Powered by Blogger.
प्रशासनको बेवास्ताले बज्रबाराहीमा सरकारी राहतको चरम दुरुपयोग


बज्रबाराही २५, पुस । जिल्ला प्रशासन कार्यालय मकवानपुरको बेवास्ताका कारण बज्रबाराहीमा वितरण गरिएको सरकारी राहतको चरम दुरुपयोग भएको छ । बिगतदेखि नै पटक पटक राहतमा मनपरी हुदै आएको समाचार सार्वजनिक भए पनि प्रशासनको बेवास्ताका कारण हालै वितरण गरिएको सरकारले न्यानो अभियान अन्तर्गत पठाएको रकममा पनि ब्यापक दुरुपयोग भएको पाइएको हो । 
जाडो मौसममा न्यानो कपडा किन्नका लागि भन्दै सरकारले पठाएको सो रकममा स्थानीय पहुँचवालाहरुको मात्रै हालीमुहाली बढेपछि वास्तविक पीडितलाई घाउमा नुनचुक हालेसरी भएको छ ।
उक्त रकम टहरामा बस्नेहरुले भन्दा पनि घरमा बस्नेहरुले पाएको भन्दै स्थानीयले गुनासो पोखेका छन् । दलीय भागबन्दा र मिलोमतोमा राहत वितरण गरिएको भन्दै उनीहरु आक्रोसित भएका हुन् । “सरकारी राहतले हाम्रो पीडामा नुनचुक छर्ने काम भएको छ, हामी टहरामा बस्नेलाई दिएन, ढलान घरमा बस्नेहरुले पाए ।” वडा नं. १४ का एकल महिला गोमाया बलामीले भनिन् ।  तथ्यांक संकलन र राहत वितरणमा स्थानीय राजनीति दलका नेताहरुले चरम मनपरी गरेको वडा नं. १२ का स्थानीय निराजन गोपालीले वताए ।
यस अघि रेडक्रसले वितरण गरेको राहतमा मनपरी गरेको भन्दै स्थानीयले त्यस वडाका संयोजकलाई नै बहिस्कार गरेर नयाँ संयोजक नियुक्त गरेका थिए । सरकारले पठाएको न्यानो अभियानले वास्तविक पीडितलाई झन चिसो बनाएको स्थानीय बलराम बलामीको आरोप छ । “हामी जस्ताको टहरामा सुत्नेहरुको घर आंशिकमा राखिएको छ तर ढलान गरिएको घरहरु पूर्ण क्षतिमा छन, कि फेरि तथ्यांक संकलन गर्नु पर्याे कि त कागज मात्रै होईन व्यवहारिकता पनि हेरेर राहत बाँड्न पर्याे ।” बलामीले भने । व्यवहारिकता ख्यालै नगरी मनलाग्दो ढंगले राहत वितरण गरेको भन्दै वडा संयोजक कल्पना बलामीले पनि असन्तुष्टी जनाएकी छन् ।
“तथ्यांकमा धेरै गल्ती छ, केही दिन व्यवहारिकता वुझेर वितरण गरौं भन्दा भन्दै मलाई जानकारी नै नदिई जथाभावी पैसा बाड्यो ।” उनले भनिन् । गलत तथ्यांक अनुसार राहत बाडिएकाले पनि पंहुचवालाहरुको हालीमुहाली बढेको उनको आरोप छ । वडा कार्यालयले भने पूर्ण क्षति भएको कागजात हेरेर मात्रै रकम वितरण गरेको दावी गरेको छ ।
यो ठाउँमा भूकम्पपीडितको तथ्यांक संकलनमा व्यापक त्रुती भए पनि स्थानीय प्रशासनले पुनः तथ्यांक संकलन गर्न चासो नदिएकाले पनि समस्या बढेको स्थानीय बुद्धिजिवीहरुको भनाई छ । बज्रवाराहीका ५ वटा वडाका करिव ३ सय जना भन्दा बढीले तथ्यांक सच्याउनका लागि भन्दै निवेदन दर्ता गराए पनि अझै पुनः तथ्यांक संकलन हुन सकेको छैन । बज्रवाराही अन्तर्गत कुन्छाल, लिलाखेल, टसर लगायतका ठाउँहरु भूकम्पबाट बढी प्रभावित क्षेत्र हुन् ।
सरकारले यस अघि पठाएको १५ हजार रुपैंया पनि यहाँ अझै वितरण गरिएको छैन । वडा कार्यालयले करिव ६ महिना अघि स्थानीयस्तरबाट उठाइएको करिव दुई लाख रुपैंया पनि अझै वितरण गरिएको छैन । थाहा नगरपालिकाको तथ्यांक अनुसार यस वडामा मात्रै १९६ घर पूर्णक्षति र ८५ घर आंशिक क्षतिमा सुचिकृत छन् ।
तस्बिरः फेसन फोटो स्टुडियो, बज्रबाराही

0 comments

Write Down Your Responses