Powered by Blogger.
वर्गीय हक अधिकारका क्षेत्रमा जिफन्टको उपस्थिति पुगेनः ललित बस्नेत


निरंकुश पञ्चायती शासन कालमा २०४६ साउन ५ अर्थात् जुलाई २०, १९८९ मा भूमिगत रूपमा नेपाल ट्रेड युनियन महासंघको स्थापना भएको हो । यो महासंघ ट्रेड युनियन ऐन­२०४९ जारी भए पछि मान्यता प्राप्त नेपालको पहिलो ट्रेड युनियन महासंघ हो । 

जम्मा ७ जनाबाट जिफन्टको सुरुवात गरिएको थियो । श्रमिकका पक्षमा आवाज उठाएर उनीहरुलाई अधिकार दिलाईनुपर्छ भन्ने उद्घोषका साथ महासंघलाई हाँक्ने संस्थापक अध्यक्ष ललितकुमार बस्नेत हुन् । हाल बस्नेत मकवानपुर, हेटौंडा–४ मा बस्दै आएका छन् । 

बस्नेत जिफन्ट प्रतिनिधि परिषद्का उपप्रमुख हुन् । आफुले स्थापना गरी विकास गरेको संगठन सर्वहारा श्रमजिवीहरुको भावनाअनुरुप चल्न नसकेको भन्दै उनी जिफन्ट प्रति नै असन्तुष्ट देखिन्छन् । 

अप्ठ्यारो काल पार गरेर आईयो २०३६ साल बाट मैले ट्रेड युनियन आन्दोलन सुरुवात गरें । त्यसपछि एमालेको संगठित सदस्य लिएर म अगाडि बढेको हुँ । पंचायती काल (व्यवस्था), त्यो त अप्ठ्यारो काल थियो । 

त्यति मात्रै होईन म नेस्वहोमयू संस्थाको प्रतिनिधि र संस्थापक अध्यक्ष नै भएर काम गरें । भूमिगतरुपमा काम गर्न साह्रै कठिन थियो । भूमिगतरुपमा रहँदा नेस्वहोमयू तयारी समितिका अध्यक्ष कमलबहादुर लामा थिए । पछि किर्तिपुरमा भएको बैधानिक भेलाले म अध्यक्ष भएको हुँ । 

सुरुमा रिक्सा चलाउनेदेखि सबै खालका मजदुरहरुलाई नेस्वहोमयूले समेट्थ्यो । श्रमिकहरुलाई देशव्यापी रुपमा संगठित र संगठनलाई देशव्यपीरुपमा विकास एवं विस्तार गर्दै गए पछि क्षेत्रगत रुपमा यातायात, ट्रेकिङ, ट्राभल, होटल, औद्योगिक लगायतलाई छुट्टा छुट्टै गठन गरिएको हो । नेस्वहोमयू सहित ४ वटा संगठनलाई राखेर हामीले २०४६ साल साउन ५ गते महासंघ बनाएका हौं । म त्यसको संयोजक÷संस्थापक अध्यक्ष हुँ । 

दिनमा कारखानाको काम रातमा संगठन विस्तार त्यतिबेला मजदुर आन्दोलनमा लाग्दा अमेरिकाको आन्दोलनहरु, अन्य विविध आन्दोलनहरु र विश्व मजदुर संगठनको इतिहासलाई बोकेर हामी हिँडेका थियौं । त्यतिबेला सर्वत्र सर्वहारा श्रमजिवी वर्गको प्रतिनिधित्व हुन्छ भन्ने ढंगको कुरा थियो । 

त्यै हिसाबले हामीले राजनीतिक रुपमा अर्ध–भूमिगत भएर संगठनका गतिबिधि गर्ने, औद्योगिक क्षेत्रका मजदुरलाई समेट्ने कुरा गर्दै पेशागत रुपमा उनीहरुको अधिकारको कुरा अगाडि बढायौं । त्यसलाई समर्थन दिलाउन भूमिगतरुपमा वरीपरिका गाउँ बस्तीलाई समेट्ने निर्णय गरेर अगाडि बढ्यौं ।

 दिउँसो कारखानामा काम गर्ने रातमा गाउँ क्षेत्रका मजदुरलाई उनीहरुकै गाउँ क्षेत्र र बस्तीमा पुगेर सचेत गराउने काम गर्यौं । राति–राति नै उनीहरुलाई सम्झाएर÷बुझाएर संगठनको सदस्यता प्रदान गर्ने र सबै जनतालाई मजदुर आन्दोलनको समर्थनमा ल्याउने काम गरियो । औद्योगिक मजदुर आन्दोलनमा जाँदा दमन नहोस् र यदि प्रशासनले दमन गरिहाल्यो भनेपनि लुक्ने ठाउँ होस् भन्ने जस्ता विषयहरु उठान गरेर त्यो ढंगको पृष्ठभूमिबाट हामीले संगठनलाई विस्तार गरेको हो । र संगठन आज यो स्थानमा आईपुगेको हो । जिफन्ट प्रति म सन्तुष्ट छैन । किनभन्दा त्यो बेला अग्रगतिमा÷अग्रमोर्चामा सर्वहारा श्रमजिवी वर्गको जुन खालको उत्थान हुन्छ भन्ने जे परिकल्पना थियो । जुन भावनामा हामी हिंड्यौं त्यो भावना अनुरुप र त्यो ढंगले संगठन हिंड्न सकेको छैन । त्यसैले संगठन प्रति म सन्तुष्ट छैन । 

स्वास्थ्य खराब छ तापनि स्थानीय समाज सेवा गर्छु ।  म राजनीतिकरुपमा भन्ने हो भने नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषद्को सदस्य छु । महासंघको जिफन्टको राष्ट्रिय प्रतिनिधि परिषद्को उपप्रमुख छु । गभर्नर काउन्सिल (थिङ्क ट्याँङक भन्ने गरिन्छ) त्यसको सदस्य छु । 

अहिले भने स्थानीयस्तरमा जे काम पर्छ त्यसलाई सघाउने, परामर्श गर्ने, जाने बुझेका राय सुझाबहरु प्रदान गर्ने समाजसेवामा लागिरहेको छु । अलिअलि स्वास्थ्य पनि खराब छ, त्यसो भएको हुनाले स्वास्थ्यलाई पनि ख्याल गर्दै स्थानीयको सेवामा आफुले गर्न सक्ने कामहरु गरिरहेकै छु । त्यसैमा रमाईरहेको छु । राजनीतिलाई सुधार्नै पर्छ जो सरकारमा आएपनि महँगी, कालोबजारी नियन्त्रण लगायत विषयमा ध्यान दिएको देखिन्न । 

समय समयमा देखिने गरेका इन्धन समस्याको दिर्घकालिन समाधान तिर विशेष ध्यान दिनुपर्नेछ । केपी ओली नेतृत्वको सरकारले जुन लोकप्रिय कार्यक्रम ल्याएको थियो । त्यो कार्यान्वयनमा जाला नजाला ! तर राजनीति गर्ने सबैले आ–आफ्नो स्थानबाट आफुलाई सुधार गर्नुपर्ने छ । केवल पद र प्रतिष्ठामा ध्यान हिजो माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद भनेर हिँड्यौं । त्यो वास्तविक भावनाबाट हिँडियो । अहिले केवल पद र प्रतिष्ठामा मात्र बढ्ता ध्यान दिएको देख्छु । 

मुलुक, जनता र श्रर्वहारा श्रमजिवीको जुन भावना छ, त्यतातर्फ ध्यान पुग्न नसकिरहेको देख्छु । जिफन्टकै नीति अनुरुप देश सोचेजस्तो त भएको छैन, तापनि मजदुर संगठनहरुमा हेर्ने हो भने आजसम्म पनि जिफन्टकै नीति अनुरुप विभिन्न मजदुर संगठन र देश चलिरहेको छ । अरुको त तुलना गर्नु पर्दैन । हामीले पंचायती कालरात्रीमा २०३६ सालमा संगठन स्थापना गरेको हो । २०३७ सालमा ट्रेड युनियन कांग्रेस बनेको हो । त्यसअघि मनमोहनले अखिल नेपाल ट्रेड युनियन बिराटनगरबाट खोलेका थिए । त्यो बिचमा छरिएर पृथकपृथक रह्यो ।

 त्यसले राष्ट्रिय रुप लिन सकिरहेको थिएन । हामीले २०३६ साल बाट देशव्यापी रुपमा त्यसलाई नेटवर्कमा नेस्वहोमयू मार्फत संहाल्यौं । त्यसको माउ संगठनको रुपमा जिफन्टले २०४६ सालबाट सम्हाल्यो । त्यसको अनुयायीको रुपमा नेतृत्व हामीले लियौं र संगठनलाई देशव्यापी बनायौं । जिफन्टले सुधार गर्नु पर्ने पाटो मैले लेखेर पनि दिएको छु । जिफन्टले मजदुरका हक अधिकारका बारेमा धेरै सुधार गर्नुपर्ने खाँचो छ । हिजो हामीले जुन नीति लिएका थियौं त्यहि अनुरुप हिड्नुपर्ने हो, त्यो काम बाँकी नै छ । 

आज जिफन्टकै नीतिका कारण देशको मजदुर अन्दोलन एकिकृत बन्दै ट्रेड युनियहरुको समन्वय केन्द्र बनेको छ । त्यसमा अलि अलि खुसी देखिए पनि वर्गीय हक अधिकारका क्षेत्रमा जुन उपस्थिति हुनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । वर्गीय क्षेत्रमा जसरी पुग्नुपर्ने हो त्यसमा कमजोरी छ । मजदुरहरु विभाजित छन् । त्यसलाई गतिलो ढंगले एकिकृत गर्नुपर्न खाँचो छ । 

(नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)का संस्थापक अध्यक्ष बस्नेतसँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित) 



0 comments

Write Down Your Responses

pfizer vaccine