Powered by Blogger.
जनताले नमागेको कुरा पनि मस्यौदामा घुसाइएको छ


सिताराम बर्तौला, क्षेत्रीय अध्यक्ष, राप्रपा, मकवानपुर–३  
सिताराम बर्तौला मकवानपुरको राजनीतिमा लामो समयदेखि  निरन्तर लागिरहेका व्यक्ति हुन् । विक्रम सम्वत २०१८ सालदेखि नै  निरन्तर राजनीतिमा लागेका छन् । उनी  जनताको सेवामा लगातार  जुटीरहेका छन् । उनी जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा सदस्य तथा सल्लाहकार  छन् भने राष्ट्रिय वर्तौला समाजको अध्यक्षका रुपमा कार्यरत छन् । पछिल्लो समय अन्तरिम संविधानको मस्यौदामा जातीय संघीयतालाई प्रोत्साहन गरेको र धर्म निरपेक्षतालाई विदेशीको इशारामा  बढवा दिइएको र नेपालीको मौलिक अस्थित्व खतरामा पार्न खोजिएको उनको आरोप छ । प्रस्तुत छ दामन पोष्ट साप्ताहिकका कार्यकारी सम्पादक राम बर्तौलाले उनीसंग गरेको कुराकानी ः  


वर्तमान राजनीतिक अवस्थालाई कसरी  विश्लेषण गरिरहनुभएको छ ?

अहिलेको राजनीतिक अवस्था भनेको डरलाग्दो अवस्था हो । अहंकारबाद र अधिनायकवादको चपेटामा सिङ्गो मुलुकलाई गुजुल्ट्याए्र राखिएको छ । यसले राष्ट्र जनताको कदापि भलो गर्दैन । चार दलको सिन्डीकेट छ । तिनका नाइकेहरुले बन्द कोठाभित्र बसेर विदेशीको इशारामा काम गरिरहेका छन् । उनीहरु राष्ट्रलाई कंगाल बनाउन दत्तचित्त भएर लागेका छन् । 

६ सय १ जनाको संविधानसभामा राष्ट्रलाई कस्तो बनाउने भन्ने छलफल हँुदैन । अब आउने संविधानले कसरी नेपाली जनतालाई फाइदा दिन सक्छ, अनि नेपालीलाई कसरी एकताको सूत्रमा बाँध्छ भन्ने कुरामा नेताहरु चिन्तित छैनन् । अहिले नेपालीलाई एकताको सूत्रमा बाँध्नुको सट्टा नागरिकहरुलाई अनेक किसिमका झुट्टा, काल्पनिक र बकम्फुसे नारा दिइएको छ । जात, जाति, क्षेत्र आधारमा कहिल्यै पनि विभाजित नभएका नेपालीहरुलाई नेताहरुले जबर्जस्त विभाजन गरेका छन् । विदेशीको इशारामा जातका आधारमा राज्य बाँड्ने, टुक्रा टुक्रा बनाएर भागबण्डा गरी चार दलको सिण्डीकेट लादिएको छ । 

दलीय संकीर्णबादको घेराबाट ग्रसीत भएका केही छद्मभेषीहरु आफू मात्र केवल जनताको ठेकेदार ठान्छन् । वर्षौदेखि पुस्ताहरुले जोगाइरहेको हाम्रो राष्ट्रको स्वाभिमान, प्रतिष्ठा र इज्जत खस्किंदै गएको छ । राष्ट्रिय अखण्डतालाई मध्यनजर राखी श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले विभाजीत बाइसे चौबिसे राज्यलाई एक सुत्रमा बाँधेर नेपाल राष्ट्रको एकिकरण गरेका थिए । तर त्यसको ठिक बिपरीत नेपाल राज्यलाई फेरी पनि विभिन्न जात जातिका नाममा, संघीयताको नाँउमा देशलाई  केक काटे जस्तो काट्नु र टुक्रा बनाएर भागवण्डा गर्ने नियत ठिक होइन । यो त केवल विदेशीहरुले बोकाएको मन्द विषको पोको मात्र हो ।

तपाँईको पार्टी अहिले के गरिरहेको छ त ?

हामीले  संघीय संरचनाको सट्टा आर्थिक विकेन्द्रीकरणको अवधारण अघि सारेका छौै । संघीयताले मुलुकलाई फाइदा गर्दैन । केही टाठा बाठाहरुलाई मात्र फाइदा हुने काम भयो । देश झन् कंगाल हुने भयो । जनता करको भारले प्रताडित हुन्छन् । मुलुक झन् बढी धरासायी हुन्छ ।  विकेन्द्रीकरण गर्दा केन्द्रको मुख नताकी गाँउ विकास समिति , नगरपालिका, जिल्ला विकास समिति जस्ता जनताका प्रत्यक्ष सरोकार राख्ने निकायमा यथेष्ट बजेट पठाउन सकिन्छ । साथै विकासको लागि आर्थिक सामाजिक स्पष्ट नीति ल्याई पूर्ण विकेन्द्रीकरणको सिद्धान्त अनुसार अघि बढ्न सकिन्छ । १५–१६ वर्षसम्म स्थानीय चुनाव नगराई विदेशीकै इशारामा अनेक किसिमका नयाँ नयाँ संघ संस्था जन्माइएको छ । यो प्रजातन्त्रको खिल्ली उडाउने शिवाय अरु केही होइन । 

तपाँईको पार्टी एउटै विचार धारा भएपनि भागवण्डाका कारण सधैं फुटीरहन्छ नी किन होला ?

यो राष्ट्रिय प्रजातन्त्र पार्टी सिङगो मुलुकवाशीका लागि प्रजातन्त्रको गाँउ तहसम्म सहि उपयोग गराउन राष्ट्रियता, प्रजातन्त्र  र उदारवादको सिद्धान्त बोकेर एक राष्ट्रवादी प्रजातान्त्रीक पार्टीको रुपमा स्थापना भएको हो । त्यसमा केही केन्द्रीय नेताहरुको जुङगाको लडाँइले फुट आएको छ । यसलाई स्विकार गर्न पर्दछ । यसले राष्ट्र र जनताको हित गर्दैन  भन्ने कुरा बुझेर नै अहिले आएर फुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरु र गाँउतहका साथीहरु जनता र कार्यकर्ताको मनोवल उच्च पार्दै अहिलेको अवस्थामा राष्ट्रलाई अफ्ठेरो परेको बेलामा राष्ट्रवादी र प्रजातन्त्रमा निष्ठावान उदारवादी विचार बोकेको पार्टीहरु भएकाले केन्द्रीय नेताहरुले बुझी विवेकमा सुधार आएको छ भने पार्टी एकिकरणका लागि केन्द्रीय तहमा छलफल भइरहेको छ । 

यस जिल्लामा तपाइको भुमीका के रह्यो ?

मैले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तको परिधि भित्र रहेर समग्र जनताहरुको हित र कल्याणको लागि पार्टीभन्दा माथि उठेर काम गर्दै आएको छु । यसमा केही कसैलाई अफ्ठेरो, गाह्रो साङ्ग्रो पर्दा जुनसुकै विचार राख्ने भए  पनि जनता जनार्दनलाई उनीहरुको परेको समस्या भन्दा राष्ट्रले तय गरेको विधि विधान प्रक्रिया पद्दतीभित्र रहेर आफूले सक्दो सहयोग पु¥याउदै आएको छु । 

गएको च्ुनावमा तपाईको पार्टीलाई पत्याएनन् नी ?

अहिलेको परिवेश के छ भने लुच्चा फटाहा र छाडा प्रवृती तथा  छलभिडबाट जनताहरुलाई प्रभावित पार्न गुलीया र चर्का नाराहरु प्रश्तुत गर्ने तथा कहिँ कतै डर धार धम्की त्रासबाट पनि सर्वसाधारण प्रभावमा परेको हुनसक्छ । हाम्रो पार्टीले त्यस्ता नचाहिंदा भड्काउने जातजातिका कुरा गर्ने, नेपाली जनतामा बेमेल ल्याउनेका साथै फुट र गुटकोसिर्जना गरी गराई आम नागरिकलाई भ्रममा पार्ने काम गरेनौं । हाम्रो मूल लक्ष्य भनेको सिङ्गो, सग्लो, सुन्दर र समुन्नत तथा समृद्ध नेपाल राष्ट्रलाई  अझ समृद्ध बनाई नेपालीहरुको स्वाभिमान उच्च राख्नुको साथै राष्ट्रिय एकता, अखण्डता, स्थापित गर्ने भएकोले हाम्रो यो मूल मर्म नेपाली जनताले नबुझेको हुनसक्छ । यि सब कुरा नेपाली जनताले ब्झ्नेछन् । यो हाम्रो मूल अभियानमा आगामी दिनमा नेपाली जनताले साथ दिनेछन् भन्ने लाग्छ । 

राजनीतिमा लागेर के पाउनुभयो, के गुमाउनु भयो ?

म राजनीतिमा लागेको पाउनका लागि होइन । म यस पवित्र मुलुकमा जन्मिएपछि जनताको सेवा गर्नु मेरो कर्तव्य रहन्छ । जुन समयदेखि जनताले मलाई राष्ट्र र जनताको हित र कल्याण अघि सारे, त्यसबेलादेखि नै म निरन्तर राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताका निम्ति सामाजिक सद्भाव, समुन्नती र मेलमिलापका निमित्त जनहितका लागि निरन्तर एक जनप्रतिनिधीको रुपमा लागि परेको छु । मलाई जनताहरुबाट निवर्तमान जनप्रतिनिधीकै हैसियतमा पत्याइ रहनु भएको छ । यसले मलाई अझ बढी काम गर्ने हौसला मिलेको छ ।

संविधानको मस्यौदा कस्तो लाग्यो ?

चारदलका नाइकेहरुले संविधानसभालाई रबर स्टाम्प बनाए । १६ बुदे सम्झौताका नाममा उनीहरुले जे मन लाग्यो त्यही गरिरहेका छन् । मैले पूर्ण यो मस्यौदा अध्ययन गरेको छु । यो मस्यौदामा गोलमोटल भाषा शव्द, सबैले बुझ्न नसक्ने शव्दावली तथा घुमाउरो शव्दजाल मात्र छ । यसमा नेपाली जनताले माग्दै नमागेको कुरा पनि घुसाइएको छ । नेपाली जनताका मान प्रतिष्ठा र एकतामा खलल पु¥याउने तथा अस्थिर मुलुक बनाइराख्ने षड्यन्त्रको जाँतोभित्र वर्तमान मस्यौदा तयार पारिएको छ । यसलाई राष्ट्रवादी, प्रजातन्त्रवादी तथा न्याय स्वतन्त्रताका पक्षधरका रुपमा ‘नेपालको पहिचान नेपाली हो’ भन्ने कुरालाई लिपीवद्ध गराई नेपाल र नेपालीको हित हुने संविधान ल्याउनुपर्छ भन्ने मलाई लाग्छ ।

0 comments

Write Down Your Responses