Powered by Blogger.
कसरी भइरहेछ अन्तरसाँस्कृतिक परिवर्तन ?






नेपाली समाजमा हेर्ने हो भने यहाँ हिमाल, पहाड र तराइमा खास खास खालका जाति तथा जनजातिको बसोबास स्थल भएपनि जातीय समिश्रणको अवस्था पनि त्यति नै छ । विभिन्न जाति तथा जनजातिका गतिशिलताका कारण एक अर्कामा सम्बन्धित हुने अन्तरक्रिया गर्ने तथा लेनदेन गर्ने वातावरणको सिर्जना हुन्छ । यस कारणले गर्दा पनि अन्तरजातीय परिवर्तन हुन्छ । अन्तरसाँस्कृतिक परिवर्तन हृन्छ ।
मूलतः हिन्दु धर्म मान्ने मानिस र अन्य समुदायले पनि जनजातीय तथा आदिवासी समुदायका मुल्य मान्यता संस्कार संस्कृतिलाई अवलम्बन गर्दै जान थालेका छन् ।  यहि प्रक्रियामा उनीहरुको जीवनपद्धति, तरिका र संस्कार आदीवासी तथा जनजातिको जस्तै बन्दै जान थालेको छ । समाजमा विभिन्न जात तथा जातिहरुको आपसी अन्तरक्रिया र सम्बन्धका कारण यस प्रकारको अवस्था सिर्जना हुन्छ । 

नेपाली समाजमा विभिन्न किसिमका जातीय एकता र अन्तरजातीय बिबाह  देख्न सकिन्छ । आज अन्तरजातीय विवाहका माध्यमवाट उपल्ला जातका मानिसहरुले जनजातिहरुका मान्यता, खानपान तथा संस्कारलाई अवलम्बन  गर्ने परिस्थिति सिर्जना भएको छ । उपल्ला जातका मानिसहरुले मासुका परिकार त्यो पनि ‘वफ’का परिकारहरु समेत खाने, मदिरा सेवन  गर्ने तथा हिन्दु मुल्य र मान्यतालाई अनुसरण नगर्ने, जनै नलगाउने, जपतव नगर्ने, जातपातको भावना नराख्ने, भान्छामा  समान व्यवहार गर्ने जस्ता पद्धतिहरुको विकास भएको देखिन्छ । कतिपय हिन्दुहरुले अन्य धर्मप्रति रुचि राख्नु, झारफुक टुनामुनामा विश्वास गर्नु पनि जनजातिका केहि उदारण हुन् । 
नेपाली समाजलाई अहिले हामी देखिरहेका छाँै, यहाँका विभिन्न जनजातिहरुको आफ्ना परम्परागत भाषा बोल्ने, परम्परागत पहिरन पहिरने, त्यस्तै आफ्ना चाडपर्व र संस्कारलाई जनजातीय मान्यतामा नै मनाउने प्रक्रिया तिव्र छ । जनजातिहरुले दशँै तिहार जस्ता हिन्दुले मान्ने चाडपर्वहरु मनाउनु हुँदैन भन्ने मान्यता तिब्र बढिरहेको छ । हिन्दु धर्म नमानी परम्परागत जातीय धर्मलाई महत्व दिएको पाइन्छ । 

आजको यूगमा धार्मिक कट्टरताहरु क्रमैसँग हट्दै गएका छन् । कानुनी रुपमै पनि प्रत्येक समूहले प्रत्येक सामाजिक कार्य गर्न सक्ने वातावरण सिर्जना भएको छ । पहिलेको जस्तो तल्ला हिन्दु समूह र जनजातिलाई खास सामाजिक परिधिभित्र मात्र बसेर सामाजिक कार्य गर्नुेपर्ने र गर्न सकिने वातावरण अहिले छैन । समाजले पनि उनीहरुलाई यस सम्बन्धमा निगरानी गरेको देखिदैन । जसले गर्दा अहिले हाम्रै समाजमा खानपान, लुवाइखुवाइ, धार्मिक संस्कार आदिमा तल्ला जातिले उपल्ला जातको नक्कल गर्ने प्रचलन बढेको छ । उदाहरणको रुपमा गैर हिन्दुहरुले सप्ताह, सत्यनारायणको पूजा, स्वस्थानी ब्रत बस्ने गर्दछन् । यसमा बाहुन पण्डितलाई बोलाएर वाचन गर्न लगाउँछन् । 

मानिस जन्मँदा, न्वारान, ब्रतवन्ध, बिबाह र मुत्यु हँुदा पनि त्यस समाजमा गरिने क्रियाकलापमा उच्च हिन्दु जातिको प्रभाव परेको देखिन्छ । तल्ला जातीहरुले थर परिवर्तन गरी उच्च हिन्दु जातिको थर राख्ने प्रचलन पनि पाईन्छ । जस्तैः कसाहीले शाही लेख्ने गरेको पाइन्छ । यसको महत्वपूण कारण भनेको हिन्दुहरुको बाहुल्यता धेरै हुनु र हिन्दु दर्शनलाई बढी महत्व दिनु हो ।

यसैगरी विभिन्न समाज र संस्कृतिसँगको सम्पर्क र अन्तरक्रियाका कारण संस्कृतिको प्रभाव एक अर्कामा परेको देखिन्छ । आजको आधुनिक समाजमा रहेका मुल्यमान्ता, प्रचलन र व्यवहारले एक अर्काको संस्कृति ग्रहण गर्ने सहज वातावरण सिर्जना भएको छ । आज मानिसहरु रोजगारका लागि आफ्नो जन्मस्थान छोडेर विदेशमा पुगेका छन् ।  यसले अन्तरसांस्कृतिक परिवर्तन ल्याएको छ ।
                                                                  

0 comments

Write Down Your Responses