Powered by Blogger.
शिक्षा मन्त्रीलाई खुल्ला पत्र

बैकुण्ठ ढकाल 

माननीय मन्त्रीज्यू, शुभप्रभात । 

यी पत्रको हरफहरुका लागि किवोर्डमा औंलाहरु चलाइरहँदा मनमा अनेकाअनेक प्रश्नहरु खेलिरहेका छन । पेट खालि हुँदा पनि प्रश्नहरु यस्सरी भरिएका छन कि, के मात्रै सोधौं, के मात्र लेखौं भइरहेको छ ।

के मैले लेखेका प्रश्नहरु पढ्ने मन्त्रीज्यूलाई समय होला ? कथमकदाचित प्रश्नहरुमा नजर पुगे पनि त्यसको जवाफ होला ? प्रश्नहरुका शीर्ष प्रश्न शुरुमा यत्ति नै । यी पंक्तिलेख्नु पर्दा म एक सचेत नागरिकका हैसियतले निकै निराश छु ।

राज्य संयन्त्रप्रति, प्रवृत्ति प्रति, मैले चुनेका जनप्रतिनिधिप्रति, मेरा समाजका अभिभावकले चुनेको विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीप्रति, राज्यले चुनेका शिक्षकप्रति (सवै होइनन), विद्यालयका गतिबिधि (शिक्षकहरु)को पनि निगरानी गर्ने विद्यालय निरिक्षकप्रति । हो, म सवैप्रति निराश छु । किनकी यी सवै मिलेर एक नागरिकलाई चरम अन्याय गरेका छन ।

अन्यायमा प्रत्यक्ष अप्रत्य रुपमा मेरै समाजका अगुवाहरु संलग्न भएकाले सिङ्गो समाजले एक नागरिकमाथि अन्याय गरिरहेको छ । हुनु पर्ने काम नगरी दिएर, कानुनसम्मत काम नगरेर, नीथि थिति र योग्यताले दिँदादिँदै पनि खोचे थापेर । एक नागरिकको रोजगारीको हक खोस्न पूराका पूरा समाज, राज्यको संयन्त्र लाग्नु आफैंमा अचम्म छ ।

 राज्यको काम कसरी नागरिकलाई सक्षम बनाउने, कसरी रोजगारीको हकको ग्यारेन्टी हुनु पर्ने भन्नेमा कसरी हुन नदिने भन्नेमा बढ्ता समय खर्चनु निकै नै खेदजनक कार्य भएको छ ।

 काठमाण्डौं र हेटौंडाको बीचमा थाहानगर छ । नगरमा सवैकुरा छ । स्थानीय सरकार छ, सेवा दिनका लागि खुलेका सरकारी अड्डाहरु छन । अदालत छैन, त्यही भएर नगरभित्रै न्यायिक निकाय छ, नगरका उपप्रमुखको नेतृत्वमा । यी सवै हुँदा पनि किन नागरिककले न्याय पाउँदैनन । यसको एउटा प्रतिनिधि घटनाको नालीबेली यहाँ उल्लेख छ ।

 २०७४ साल चैत्र ६ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर २ स्थित मत्स्यनारायण माविमा प्राथमिक तृतीय श्रेणी करारमा शिक्षकका लागि परीक्षा सम्पन्न भयो । पूर्बअनुमानित अनुसार नै नतिजा सार्वजनिक भयो ।

मनोज कार्की सफल उम्मेदवार ठहरिए । कविता कडेल वैकल्पिक उम्मेदवार । बिद्यालयमै कार्यरत रहेका कार्की सफल उम्मेदवार ठहरिए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नवराज विष्टलाई जसरी पनि कार्कीलाई शिक्षक बनाउनु पर्ने थियो ।

 त्यसमा विद्यालयका प्रधानअध्यापक विष्णुहरि ढकाल, बिद्यालय निरिक्षक लक्ष्मण दाहाल, परीक्षा समितिमा बिषय बिशेषज्ञका रुपमा सहभागी राजेन्द्र थापा, नारायणबहादुर कार्कीले राम्रो साथ दिए । त्यही दिन साँझ कार्की परीक्षाको उम्मेदवार हुन अयोग्य भएको सूचना आयो, विश्वस्त स्रोतबाट ।

त्यत्तिमात्रै हैन, त्यसको नजिर पनि भेटियो । त्यसको भोलिपल्टै बैकल्पिक उम्मेदवार कविता कडेलले विद्यालय, जिल्ला शिक्षा कार्यालय, नगर शिक्षा समितिमा छानविनको गरि पाउँ भनेर निवेदन हालिन ।

निवेदनको ब्यहोरा यस्तो छ– 

मितिः– २०७४–१२–०७ 

श्रीमान जिल्ला शिक्षा अधिकारीज्यू, जिल्ला शिक्षा कार्यालय मकवानपुर, हेटौंडा । 

विषयः– छानविन सम्वन्धमा । 

प्रस्तुत विषयमा श्री मत्स्य नारायण माविका लागि मिति २०७४ साल चैत ६ गते भएको प्रावि तहको शिक्षक परीक्षामा सफल भएका उम्मेदवार श्री मनोज कार्कीको शिक्षण अनुमतिपत्रको बैद्यतामा कैफियत देखिएको छ । निज कार्कीले सोही विद्यालयमा २०७२ साल चैत्र ३ गते शिक्षण अनुमतिपत्र बैद्यतामा प्रश्न उठेकाले परीक्षामा सहभागी हुन नपाएको जगजाहेर छ । 

तर हिजो भएको परीक्षामा उही ब्यक्ति सोहि कागजातले कसरी परीक्षा दिन योग्य भए प्रश्न उठेको छ । शिक्षक सेवा आयोग ऐन नवौं संशोधनले मावि तहका लागि शिक्षा संकाय अध्ययन नगरेको हकमा केही खुकुलो गरे पनि प्रावि र निमावि तह (आधारभूत तह)का लागि शिक्षा बिषय अनिवार्य अध्ययन गरेको हुनु पर्ने व्यवस्था रहेको यहाँलाई अवगत नै छ । 

चैत्र ६ गतेको परीक्षा उतीर्ण कार्कीको अध्यापन अनुमति पत्र भए पनि शिक्षा विषयको चार सय पूर्णाङ्कको अध्ययन पूरा नभएको, कम्तीमा १० महिनाको तालिम नलिएकोले परीक्षामा स्वत अयोग्य छन । कानुनी हिसाबले परीक्षामै सहभागी हुन नपाउने उम्मेदवारलाई सहभागी गराई सफल उम्मेदवार घोषित गरेर म (वैकल्पिक उम्मेदवार) माथि अन्याय गरिएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, परीक्षा समिति र प्रधानअध्यापक समेतको मिलेमतोमा गैरकानुनी ढंगले अन्याय गरी मेरो रोजगारीको हक कुण्ठित गरेकाले दोषीमाथि छानबिन गरी कारबाही गर्नुहुन अनुरोध छ । साथै परीक्षा समितिले योग्य भनी सफल घोषणा गरेका कार्की अयोग्य हुने भएकाले बैकल्पिक उम्मेदवार म कविता कडेललाई नियुक्ति दिई न्याय गर्नु हुनु अनुरोध गर्दछु । सहयोगको अपेक्षा सहित । 

निवेदक ........... कविता कडेल 

वोधार्थ श्री मत्स्य नारायण मावि, थाहा २ मकवानपुर श्री नगर शिक्षा समिति थाहा नगर मकवानपुर । 

निवेदकले औल्याएको कमजोरी पुष्टि भएको ठहर गरी जिल्ला शिक्षा कार्यालयले सफल उम्मेदवारलाई सहमति दिन नसक्ने बेहोरोको पत्र बिद्यालयलाई पठायो । 

जिल्ला शिक्षा कार्यालयको पत्र यस्तो छ – 

जिल्ला शिक्षा कार्यालयको पत्रबाट बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विष्टको योजना सफल हुन सकेन । सफल भनिएका उम्मेदवार अयोग्य भएपछि वैकल्पिक उम्मेदवारले अवसर पाउने मान्यता, अभ्यास र न्यायको बिषयमा विद्यालय व्यस्थापन समितिका अध्यक्ष बाधक बन्ने अनि बाँकी सवैले साथ दिने यो सा¥है लाजमर्दो बिषय हो ।

निर्णय दिने अधिकारी, जनप्रतिनिधि सवका सवका एक ब्यक्तिको बन्धक हुन कसरी सकेका ? विवेक पु¥याउनु पर्दैन ? मन्त्री ज्यूलाई पनि मेरो यही प्रश्न छ । निवेदकलाई जिल्ला शिक्षा कार्यालयले बोधार्थ दिन आवश्यक ठानेन, बिद्यालय ब्यबस्थापन समिति त जसरी बैकल्पिक उम्मेदवरालाई अन्याय गर्न पर्छ भनेर लागि रहेकै थियो । प्रधानअध्यापक पनि जिल्ला शिक्षा कार्यालयबाटै कुनै पत्र नआएको भनेर पन्छिरहन्थे ।

जिल्ला शिक्षा कार्यालयले पत्र लेखेको डेढ महिना पछि मात्रै निवेदकलाई थाहा भयो । निवेदकले मौखिक रुपमा भन्नुपर्ने जति सबै ठाउँमा भन्दा पनि केहि नलागेपछि दोस्रो निवेदन दिएको देखिन्छ । जून निम्नानुसार छ–



मितिः– २०७५–०२–०९ 

श्रीमान अध्यक्ष÷प्रधानाध्यापकज्यू, श्री मत्स्य नारायण माध्यामिक विद्यालय, थाहा– २ सोल्टू, मकवानपुर । 

 विषयः– नियुक्तिका लागि प्रक्रिया अघि बढाईदिनुहुन । 

 प्रस्तुत विषयमा श्री मत्स्य नारायण माविका लागि मिति २०७४ साल चैत ६ गते भएको प्रावि तहको शिक्षक परीक्षामा सफल घोषित उम्मेदवार श्री मनोज कार्कीलाई जिल्ला शिक्षा कार्यालयले मिति २०७४ साल चैत्र १२ को चलानी नम्बर १५२३ को पत्रानुसार सहमति दिन नसक्ने व्यहोरा पठाएको यहाँहरुलाई अवगत नै छ । 

 प्राथमिक तृतीय श्रेणी करारमा कार्की शिक्षक सेवा आयोग नियमावली २०५९ (संशोधनसहित) को नियम १० (छ) बमोजिम योग्य नभएको पत्रले पुष्टि गरेको छ । सफल उम्मेदवार योग्य नभएको अवस्थामा स्वतः वैकल्पिक उम्मेदवारले नियुक्ति पाउनु पर्ने स्वयंसिद्ध तथ्य र नेपालमा पनि यही अभ्यास हुँदै आएकाले त्यो विद्यालय पनि यसबाट बिमुख नहुने मेरो विश्वास छ । 

त्यहाँमाथि विद्यालय जस्तो नीति र थिति बसाउने पवित्र संस्थाको नेतृत्वकर्ताहरुले यसको पालन र कार्यान्वन नगर्ने मैले कल्पना नै गरेको छैन । तसर्थ चैत ६ को परीक्षामा पहिलो भएको भनिएको उम्मेदवार योग्य नभएकाले वैकल्पिक (दोस्रो) हुनेलाई नियुक्तिको लागि आवश्यक प्रक्रिया पूरा गरिदिई मलाई न्याय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । न्याय गर्न ढिलो गर्नु अन्याय हो भन्ने तथ्य यहाँहरुलाई स्मरण गराइरहनु पर्ला जस्तो मलाई लागेको छैन । 

तपाईंहरुको सकारात्मक प्रक्रिया र जवाफको अपेक्षासहित ।................. निवेदक कविता कडेल 

वोधार्थ श्री नगर शिक्षा समिति थाहा नगरपालिका मकवानपुर, जिल्ला शिक्षा कार्यालय हेटौंडा, मकवानपुर । 

दोस्रो निवेदनको सम्बन्धमा अहिलेसम्म कुनै कारबाही भएको पाइएको छैन । यसका पछाडिका कारणहरु खोतल्दै जाँदा यो एउटा पत्रमा सम्भब छैन ।

तसर्थ म मन्त्रीज्यूलाई एक नागरिकबिरुद्ध भएको अन्याय, सामाजिक अपराध हुन नदिई पहल कदमी लिई समस्याको समाधान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।

0 comments

Write Down Your Responses