Powered by Blogger.
कैलाश ५ गोगनेका अति विपन्न घरधुरीलाई आयआर्जन वृद्धि गराउन ४० हजार सहयोग


कैलाश गाउँपालिका  (गोगने ) — कैलाश गाउँपालिका ५ की ७५ वर्षीया चीनमाया गुरुङले बाख्राको खोर बनाइसकेकी छन् । बाख्रा नभएकाले उनको खोर खाली थियो । बाख्रापालनका लागि मकवानपुर रेडक्रसले गुरुङलाई २५ हजार रुपैयाँ बिहीबार घरदैलामा उपलब्ध गराएको छ । उक्त रकमले ५ वटा उन्नत जातको बाख्रा किनेर ल्याएर पाल्ने उनको सुर छ । 

बाख्राको खोर वनाउन पनि मकवानपुर रेडक्रसले नै २ महिना अघि १५ हजार रुपैयाँ सहयोग गरेको थियो । गुरुङलाई मात्र होइन उक्त गाउँको शरण परियारलाई मकवानपुर रेडक्रसले खोर बनाउन १५ हजार र बाख्रा खरिद गरेर पाल्न २५ हजार गरी ४० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
गुरुङ र परियारलाई मात्र होइन स्पेनिस रेडक्रसको सहयोगमा मकवानपुर रेडक्रसले कैलाश गाउँपालिकाअन्तर्गतको साविकको गोगने गाविसका अति विपन्न १ सय १५ घरधुरीलाई आयआर्जन वृद्धि गराउने उद्देश्यले जीविकोपार्जन कार्यक्रमअन्तर्गत प्रतिपरिवार ४० हजार रुपैयाँ उपलब्ध गराएको गराएको समाचार  कान्तिपुर दैनिकमा छ ।

स्पेनिस रेडक्रसको सहयोगमा मकवानपुरको रेडक्रसले जीविकोपार्जन कार्यक्रमअन्तर्गत कैलाश गाउँपालिकाको साविकको डाँडाखर्क गाविसका १ सय ४१, कैलाश गाउँपालिकाका २ सय १४, राक्सिराङ गाउँपालिकाअन्तर्गत खैराङका १ सय ५६ र थाहा नपाका १ सय ७९ अति विपन्न परिवारलाई आयआर्जन वृद्धि गराउने उद्देश्यले प्रतिपरिवार ४० हजार रुपैयाँ उपलब्ध गराएको रेडक्रस मकवानपुरका महामन्त्री लालबहादु्र थापाले बताए । 

रेडक्रसका स्वयम्सेवक घर/घरमा पुगेर आर्थिक अवस्थाको तथ्यांक संकलन गरी लाभग्राहीलाई सहयोग गरिएको उनले जनाए । रेडक्रसबाट जीविकोपार्जन कार्यक्रमअन्तर्गत सहयोग प्राप्त गरेकाहरूले तरकारी खेती, नगदेबाली, बाख्रापालन र कुखुरापालनमध्ये एउटा व्यवसाय गर्नेछन् ।

रेडक्रस मकवानपुरले जीविकोपार्जन कार्यक्रमअन्तर्गत गोगने, डाँडाखर्क, खैराङ, नामटार र थाहा नगरपालिकासमेतका ८ सय ५ घरधुरीका प्रतिवारलाई ४० हजार रुपैयाँका दरले ३ करोड २२ लाख रुपैयाँ रकम उपलब्ध गराइसकेको भूकम्प प्रतिकार्य कार्यक्रम मकवानपुर संयोजक महेश न्यौपानेले बताए । उक्त रकम बैंकका कर्मचारी गाउँगाउँमा पुगेर रकम उपलब्ध गराएका छन । जीविकोपार्जनअन्तर्गत ४० हजार रकम प्राप्त गर्ने अधिकांश भूकम्पपीडित रहेका छन् । 

भवन पुर्ननिर्माण
मकवानपुर रेडक्रसले मकवानपुरको कैलाश गाउँपालिकाअन्तर्गतको साविकको गोगने गाविसका भूकम्पीपीडितहरूलाई अनुदान उपलब्ध गराएर ३ सय ६६ वटा आवासीय भवन निर्माण गरिसकेको छ । अमेरिकन रेडक्रसको सहयोगमा मकवानपुर रेडक्रसले गोगनेका भूकम्पपीडितहरूको भवन निर्माण गर्न सरकारीले दिने अनुदान रकम उपलब्ध गराएको थियो ।
सरकारी तथ्यांकअनुसार साविकको गोगने गाविसमा ६ सय ४६ लाभग्राही रहेका थिए । तीमध्ये रेडक्रस मकवानपुरले ६०३ लाभग्राहीसंँग अनुदान सम्झौता गरी त्यति नै संख्याको लाभग्राहीलाई ५० हजार रुपैयाँ पहिलो किस्ता उपलब्ध गराएको थियो । दोस्रो किस्ता ५ सय ३७ लाभग्राहीलाई एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । तेस्रो किस्ता ३ सय ५३ लाभग्राहीलाई एक लाख रुपैयाँ उपलब्ध गराएको कार्यक्रम संयोजक न्यौपानेले बताए ।

‘४३ जना लाभग्राही अनुदान सम्झौता गर्न आएका छैनन् भने ६६ लाभग्राही पहिलो किस्ताको रकम लिएर अहिलेसम्म दोस्रो किस्ताका लागि सम्झौता गर्न आएका छैनन्,’ रेडक्रस मकवानपुरका महामन्त्री थापाले भने, ‘पहिलो किस्ता लगेर दोस्रो किस्ताका लागि सम्झौता गर्न नआउनेहरूको सूची तयार बनाउँदै छौं ।’ रेडक्रसले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको डिजाइनमा भूकम्पप्रतिरोधी आवासीय भवन निर्माण गर्न लाभग्राहीहरूलाई सहयोग गरेको हो ।

0 comments

Write Down Your Responses