Powered by Blogger.
पदमपोखरी महायज्ञमा भक्तजनको भिड, सांसद बानियाँद्वारा सहयोग

मकवानपुर, २८ चैत ।  मकवानपुरको हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति चैत २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज पनि जारी छ । आज साँझ लाखबात्ती बालेर जागाराम बस्ने कार्यक्रम सहित भोलि औपचारिक रुपमा सप्ताहको समापन गरिने भएको छ । महायज्ञमा आज सबैभन्दा बढी श्रद्धालु भक्तजनहरुको भिड लागेको छ ।

क्याम्पस हाताभित्र जारी महायज्ञमा आज मकवानपुरका विभिन्न क्षेत्रहरुबाट श्रद्धालु भक्तजनहरु उपस्थित भएको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । आज दिउँसो प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गरेका छन् । यसैबिच आज नै प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सप्ताहको अवलोकन गर्दै आर्थिक सहयोग पनि गरेका छन् । उनले आज रु. २५ हजार सहयोग गरेको महायज्ञ मुल समारोह समितिले जनाएको छ । महायज्ञमा अहिलेसम्म करिब ३० लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

भोलि दिउँसो साढे १२ बजे सप्ताहको औपचारिक समापन गरिने भएको छ । प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता बानियाँ समापन कार्यक्रमको प्रमुख अतिथि रहने भएका छन् । भागवत वाचन भने आजबाट सकिनेछ ।

क्याम्पसको स्तर उन्नत्तिको लागि सप्ताह लगाइएकोले सहयोगी दाताहरुलाई यथासक्दो सहयोग गरिदिन समेत क्याम्पस प्रमुख लटौलाले आग्रह गरेकी छिन् । साथै वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबाले समेत सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

महायज्ञमा चैत २२ गतेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण भइरहेको क्याम्पस प्रमुख लटौलाले जानकारी दिईन् । सप्ताहमा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरिरहेका छन् । त्यस्तै दिउँसो १ बजेबाट प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले बौद्ध ज्ञान वाचन गर्दै आएको ज्ञान महायज्ञ मुल समारोह समितिले जनाएको छ । महायज्ञ अन्तर्गत प्रत्येक दिन बिहान ११  बजेदेखि ५ बजेसम्म भागवत कथा प्रवचन, संगीतमय भजन किर्तन र भगवानको झाँकी लिला प्रस्तुत भइरहेको छ । साथै प्रत्येक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म महात्मीय कथा, भजन किर्तन झाँकी लिला प्रस्तुत गरिँदै आएको छ ।

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् ।

0 comments

Write Down Your Responses