Powered by Blogger.
तेस्रो थाहा नगरपरिषद् सम्पन्न, उपप्रधामन्त्री केसीले भने, ‘विकास हुन तल्लो तहबाटै योजना बन्नुपर्छ’


पालुङ, २८ पुस । थाहा नगरपालिकाको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ ।  उपप्रधान, सहकारी तथा गरिवी निवारण मन्त्री चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा नगरपरिषद सम्पन्न भएको हो । 

कार्यक्रममा उपप्रधानमन्त्री केसीले गाउँ तथा नगरको विकासको लागि तल्लो तहबाटै योजना बन्नुपर्ने बताए । उनले देश भूकम्प र नाका बन्दीले चरम संकटमा परेको उल्लेख गर्दै यसलाई टार्न सबै नेपाली एक हुनु पर्ने बताए । 

कार्यक्रममा विशिष्ट अतिथी तथा सांसद रामनारायण बिडारीले ‘विकासका मामलामा आफ्नो पाटी वा अर्को पार्टी भनेर विभेद गर्न नहुने’ नहुने बताए । विकासका लागि दलीय स्वार्थभन्दा माथि उठ्न सक्नु पर्ने बिडारीको जोड थियो । ‘बजेट नेपाल सरकारको, निर्णय नेपाल सरकारको अनि मैले ल्याइदिएको भनेर भन्नु निच विचार हो’, सांसद बिडारीले भने ।

कार्यक्रममा विशेष अतिथि रहेका मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले भूकम्प पिडित क्षेत्रमा परेको थाहा नगरमा पिडितले मात्रै इमान्दार भएर राहत रकम लिनका लागि जोड दिए । थपलियाले भूकम्प पिडितको राहत तथा पुर्ननिर्माणको लागि प्राधिकरण गठन भइसकेको अवस्थामा राहत वितरण व्यवस्थित हुने बताए ।

आर्थिक वर्ष २०७२÷०७३ का लागि अनुदान तर्फ २ करोड ५४ लाख, स्रोत उपयोग, बाँडफाँड र आन्तरिक आयतर्फ १ करोड ३१ लाख ३ हजार, प्रशासनिक अनुदान तर्फ ४१ लाख, सामाजिक सुरक्षा तर्फ १ करोड ५० लाख, जगेडा कोष ८७ लाख ४३ हजार र अन्य अनुदान तर्फ १ करोड ५० लाख गरी जम्मा ८ करोड १३ लाख ४६ हजारको संशोधित बजेट नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले पेश गरेका थिए ।

उनले पेश गरेको सो बजेट नगर परिषद्ले पारित गरेको छ । अधिकृत पुरीले आगामि आर्थिक वर्ष २०७३÷०७४ को लागि अनुदान तर्फ १ करोड ७० लाख, स्रोत उपयोग बाँडफाँड र आन्तरिक आयतर्फ १ करोड ९ लाख २७ हजार, प्रशासनिक अनुदानतर्फ ४५ लाख १० हजार, सामाजिक सुरक्षा तर्फ १ करोड ६५ लाख, जगेडा कोष १ करोड र अन्य अनुदानतर्फ १ करोड ६५ लाख  गरी जम्मा ७ करोड ५४ लाख ३७ हजार बजेट प्रस्तुत गरेका थिए ।

नगर परिषद्मा प्रस्तुत नीति तथा कार्यक्रममा खानेपानी, विद्यालय, पुल, सडक, भवन लगायतका पूर्वाधारहरु निर्माणको लागि सम्बन्धित कार्यालयहरुबाटै बजेट विनियोजन गराउन आवश्य पहल गरिने उल्लेख छ ।

नगरपालिकाको बजेटको परिधि हेरी वडा भेलाबाट प्राथमिकता तोकी आएका योजनाहरुलाई क्रमश संचालन गदै लगिने उल्लेख छ । विनासकारी भूकम्पबाट क्षति भएका खानेपानी आयोजनाहरुलाई तत्काल मर्मत संभार गरी सञ्चालन गर्न, पुर्ननिर्माण प्राधिकरणमा पहल गरिने जनाइएको छ । 

थाहा नगरपालिकालाई वैज्ञानिक ढंगबाट कृषिलाई व्यवस्थापन गरी व्यवसायीक बनाउन पहल गरिने समेत उल्ल्ेख छ ।– सुरजकुमार भुजेल



0 comments

Write Down Your Responses