Powered by Blogger.
बहुमुखी क्याम्पसमा दुई वडाका विद्यार्थीलाई प्रथम वर्षमा निःशुल्क शिक्षा

मकवानपुर, १५ पुस । मकवानपुरको हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १३ मा सञ्चालित  पदमपोखरी बहुमुखी क्याम्पसमा वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था मिलाइएको छ ।

क्याम्पसमा विद्यार्थीको अभाव भएपछि क्याम्पस व्यवस्थापन समिति र स्थानीय बुद्धिजीवीहरु चिन्तित बनेको अवस्थामा वडा नम्बर १३ वडाअध्यक्ष मनोज वाईबा, वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानसहितको बुद्धिजीवीहरुको पहलमा क्याम्पसलाई सूचारु गर्ने उदेश्य सहित केही विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था मिलाइएको हो ।

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा हाल स्नातक प्रथम वर्षमा विद्यार्थीहरु बढ्दो क्रममा छन् तर दोस्रो वर्षमा १० र चौथो वर्षमा ११ जना मात्र विद्यार्थी अध्ययनरत छन् । तेस्रो वर्षमा भने ३ जना मात्र विद्यार्थी भएपछि उनीहरुलाई मकवानपुर बहुमुखी क्याम्पसमा स्थानान्तरण गरिएको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी  दिए । व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् ।

उनीहरुले विभिन्न चरणको छलफलपश्चात क्याम्पसका ठोस योजनाहरु समेत तयार पारी त्यस क्षेत्रका विद्यालयसँग समन्वय सहित अगाडि बढ्ने योजना बनाएका छन् ।

यसैक्रममा शनिबार स्थानीय सरोकारवालासहितको टोलीसँग क्याम्पस व्यवस्थापन समितिले छलफल गरेको छ । छलफलमा पदमपोखरीमा धेरै विद्यार्थी भएता पनि स्थानीय क्याम्पसमा भन्दा हेटौँडा बजार क्षेत्रमा रहेका क्याम्पसमा विद्यार्थी आकर्षित भएको निश्कर्ष निश्किएको छ । बजार क्षेत्रमै साथीहरुको लहैलहैमा लागेर, स्वतन्त्रताका लागि, विद्यालय र क्याम्पस परिवर्तनका लागि तथा रोजगारका लागि भन्दै विद्यार्थीहरु वडाबाट बाहिर गइरहेको तथ्य विभिन्न वक्ताहरुले उजागर गरेका थिए ।

हाल ५ जना शिक्षकहरुले कुनै सेवा सुविधा बिना नै पदमपोखरी क्याम्पसलाई धानीरहेका छन् । वक्ताहरुले क्याम्पसको भवन निर्माणका साथै स्तरीकरणको लागि समेत चासो दिएका थिए । साथै तत्काल शिक्षकहरुलाई पारिश्रमिक दिनका लागि आर्थिक राहत संकलन अभियान पनि संचालन गर्ने निर्णय गरिएको छ ।

छलफलमा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रोक्काले बिना पारिश्रमिक क्याम्पस जोगाउनैका लागि शिक्षकहरु लागिपरिरहँदा एकप्रकारको नैराश्यता समेत देखिएको  बताए । स्थानीय तहको चुनावमा उम्मेदवार समेत रहेका रामचन्द्र स्याङ्बोले क्याम्पसमा कम्तिमा ५०–५० जना विद्यार्थी ल्याउने प्रतिबद्धत्ता सहित लागेमा कार्य सफल हुने विचार प्रश्तुत गरे । कार्यक्रममा महिला मिलन वचत तथा ऋण सहकारी संस्थाकी संगिता वाईबाले क्याम्पसका लागि तत्कालका लागि २० हजार रुपैयाँ सहयोग गर्ने समेत प्रतिबद्धत्ता जनाएकी छिन् ।

कार्यक्रममा सहभागी वडा अध्यक्ष, पूर्व शिक्षक, क्याम्पस व्यवस्थापन समिति सदस्य तथा शिक्षकहरुले अल्पकालिन भन्दा पनि दिर्घकालिन योजनाका साथ अगाडि बढ्न सुझाव दिएका छन् । क्याम्पसमा शिक्षा संकाय थप गर्ने, प्राविधिक शिक्षामा जोड दिने लगायतका सुझावहरु समेत दिइएको थियो ।

((

0 comments

Write Down Your Responses