मान्यता भट्टराई
एक पटक म कलेजका साथीहरूसंग शिवपुरी जंगलमा घुम्न गएको थिएं । हामीसंग जाने एक जना दाई योगाको गुरू हुनुहुन्थ्यो । दाईले हामी सबैलाई शिबपुरी बाबाले ध्यान गरेको त्यो पवित्र भूमीमा योग–ध्यान गराउनु भयो । छुट्टै आनन्दको अनुभूति भयो । घर फर्केपछि बाबा मामुलाई मैले यो कुरा सविस्तार भनें ।उपयुक्त समयमा सपरिवार ध्यान गर्न जाने पारिवारिक सल्लाह भयो ।
हजुरबुवाको तिथी श्राध्दको दिन सबेरै उठेर नुहाई धुवाई गरेर हामी सपरिवार पशुपति क्षेत्रमा गएका थियौं । त्यहाँ फकिर योगी एलोन नाथ संग हाम्रो भेट भयो । हजुरबुबाको श्राध्दको सिदा दान लिन हामीले अनुरोध गर्र्यौं । उहाँले सहर्ष स्वीकार गर्नु भयो ।
अहिलेको वैज्ञानिक युगमा हरेक व्यक्तिले जीवनको जिम्मेवारी, कामको व्यस्तता, सामाजिक सञ्जालमा अत्यधिक लगाव, प्रदुषणका प्रभावले मानसिक थकान, तनाव तथा अस्वस्थता अनुभव गर्दछ । पाचन प्रणालीमा समेत नकारात्मक प्रभाव पुगेको महशुस हुन्छ ।
मनभरी तनाव भएपछि स्वाभाविकरूपमा मन अशान्त बन्दछ । मन चञ्चल बन्दछ । आफ्नो पढाईमा, काममा, स्वास्थ्यमा, परिवारको हेरचाहमा ध्यान दिन पनि मन लाग्दैन । सानो कुरामा पनि अनाबश्यकरूपमा डराउने, हतास हुने, भय पैदा हुने, निराशा लाग्ने, धैर्यता गुम्ने जस्ता जटिल समस्याहरू देखिन थाल्दछन् ।
यस्ता दुस्प्रभावहरूबाट आँफुलाई बचाउन मन शान्त बनाउनु पर्दछ । मन शान्त बनाउने उपयुक्त तरिका भनेकै शान्त र प्राकृतिक वातावरणमा एकाग्र भएर ध्यान गर्नु हो ।
तपस्वीहरूको समीपमा रहेर ध्यान गर्नाले हाम्रो मस्तिष्कमा शान्ति, निर्विचार, एकाग्रता ल्याउन झनै सहयोग पुग्दछ ।राष्ट्रगुरू योगी नरहरीनाथ र शिवपुरी बाबाको समाधिस्थलमा पुगेर ध्यान गर्न सल्लाह दिनुभयो ।
शैक्षिक सफलताको लागि तनाव रहित रहनुपर्छ भन्ने सुझाव गुरूबाट पाइयो । योगी बाबा प्रति श्रध्दाभाव व्यक्त गर्दै हामी मृगस्थली तर्फ गयौं ।
श्रध्देय राष्ट्रगुरू योगी नरहरिनाथको समाधिस्थल, मृगस्थलीमा पुगेर उहाँको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै शीर झुकाएर सभक्ति नमन गर्यौं । समाधिस्थलको प्रदक्षिणा गर्यौं । नजिकै रहेको ध्यान कक्षमा गएर गुरूको मूर्तिको सान्निध्यमा रहेर ध्यान गर्न पाउंदा अलौकिक शान्ति प्राप्त भएको आभाष भयो ।
आत्मशान्तिका लागि पछि समय अनुकूल हुँदा यसरी नै सपरिवार आउने र दर्शन गर्ने हाम्रो चाहना र स्वस्फूर्तरूपमा जागृत भएको भावना त्यहाँ राखिएको आगन्तुक रजिष्टरमा उल्लेख गर्यौं ।
हामी त्यहाँबाट श्री वृहदाध्यात्मिक परिषदः को पुस्तकालय कक्षमा गएर गोरक्ष साम्यवाद र स्वर्ण महोत्सव २०७२ स्मारिका पुस्तक किन्यौं ।
पुस्तकालयमा स्वयंसेवा गर्ने दिज्यूले राष्ट्रगुरू र गोरक्षनाथ बाबाको दुई वटा फोटो हामीलाई निःशुल्क उपहार दिनु भयो । त्यहाँबाट हामी गुह्येश्वरी तर्फ नगइकन ध्रुवस्थली तर्फ गयौं ।
दक्षिण भारतको केरला प्रान्तमा सन् १८२६ मा जन्मनु भएका सिध्द पुरूष गोविन्दानन्द भारती सय बर्षको उमेरमा नेपाल आउनु भई काठमाडौबाट उत्तर तर्फ रहेको शिबपुरी पर्वतमा बस्न थाल्नु भएपछि उहाँको नाम शिबपुरी बाबा रहन गएको रहेछ ।
शिबपुरी बाबाले आफ्नो जीवनको अन्तिमकालमा तपस्या गरेको त्यो पवित्र ठाउँ नै ध्रुवस्थली क्षेत्र रहेछ । बाबाले लगातार ३७ बर्ष नेपालमा रहेर सन् १९६३मा यहिं समाधि लिनुभएछ । समाधिस्थलजाने बाटो मनोरम प्राकृतिक जङ्गलको बीच हुंदै जानुपर्ने हुंदा हामी चारै जनालाई हाइकिङ गर्दै गएको महशुस भयो ।
समाधिस्थल अत्यन्त शान्त ठाउंमा रहेछ । त्यहाँको वातावरण नै तपोभूमी जस्तो भान भइरहेको थियो । समाधिस्थलमा शान्त भएर ध्यान गर्नु पर्ने रहेछ । बाहिर धारामा गएर हात गोडा धोएर भित्र गयौं ।
हाम्रा मोवाइलहरू ‘साइलेन्ट मोड’मा राख्यौं अनि त्यहाँ राखिएको कुशन ओछ्याएर पौने घण्टा जति एकाग्रतापूर्वक ध्यान गर्यौं । सिध्दपुरूषहरूको समाधिस्थलमा ध्यान गर्दा साँच्चै नै मन भरीको तनावको भारी घोप्ट्याएको भान भयो । चित्त शान्त भयो । मन प्रफुल्ल भयो । भोक हरायो । शरीरमा शक्ति आर्जन भएको अनुभव भयो ।
(प्रशिक्षार्थी पत्रकार)
0 comments
Write Down Your Responses