Powered by Blogger.
सिस्नुपानी मकवानपुरले गाइजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने


हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले यही श्रावण २७ गते गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम आयोजना गर्ने भएको छ । 

संस्थाको व्यानरमा केन्द्रीय टोली विभिन्न हास्यव्यङ्ग्ययुक्त प्रहसन, कविता, नाटक आदि मञ्चन गर्नमा व्यस्त रहेको बेला मकवानपुरमा पनि उस्तै व्यस्तता छाएको हो ।

सो कार्यक्रममा हास्यव्यङ्ग्य कविता, गजल, मुक्तक, निबन्ध, कथा आदि वाचनका साथै प्यारोडी गायन समेत हुने संस्थाका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो । साथै कार्यक्रममा पहिलो पोस्टका कार्टुनिस्ट रविन्द्र मानन्धर, थाहा सञ्चारका अनुप गुरुङ, मकवानपुरका पहिलो कार्टुनिस्ट ऋषि केबी तथा ऋत्वीक केबीका कार्टुन चित्रहरु प्रदर्शनीमा राखिनेछन् ।

सिस्नुपानी मकवानपुरको अहिलेको टिम आएपछि निकै सकृयका साथ हास्यव्यङ्ग्य कार्यक्रमहरु हुने गरेका छन् । स्थानीय तहमा समेत दर्ता गरिएको यस संस्था सिस्नुपानी नेपालको जिल्लास्थित संस्थाको रुपमा रहेको छ । 

वरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले सहयोग गर्नु भएको जग्गामा साहित्य संगम सँग संयुक्त रुपमा रहेको भवन कार्यक्रम गर्नका लागि साँघुरो भएपछि कार्यक्रम पार्टी प्यालेसमा गर्नु परेको संस्थाका सचिव गोविन्द पौडेलले बताउनु भयो । यस पटकको गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम हेटौंडा पार्टी प्यालेसमा आयोजना हुनेछ ।

सिस्नुपानी मकवानपुरका कार्यक्रमहरुमा अन्य संस्थामा आबद्ध भएका तथा अन्य सर्जकहरुको बाक्लो उपस्थिति हुने र उहाँहरुले समेत हास्यव्यङ्ग्य रचनाहरु वाचन गर्ने गरेको पाइन्छ । 

संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछाने, सचिव गोविन्द पौडेल, कोषाध्यक्ष शुभद्रा हुमागाईँ, सदस्यहरु सानुभाई विश्वकर्मा, चिरञ्जीवि लामिछाने र संप्रस पौडेल हुनुहुन्छ । 

संस्थाका लागि स्व. गणेश पौडेल स्मृति सम्मानका लागि उहाँका परिवारका तर्फबाट हालसालै २ लाखको अक्षयकोष स्थापना भएको छ । अरुबेला आ–आफ्ना गोजीबाट पैसा निकालेर कार्यक्रम सञ्चालन गर्ने गरेको संस्थाले यो पटकको कार्यक्रममा भने व्यानर, खाजा व्यवस्थापन, साउण्ड सिस्टम आदिमा केही आर्थिक सहयोग प्राप्त गरेको छ । तर कार्यक्रम सञ्चालनमा सँधै झैं यो पटक पनि खर्च अपुग रहेको संस्थाका कोषाध्यक्ष हुमागाईँले बताउनु भयो ।

आर्थिक व्यवस्थापन गरेर संस्थाले हास्यव्यङ्ग्य साहित्य कार्यशाला, विद्यालयस्तरीय तथा खुला प्रतियोगिता, हास्यव्यङ्ग्य चित्र (कार्टुन) तथा फेस क्यारिकेचर चित्रकला कार्यशाला गराउने योजना बनाएको सदस्य संप्रस पौडेलले जानकारी दिनुभयो । 




0 comments

Write Down Your Responses