Powered by Blogger.
मकवानपुरकी चेपाङ किशोरी यसरी उदाइन् मोडलिङमा

मकवानपुर, २५ पुस । पहाडका कुना कन्दरामा गिठ्ठा भ्याकुर खोजेर खाने जातिको रुपमा चिनिएका चेपाङ समुदाय अब त्यसमा मात्र सिमित देखिएको छैन । 

मकवानपुरकी  एक चेपाङ युवती मोडलिङमा लागेपछि मौका पाँउदा जसले पनि आफ्नो क्षमता देखाउँछ भन्ने प्रमाणित भएको छ । मकवानपुरको चेपाङ बस्तीकी मेलिना पछिल्लो समय काँचका पर्दामा देखिन थालेकी छिन् । 

उनले केही गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रुपमा उतारेकी छन् । हरेक दिन काठमाडौँमा नयाँ नयाँ म्युजिक भिडियो निर्माण हुन्छ र युटुब अहिले नयाँ कलाकारहरुका लागि प्रमोसनको सबैभन्दा सहज माध्यम बनेको छ । 

कलाकारिताको यात्रामा पछिल्लो दुई वर्षदेखि सक्रिय मेलिना गाउँघरमै हुने सांस्कृतिक कार्यक्रम हुँदै म्युजिक भिडियोसम्म जोडिएकी छन् । मकवानपुरको राक्सिराङ, सरिखेत, मनहरीमा हुने सांस्कृतिक कार्यक्रम हुँदै उनी यहाँसम्म आएकी हुन् ।

मकवानपुरको राक्सिराङकी मेलिना काठमाडौँमा प्लस टुमा पढ्दैछिन् । कक्षा ९ मै पढ्दै कलाकारितामा लागेकी उनको पहिलो म्युजिक भिडियो ‘मगरको बस्तीमा’ दर्शकले रुचाएका छन् । लोकगीतको यो म्युजिक भिडियो युटुबमा मात्रै ७५ हजारले हेरेका छन् । सागरबाबु पुन र भूमिश्वरी पुनको यो गीतमार्फत मेलिनाले काँचको पर्दामा यात्रा सुरु गरेकी हुन् । 

उनले गायिका अन्जु पन्तको गीतको म्युजिक भिडियोमा पनि आफूलाई उतारिन् । पन्तको ‘तिमीले माया गर्ने मान्छे’को म्युजिक भिडियोमा खेलेकी मेलिनाले गायक प्रमोद खरेलको गीतमा पनि अभिनय गरिन् । प्रमोद खरेलको ‘सजाएछु रहर मनमा’ बोलको म्युजिक भिडियोमा पनि देखिएकी मेलिना पछिल्लो समय कलाकारितामै जम्ने योजनासहित काठमाडौँमा छिन् ।

उनी गएको दशैँमा बनेको गोविन्द मधुर आचार्यको म्युजिक भिडियो ‘यसपालिको दशैँ पनि’ पनि फरक भूमिकामा देखिइन् । यस्तै उनी जुना प्रसाइँको ‘नजलाउ नजरको तापैले’मा पनि मोर्डन क्यारेक्टरमा देखिइन् । प्रमोद खरेलकै ‘मेरो घरको धुरीले’ मा पनि उनी जमेकी छन् । 

रहरैरहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी मेलिना यसैलाई निरन्तरता दिन खोजिरहेकी छन् । कुशल नृत्यांगना मेलिना भन्छिन्, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा सबै भूमिका गर्न सक्छु ।’ 

परिवारले कलाकारितामै लाग्न प्रेरणा दिएको बताउने मेलिना भन्छिन्, ‘कुशल अभिनय र नृत्यका केही प्रशिक्षण लिइरहेको छु भने कलाकारितामै लाग्ने सपना र योजनासहित राजधानीमा छु ।’ उनी मकवानपुर, धादिङ, गोरखा, चितवन, तनहुँलगायतका सीमित जिल्लामा बसोबास भएको अल्पसंख्यक चेपाङ समुदायबाट म्युजिक भिडियोमा देखिएकी एक मात्र अनुहार हुन् । 

उनले सो अल्पसंख्यक समुदायको परिचय ‘राम्रो अभिनय गर्ने पात्र’का रुपमा दिने आशा गरिएको छ । उनको सुखद भविश्यको कामना ।




0 comments

Write Down Your Responses