Powered by Blogger.
टिष्टुङ पालुङमा तरकारी बिचौलियाको बिगबिगी र किसानको मर्म

रामजी बलामी
तरकारीको पकेट क्षेत्र मानिने टिष्टुङ–पालुङमा तरकारीको भाउ र राजधानी काठमाडौंका उपभोक्ताले किन्ने तरकारीको भाउ आकाश–जमिनको फरक छ । कुनै पनि तरकारीको भाउ त्यहाँ ५ रुपैयाँ प्रतिकिलो हुँदा राजधानीका उपभोक्ताले कम्तीमा ४५ देखि ५० रुपैयाँ प्रतिकेजी तिर्नुपर्छ ।

त्यहाँ कृषकले बेच्ने भाउ र कालीमाटीको थोक मूल्यबीच नै औसत प्रतिकेजी ३० देखि ५५ रुपैयाँसम्म फरक पर्छ । त्यहाँ अहिले काँक्रोको प्रतिकेजी मूल्य ३० रुपैयाँ छ, तर राजधानीको काँक्रोको खुद्रा प्रतिकेजी औसत १ सय रुपैया पर्छ ।

राजधानीबाट करिब ४ घण्टाको दूरीमा रहेका कृषक र उपभोक्ताबीचको मूल्यबीच नै यति धेरै अन्तर छ भन्दा पत्याउनै मुस्किल लाग्छ । यसको मुख्य कारक हो बिचौलिया । बिनालगानी पर्याप्त आम्दानी गर्न पल्केका ठेकेदारहरू काँटा टाँगेको भरमा एक सिजनमा लाखौं कमाउँछन् ।

तिनीहरू तरकारी लिन किसानको खेतबारीसम्म पुगेर हानाथाप गर्छन् । एकै जनाले तीन–चार ठाउँमा किसान ढुकेर तरकारी हारालुछ गर्छन् । सबै ठिकेदार मिलेर एउटै भाउमा तरकारी खरिद गर्छन् र सामूहिक लुट मच्चाउँछन् । यो वर्षांैदेखि चलिरहेको छ र अझै कैयांै वर्ष चल्नेछ सायद । 

यसले गर्दा कृषकहरू चरम मारमा परिरहेका छन् । उनीहरू आफ्नो उत्पादनको मूल्य एकदमै न्यून पाइरहेको अवस्था छ । ठेट भाषामा भन्नुपर्दा तरकारी बिचौलियाहरू मिलेर किसान र उपभोक्ता दुवैलाई ठग्ने काम भइरहेको छ, जसले प्रत्यक्ष रूपमा किसान ठगिएको जस्तो लागे पनि अप्रत्यक्ष रूपमा उपभोक्ताहरूसमेत नराम्ररी ठगिइरहेका छन् ।

हामीले दैनिक रूपमा सबैभन्दा बढी प्रयोग गर्ने वस्तु हो तरकारी । हरेकको भान्छामा हरेक दिन एक छाकमा कम्तीमा पनि दुई थरी तरकारी पाक्छ । त्यसो त घरायसी खर्चमा सबैभन्दा बढी खर्च तरकारीमा हुन्छ । त्यसैले पनि तरकारी महँगो हुँदा हाम्रो दैनिक खर्चमा ह्वात्तै वृद्धि हुन्छ । यसमा दाल, चामल, गेडागुडी, तेल, मसलालगायतको अचाक्ली मूल्यवृद्धि त यथावत् नै छ ।

गत वर्षको तुलनामा यो वर्ष तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा थोक बजार समितिले जनाएको छ । थोक व्यापारमै अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ता मूल्य निकै महँगिएको छ । बाहिरबाट ल्याइने तरकारी मात्रै होइन, सिजनका तरकारीहरूको मूल्यसमेत निकै बढेको पाइएको छ ।

आलुको मूल्यवृद्धि गत वर्षको तुलनामा ६० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यो साउनमा ३० देखि ४० रुपैयाँ पथ्र्याे, तर यो वर्ष औसत ५५ देखि ६० रुपैयाँ प्रतिकिलो पर्छ । त्यस्तै अत्यधिक प्रयोग गरिने गोलभेंडाको मूल्य पनि गत वर्षको तुलनामा प्रतिकिलो १० रुपैयाँ महँगो छ ।

भटमासको कोसामा ९० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । गत वर्षको साउनमा औसत ६५ रुपैयाँ पर्ने कोसाको यो वर्ष अहिले १ सय ३० रुपैयाँ प्रतिकिलो पर्छ । त्यस्तै विशेष गरी सलादका रूपमा प्रयोग गरिने गाँजरको मूल्य पनि प्रतिकिलो ३० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

त्यसैगरी लौका, घिरौंला र तितेकरेलामा औसत २२ प्रतिशतले महँगिएको जनाएको छ, जसको अहिले थोक मूल्य ६० रुपैयाँ प्रतिकिलो छ । त्यस्तै मसलाका रूपमा हरेकले प्रयोग गर्ने लसुन र प्याजको भाउ त झन् निकै महँगिएको छ । नेपाली लसुनको मूल्य गत वर्षको तुलनामा औसत ९० रुपैयाँ महँगिएको छ ।

त्यस्तै सुकेको लसुन र चाइनिज लसुनको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ । गत वर्ष वर्षको तुलनामा हरियो प्याजको मूल्य झन्डै ६० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।

कुनै पनि वस्तुको मूल्य घटबढ हुनुमा माग र आपूर्तिमा निर्भर रहन्छ । तर, नेपाली बजारमा यो नियम विरलै लागू हुने गरेको छ । तरकारी सम्बन्धमा उपभोक्ताको माग र किसानको उत्पादनसँग भन्दा पनि किसाननजिकका बिचौलिया र तरकारी बजारका ठेकेदारहरूमा निर्भर रहँदै आएको छ । कुनै निश्चित मापन र आधारभन्दा पनि करिब–करिब हचुवाकै भरमा मूल्य निर्धारण हुँदै आएको छ । नजिकै रहेको कालीमाटी र बल्खु तरकारी बजारको तरकारीको मूल्यबीचको ठूलो फरकले पनि यो कुरा प्रस्ट हुन्छ ।

तरकारीको कारोबारमा मूल्य जति वृद्धि भयो खुद्रा व्यापारीलाई त्यति नै बढी नाफा हुन्छ । तर, त्यसको प्रत्यक्ष मार भने उत्पादक किसान र उपभोक्ता दुवैलाई पर्न जान्छ । अर्का्तिर मूल्यवृद्धि हुनु भनेको बिचौलिया नाफा रकम वृद्धि हुनु हो ।

ढुवानी, गोदाम, खाना, नास्ता कटाएर पनि बिचौलियाले प्रतिकिलो न्यूनतम ३० देखि ४० रुपैयाँ नाफा कमाउँछन् । यो चानचुने रकम होइन । उनीहरूले एक सिजन (असारदेखि भदौसम्म) काम गर्दा मनग्य आम्दानी गर्छन् । यो उनीहरूको परिश्रमको मूल्यभन्दा पनि किसान र उपभोक्ताहरूलाई ठगिएको रकम हो । गत वर्षको तुलनामा यो वर्ष तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा थोक बजार समितिले जनाएको छ । थोक व्यापारमै अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ता मूल्य निकै महँगिएको छ ।

अहिले कालीमाटी तथा बल्खु तरकारी बजारमा टिष्टुङ–पालुङका अतिरिक्त काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोटलगायतका जिल्लाहरूबाट तरकारी तथा फलपूmल भित्रिने गर्छ । जुन तरकारी काठमाडौंका साथै ललितपुर र भक्तपुरसम्मका उपभोक्ताहरूको भान्छामा पुग्छ ।

झट्ट हेर्दा खासै केही होइन जस्तो लागे पनि बिचौलिया समस्याले मुलुकको अर्थतन्त्र र समग्र कृषिक्षेत्रको विकासलाई नै प्रभाव पारिरहेको छ । उत्पादकले आफ्नो श्रम र लगानीअनुरूप मूल्य नपाएपछि उत्पादन नै छाडेर अन्यत्र पलायन हुनु बजारशास्त्रको नियम नै हो ।

नेपाली कृषि क्षेत्रमा पनि यसको प्रत्यक्ष असर देखिन थालेका छन् । बिचौलियाहरूको मिलोमतोमा कृषकहरू चरम मारमा छन । करिब ६८ प्रतिशत नेपाली कृषि पेसामा आबद्ध रहेको तथ्यांकले देखाएको छ ।

उनीहरूले आफूले लगानी गरेअनुसारको मूल्य पाइरहेका छैनन् । जसले गर्दा पछिल्लो समय कृषि पेसा त्यागेर अन्य पेसा अँगाल्नेहरूको जमात बाक्लो छ । मूल्य नपाएकै कारण खेतीयोग्य जमिन बाँझो भएका छन् ।

कृषि उत्पादन घट्दा मुलुकले बर्से्नि बढ्दो मात्रामा कृषिउपजहरू आयात गर्नुपरिरहेको छ । केही वर्षमा यो अवस्था अझ भयावह हुने संकेत देखिएको छ ।एकातिर बिचौलियाको ठगी र अर्का्तिर कृषि पूर्वाधारहरूको अभावमा बर्से्नि खर्बाैं रुपैयाँको कृषिजन्य उत्पादनहरू आयात गर्नुपरिरहेको छ । गत आर्थिक वर्षमा मात्र करिब डेढ खर्ब रुपैयाँबराबरको कृषिजन्य उत्पादनहरू आयात गरिएको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १ खर्ब ५० अर्ब २३ करोड रुपैयाँको कृषिजन्य उत्पादन आयात भएको छ ।

अतः पछिल्लो समय विदेशबाट फर्किएका युवाहरूले कृषिक्षेत्रमा गरिरहेको लगानीलाई स्वागत गर्नैपर्छ, जसले रेमिट्यान्सको सदुपयोग त गरेको छ नै, साथसाथै समग्र कृषिक्षेत्रको विकासका लागि समेत मार्गदर्शन प्रदान गरेको छ ।

कृषिक्षेत्रको विकास र कृषकहरूलाई प्रेरणा दिलाउने हो भने बिचौलियाहरूको मनोमानी नियन्त्रण गर्न जरुरी छ । यसका लागि स्वयं कृषकहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ ।


0 comments

Write Down Your Responses