Powered by Blogger.
थाहाभरी शिवरात्री धुनी जगाएर मनाइँदै


पालुङ, २४ फागुन । महाशिवरात्री पर्व हिन्दू धर्मालम्बीहरुले भब्य रुपमा मनाउँदैछन् । थाहा नगरपालिका ७ मा रहेको गोरखनाथ मन्दिर, पाण्डुकेश्व र ऋषेश्वर मन्दिर, गोरखनाथ मन्दिर र अर्चना वावा धाम लगायत आसपासका ठाँउहरुमा शिवरात्रिको अवसर पारि शिव धुनी जगाउने कार्यक्रम सुरु भएको छ  । 

महाशिवरात्री पर्वको सन्दर्भमा हिन्दू धर्मालम्बीहरुले पालुङ स्थित गोरखनाथ मन्दिरमा बिहानै स्थानीयको सकृयतामा मन्दिर  परिषरमा सरसफाइ तथा रङरोगन गरि चिटिक्क पारिएको थियो ।  शिव भगवानको आराधानको लागि भक्तजनहरुको उल्लेखनीय उपस्थित रहेको छ । गोरखनाथ मन्दिर व्यवस्थापन समितिको सदस्यहरुले दाउरा व्यवस्थापन गरि शिव धुनी लगाउदै गरेको समितिले जनाएको छ  । 

मकवानपुर गोरखनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनश्याम बस्नेत समेतको सहभागितामा शिव धुनी जगाउने कार्यक्रम जारि रहेकोे वस्नेतले जानकारी दिनु भयो । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज थाहानगरको विभिन्न ठाउँहरुको शिवालयमा देवादिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइयो । 

थाहा नगरपालिकाको बिभिन्न स्थानमा  आवश्यक मात्रामा प्रहरी खटाएको इलाका प्र्रहरी कार्यलय पालुङका प्रमुख विरेन्द्र पनेरुले जानकारी दिनु भयो । ‘यो पर्व मनाउनको लागि हामी छेक्दैनौ तर धर्मलाई लिएर होहल्ला तथा झैझगडा गरेको खण्डमा कसैलाई छोड्न मिल्दैन ’ उनले भने ।

प्रहरीले सामाजिक सद्भाव खल्बलीने कार्य नगर्न आग्रह समेत गरेको छ । हाल सम्म कुनै पनि त्यस्ता गतिविधि नभएको र शान्त तरिकाले  शिवरात्री मनाइरहेको पनेरुले बताउनु भयो ।त्यस्तै उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नंं १ स्थित झम्केश्वर महादेव मन्दिरको शीवरात्रीको अवसरमा भव्य पूजा आजासहित उद्घाटन गरिएको छ । अर्चनाबाबाबाट विधिवत रुपमा उद्घाटन गरिएको झम्केश्वर महादेव मन्दिर सोमबारबाटै सर्वसाधारणका लागि खुल्ला गरिएको छ । 

परापूर्वकालमा पार्वतीले शीवलाई पति वरण गर्न पाउँ भनि व्रत लिएको र सोहि भूमिमा शीव पार्वतीको विवाह भएको धार्मिक विश्वास रहेको छ ।  अर्चनाबाबाधामको अगुवाईमा सो मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण अघि सो स्थानमा शिवलिङ्ग मात्र भएको र अर्चना बाबाधाम झम्केश्वरीमा स्थापना भएपछि अर्चना बाबाबाट शिव पार्वतीको शक्ति भएको स्थान झम्केश्वर शिव लिङ्ग भएकोले मन्दिर बनाउन आग्रह गरेपछि २०६९ सालमा मन्दिर निर्माणको थालनी गरिएको निर्माण समितिका अध्यक्ष वालकृष्ण लामिछानेले बताउनुभयो । 

मेचीदेखि महाकालीबाट समेत पाँच दश रुपियाँ संकलन गरेर मन्दिर निर्माण सम्पन भएको सचिव घनश्याम अमात्यले जानकारी दिनुभएको छ । झम्केश्वरी माविको दक्षिण भागमा अवस्थित मन्दिर निर्माण कार्यका लागि १५ लाख रुपियाँ खर्च भएको कोषाध्यक्ष धर्मबहादुर तामाङले बताउनुभयो । 

सुरुमा थोरै भक्तजनहरुको मात्र उपस्थित देखिने झम्केश्वरमा शीव लिङ्ग सहीत मन्दिर निर्माण भएपछि हजारौ भक्तजनहरुको घुइँचो लागेको स्थानीय रामबहादुर प्रधानको अनुभव छ  । निर्माण समितिका अध्यक्ष वालकृष्ण लामिछानेको सभाध्यक्षतामा भएको उद्घाटनमा ओम बाबाले मन्दिरको महत्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रमको अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपियाँ भन्दा बढी सहयोगी दाता तथा जिन्सीदाताहरुलाई सम्मान पत्र तथा खादाद्वारा सम्मान गरिएको थियो । 

शान्त तथा मनोरम स्थानमा निर्मित मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएपछि धार्मिक पर्यटनमा समेत वृद्धि हुने विश्वास लिइएको छ । झम्केश्वर मन्दिरको दर्शन पश्चात मनले चिताएको कुरा पूरा हुने धर्मिक विश्वास रहदै आएको छ ।



0 comments

Write Down Your Responses