Powered by Blogger.
शान्ति सापकोटाको 'मङ्की माइन्ड'को लोकार्पण


 


-माधव घिमिरे 'अटल' 

काठमाडौ । साहित्यकार शान्ति सापकोटाको किशोर कथासङ्ग्रह 'मङ्की माइन्ड'को शनिबार अनामनगर काठमाडौँस्थित एक भोजनालयमा लोकार्पण कार्यक्रम सुसम्पन्न भयो । डा. तारानिधि भट्टराईले आगन्तुक अभ्यागतहरूलाई स्वागत गरेको सो कार्यक्रममा बाल टिप्पणीकार तपस्या वाग्लेले कृतिको साङ्गोपाङ्ग शल्यक्रिया गर्दै आफ्नै शिक्षक वा अभिभावकबाट असुरक्षित बालबालिकाले विभेद र दुर्व्यवहार विरुद्ध लड्नुपर्छ भन्ने सन्देश बोकेका कथाको खुलेर प्रशंसा गरिन् । जातभातले निम्त्याएको सामाजिक घाउ कति चहर्याइरहेछ भन्ने कथाहरूमा पनि त्यसविरूद्ध सङ्घर्ष गर्नुपर्ने आह्वान प्रशंसनीय भएको भनाइ राखिन् । कृति पढ्दा थप पढ्न मन लाग्ने भएको जिकिर गर्दै कान नछामीकनै कागको पछि लाग्ने यथार्थताको दर्पण नै कथासङ्ग्रह भएको निर्क्यौल निकाल्दै हाम्रो मौजुदा समाजविरुद्ध तिखो व्यङ्ग्य कसिन् । अर्का टिप्पणीकार तथा बहुआयामिक सर्जक केशरी अम्गाईले औँलामा गन्न सकिने कथाकारले मात्र किशोर कथा लेखनमा आँट गरेको भन्दै शान्ति सापकोटाले उठाएको यो जोखिमको हार्दिक सराहना गरे । संसारभरका किशोर कथाका दृष्टान्त पेस गर्दै उनले किशोर कथा लेखनी गर्दा विषय विविधतालाई शिरोधार्य गर्नुपर्ने दाबी गर्दै किशोरका रूचि,समस्या र मनोविज्ञानको सही पहिचान गरेर मात्र कथा लेख्न कथाकारलाई सुझाए । विद्रोह चेत र आशावादिता नै यो कृतिको सामर्थ्य हो भन्ने अभिमत राख्दै कथासङ्ग्रहमा प्रेमको पाटोबाहेक अन्य ओझेल परेको आफूलाई भान भएको जिकिर गरे। कथाकार शान्ति सापकोटाले रचनागर्भ, समाविष्ट कथाहरू र प्रकाशनका सिलसिलामा आएका अप्ठ्याराबारे आफ्नो भनाइ राखिन् । विशेष अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यले शीर्षक अत्यन्तै सान्दर्भिक भएको चर्चा गर्दै किशोर समस्या र मुद्दा घरघरमा भएको भनाइ राखे । उनीहरूको मोबाइल आतङ्क, युट्युब आतङ्क तथा गुगल आतङ्कबाट सिङ्गो परिवार नै प्रताडित हुनुपरेको कर्माचार्यको कथन थियो । प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसालले कथाहरूमा किशोर मनोविज्ञान राम्ररी केलाइएको बताउँदै पात्रहरूले आफ्ना अन्जानमै गरेका खराब कर्मप्रति पश्चाताप गर्दै आफूलाई सुधारेको पक्ष निकै सबल भएको उनको कथन थियो । समस्याग्रस्त वयलाई व्यवस्थापन गरी कसरी सकारात्मक र सुधारात्मक बाटोमा लैजाने भनी आत्मविश्वास जगाउन सक्नु कृतिको शक्ति भएको उनको विचार थियो । सर्वज्ञताको भ्रान्तीलाई किशोरहरूले थाहा नपाउने गरी चिरेर कसरी स्वावलम्बी नागरिक बनाउने भन्ने सवाल नै आजको साझा चुनौती भएको उनको अभिमत थियो । एक फरक प्रसङ्गमा उनले नेपाल प्रज्ञा प्रतिष्ठानले बाल वाङ्मय तथा अनुसन्धान केन्द्रसँग सहकार्य गर्न चाहेको प्रस्ट्याइन् । मञ्जु ज्ञवालीले उपस्थित साहित्यकार तथा साहित्यानुरागीलाई धीरतापूर्वक लामो समयसम्म रही कार्यक्रमको शोभा बढाइदिएकामा धन्यवाद ज्ञापन गरिन् । नाट्यकर्मी तथा साहित्यकार केदार श्रेष्ठले सहजीकरण गरेको सो कार्यक्रमलाई केन्द्रका अध्यक्ष तथा कार्यक्रमका समेत अध्यक्षता ग्रहण गरेका अनन्त वाग्लेले शान्ति सापकोटाको लेखनीको मुक्तकण्ठले सराहना गर्दै कार्यक्रमको बिट मारे ।

0 comments

Write Down Your Responses