडियन एडले त मे महिनाको अन्त्यसम्मका लागि सहमति पत्रमा हस्ताक्षर समेत गरेको छ ।

भूकम्पले हामीलाई दुःख त दियो तर साथमा अझ परिपक्व पनि बनायो । हामीले अस्पताल बनाउँदा अगाडि खाली राखेको २० रोपनी जग्गाले हामीलाई बिरामीको व्यवस्थापन र घाइते व्यवस्थापन गर्न अति सजिलो भयो । मान्छेलाई कन्सोलिडेट र सोलिडिफाइ गर्न सजिलो भयो । मेकसिफ्ट अपरेसन थियटर बनाउन सजिलो भयो । टेन्ट पिच गरेर बिरामी राख्न सहज भयो । विविध कुराले हामी ग्रान्डीलाई नेपालको सबै भन्दा ठूलो स्वास्थ्य उपचार सेवा प्रदायक अस्पतालको रुपमा चिनाउन पनि मद्दत गर्यो । साथै, दुःखको दिनमा मिलेर काम गर्नुपर्ने रहेछ र समस्या र आपतको बेलामा पनि समाधान आउने रहेछ भन्ने एउटा बाटो पनि यो अर्थक्वेकले हामीलाई देखाएको छ । अहिले बारम्बारर आइरहेका झड्काले हामीलाई के सिकाइराखेको छ भने , हामीले अब अर्थक्वेकसँग नै बाँच्न सिक्नुपर्छ ।

अहिले १४ तलामा आइसियू रन भइसक्यो । ११ तलामा ओटी रन भइसकेको छ । १० तलामा सिसियू रन भइसकेको छ । अब नौ र आठ तलामा पनि बिरामी भर्ना भइसकेको अवस्था छ । हाम्रो अस्पतालको सम्पूर्ण प्राविधिक कुरा सुचारु भएकाले अब हामीलाई थप आत्मविश्वास जागेको छ । नेपालमा आउनसक्ने जस्तासुकै बिपत्तिमा पनि हामी डटेर उपचार सेवा दिन सक्छौँ । हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर हामी हाम्रो देशलाई अगाडि बढाउन सक्छौँ । हामीमा सहयोग र समर्पणको भावना छ भन्ने सन्देश यो अर्थक्वेकपछि हामीले दिन सकेका छौँ भन्ने मलाइ लाग्छ ।

– डा. चक्रराज पाण्डे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।

0 comments

Write Down Your Responses

pfizer vaccine