Powered by Blogger.
साहित्यिक पत्रिका नवप्रज्ञापनको शताङ्क सार्वजनिक



काठमाडौँ । साहित्यिक त्रैमासिक पत्रिका नवप्रज्ञापनको ५ सय ८० पृष्ठको शताङ्क सार्वजनिक भएको छ । सोमबार काठमाडौँको पद्मकन्या क्याम्पसको सगरमाथा हलमा ‘नवप्रज्ञापन शताङ्क विमर्श कार्यक्रम’को आयोजना गरी शताङ्क सार्वजनिक गरिएको हो । 

शताङ्कको वरिष्ठ साहित्यिक पत्रकार तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्त, नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार रोचक घिमिरे, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, वरिष्ठ साहित्यकार एवं नारी स्वर त्रैमासिकका सम्पादक हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र पत्रिकाका सम्पादक नवराज रिजालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य पन्तले साहित्यिक पत्रकारिताका बारेमा चर्चा गर्दै साहित्यिक पत्रिकाहरु संकटमा रहेको बताए । उनले साहित्यिक पत्रिकाहरु सरकारी लोककल्याणकारी विज्ञापनको भरमा मात्र बाँचिरहेको उल्लेख गर्दै यसलाई व्यवसायिक बनाउन आवश्यक रहेको बताए । उनले पत्रिका निकालेर बचाइ राख्ने मात्रै काम भएको भन्दै स्तरीय बनाएर बजार विस्तार गर्न र युवा पुस्तालाई आकर्षित गर्न समेत सुझाव दिए । सांसद पन्तले नेपाली भाषा जोगाइ राख्नका लागि पनि साहित्यिक पत्रिकालाई जोगाउनुपर्ने बताए । 

कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार रोचक घिमिरे सरकारले साहित्यिक पत्रपत्रिकालाई अपहेलना गरेको गुनासो गरे । साहित्यिक पत्रकारिताका समस्याबारे राज्यका हरेक निकायमा कुरा राखेको तर यसको कतैबाट पनि सुनुवाइ नभएको उनको गुनासो थियो । उनले साहित्यिक पत्रिकालाई मासेर नेपाली भाषालाई समेत सिध्याउन खोजेको भन्दै सरोकारवाला निकायप्रति असन्तुष्टि समेत व्यक्त गरे । 



कार्यक्रममा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवालले अफिस–अफिसमा साहित्यिक पत्रिका विक्री गर्न जाँदा अपहेलना र सिखी हुने गरेको भन्दै यो मुलुककै विडम्बना भएको बताए । उनले यो बिडम्बना पचाउन सक्ने क्षमता साहित्यिक पत्रकारहरुमा हुनुपर्ने भन्दै साहित्यिक पत्रिका निरन्तर निकाल्नु नै ठूलो साहस भएको बताए । 

कार्यक्रमको समापन गर्दै नवप्रज्ञापन पत्रिकाका सम्पादक नवराज रिजालले व्यवसायिक नभई रहरले पत्रिका निकाले भन्दै साहित्यिक पत्रपत्रिकाहरु पढ्ने क्रम भने घटेको बताए । उनले शताङ्क प्रकाशितपछि पाएको साथ र मायाले झनै उत्साह थपेको बताए । कार्यक्रमका सञ्चालन बाल कथाकार यशु श्रेष्ठले गरेका थिए । 

बाराबाट प्रकाशित नवप्रज्ञानको शताङ्मा एक सयभन्दा बढी स्रष्टाहरुको रचना रहेका छन्  । पाँच खण्डमा प्रकाशित शताङ्कको पहिलो खण्डमा स्मृतिमा साहित्यिक पत्रिपत्रिका, दोस्रो खण्डमा आफ्ना बाटा आफ्नै हिँडाई, तेस्रो खण्डमा सम्पादकीय यात्रा, चौथो खण्डमा यात्राका सहयात्रीहरु र पाँचौं खण्डमा शुभेच्छामा जोडिएका मन समेटिएको छ । 





0 comments

Write Down Your Responses