Powered by Blogger.
योजना तर्जुमामा मकवानपुरका महिलाहरुको सहभागिता नगन्य



सुरजकुमार भुजेल
मकवानपुर । महिला पुरुष समविकासको सवाल उठिरहेको बेला स्थानीय तहमा राजनीतिक दलको प्रमुख पदमा महिलाको संख्या ज्यादै न्यून देखिएको छ ।

२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म संचालन भएको महिला हिँसा विरुद्धको अभियानका क्रममा महिला सहभागिताको सवाल पनि उठेकै हो । तर, भाषण र सवालहरु आइरहे पनि व्यवहारमा नदेखिएको अधिकारकर्मी माया लामाले बताइन् । 

कुनै पनि संघ, संगठन, दल लगायतमा महिलाको सहभागिता ३३ प्रशितलाई सुनिश्चित गरिएको छ । यो कानुनतः तोकिएको छ । यसरी तोकिएको पदमा महिलाहरुको सहभागिता प्रतिशत पु¥याउनकै लागि मात्र भएको महिला सशक्तीकरण समाज मकवानपुरकी सचिव शकुन्तला गोपालीले बताइन् । योजना तथा नीति निर्माणमा जब महिलाको सहभागिता हुँदैन तबसम्म महिलाहरुको सहभागितामुलक विकास नाम मात्रको हुने सचिव गोपालीको भनाइ छ ।

स्थानीय निकाय संचालन कार्यविधि अनुसार अहिले स्थानीय निकाय (गाविस, नगरपालिका र जिल्ला विकास समितिको) योजना तर्जुमाका लागि वडा स्तरदेखि नै भेला बस्ने समय यहि हो । स्थानीय निकायको चुनाव नभएको हुनाले योजना छनौंट, बजेट विनियोजन लगायतका क्रियाकलापमा सबै राजनीतिक दलको निर्णय र वडा नागरिक मञ्चका पदाधिकारीको भरमा संचालन हुने गरेको छ । 

योजना छनौंटको यो प्रक्रियामा जति महिलाको सहभागिता बढ्यो उति नै महिलामैत्री योजना बन्ने अधिकारवादीहरु बताउँछन् । गाउँ तथा नगर स्तरीय राजनीतिक संयन्त्रमा महिला सहभागिता कमी भएपछि महिलामैत्री विकास कार्य धिमा मात्र हुने अधिकारकर्मी लामाले जोड दिइन् । 

मकवानपुरको ग्रामिण क्षेत्रलाई हेर्ने हो भने पनि यस क्षेत्रको एक मात्र नगरपालिकाको राजनीतिक संयन्त्रमा एउटा दलको बाहेक अरु दलबाट महिला प्रतिनधित्व छैन । थाहा नगरपालिकामा हाल नेपाली काँग्रेस, नेकपा एमाले,         राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा–माओवादीको प्रतिनिधित्व छ । यि दलहरु मध्ये नेकपा–माओवादीबाट एक मात्र महिला प्रतिनिधि बरिना बल रहेकी छिन् । 

त्यस्तै वडा स्तरको योजना तर्जुमामा नेतृत्व गर्ने वडा नागरिक मञ्चका संयोजकहरु पनि थाहा नगरमा महिलाको संख्या असाध्यै कमी छ । तथ्याङ्क हेर्ने हो भने १५ वटा वडा भएको थाहा नगरपालिकामा वडा नम्मर १४ मा मात्रै महिला संयोजक चुनिएका छन् । १४ नंबर वडा नागरिक मञ्चको संयोजक कल्पना बलामी एक  मात्र महिला संयोजक हुन् । 

प्रत्येक वडामा हुने वडा भेलाको नेतृत्व सम्बन्धीत वडा नागरिक मञ्चले गर्नेछ भने त्यसको सहजीकरण स्थानीय निकायका सामाजिक परिचालकले गर्ने प्रावधान रहेको छ । वडा नागरिक मञ्चमा पनि महिलाको ३३ प्रतिशत सहभागिता संख्या पुगेको भए पनि नेतृत्व तहमा भएको सहभागिताको कमीले महिलामैत्री योजना छायाँमा पर्ने गरेको संयोजक बलामी बताउँछिन् ।

योजना छनौंट गर्दा वडा नागरिक मञ्चको भेलाले योजना संकलन, प्राथमिकीकरण र आवश्यक बजेट समेत उल्लेख गरी सम्बन्धीत स्थानीय निकायमा पठाउने प्रावधान छ । थाहा नगरमा मात्र होइन उत्तरी मकवानपुरको चित्लाङ गाविसमा पनि गाविस स्तरीय सर्वदलीय संयन्त्रमा महिलाको संख्या शुन्य छ । त्यस्तै मार्खु, टिष्टुङ, आग्रा तथा गोगने गाविसको सर्वदलीय राजनीतिक संयन्त्रमा पनि महिलाको सहभागिता शुन्य छ । मार्खुमा प्रमुख तीन दल सहित नेकपा–माओवादीको प्रतिनीधित्व छ तर, कुनै पनि पार्टीले महिला प्रतिनीधी गाविसमा पठाएका छैनन् । 

त्यसो त वडा नागरिक मञ्चमा भने वडा नम्मर १, ४, ५, ८ र ९ वडामा महिला रहेको गाविसका प्रशासनिक सहायक रामकुमार रिमालले बताए । त्यस्तै टिष्टुङ गाविसमा पनि गाविस संयन्त्रमा राजनीतिक दलहरुले महिला प्रतिनीधि पठाएका छैनन् । 

वडा नागरिक मञ्चमा भने एकजना मात्रै महिला संयोजक रहेको टिष्टुङ गाविस प्रशासनिक सहायक पूर्ण गोलेले जानकारी दिए । टिष्टुङको ९ वटा वडामध्ये ४ नम्मर वडामा प्रितिमाया मोक्तान वडा नागरिक संयोजक रहेकी छिन् । 

त्यस्तै चित्लाङ गाविसमा पनि राजनीतिक दलमा एकजना पनि महिला प्रतिनीधि दलहरुले नपठाएको गाविस सचिव तपराज जोशीले बताए । चित्लाङको पनि वडा नम्मर २ वडा नागरिक संयोजक शोभा बस्नेत एक मात्र महिला छिन् । त्यस्तै फाखेलमा पनि एकजना पनि महिला दलहरुको संयन्त्रमा प्रतिनीधि नरहेको सहायक        हिरालाल बलामीले बताए । 

फाखेलको २ नंबर वडामा मन्जु रुम्बा एक मात्र महिला संयोजक हुन् । त्यस्तै जिल्लाको ४ नंबर निर्वाचन क्षेत्र अन्तर्गत गोगने गाविसमा दलीय संयन्त्रमा सात दल भए पनि उनीहरु मध्ये एकजना पनि गाविसको दलीय संयन्त्रमा महिला पठाएका छैनन् ।
  
त्यसो त वडा नागरिक मञ्चको संयोजकमा नौ वटै वडामा पुरुष मात्र संयोजक रहेको राष्ट्रिय जनमोर्चाका रत्नबहादुर गोलेले जानकारी दिए । आग्रा गाविसमा पनि कुनै पनि राजनीतिक दलको महिला प्रतिनिधी नपठाएको गाविसले जनाएको छ । 

उत्तरी मकवानपुरका यि तथ्याङ हेर्ने हो भने, स्थानीय निकायबाट हुने योजना निर्माणमा सहभागिता ज्यादै न्यून छ ।




0 comments

Write Down Your Responses