नबिना खड्का
काठमाडौं । नेपालमा सडक कुकुर कति छन्, यकिन तथ्यांक छैन । सर्वेक्षणका अनुसार सडक कुकुरको संख्या अनुमान गर्न गाह्रो छ ।
नेपालका अधिकांश बस्तीमा सडक कुकुरको संख्या अत्यधिक देखिएको छ । स्थानीय निकायका पशु शाखाले यसको नियन्त्रण र व्यवस्थापनका लागि सम्पूर्ण पहल गर्दै पूर्ण जवाफदेही बन्नुपर्ने हो । तर त्यस्तो पाइएको छैन । नेपालमा सडक कुकुरका लागि बन्ध्याकरण र खोप कार्यक्रमले आंशिक रूपमा मात्र सफलता पाइरहेको छ । यो अभियान देशभरका सबै पालिकामा पूर्ण व्यवस्थित भइसकेको छैन ।
काठमाडौंका केही स्थानहरुमा कुकुरहरु दिनदिनै खानाको लागि भौतारिरहेका हुन्छन् । त्यसैले उनीहरुले कुनैपनि खानेकुरा देख्नासाथ हतारिएर खान्छन् । उनीहरूलाई आफ्नो खाना अरुले खाइदिन्छन्, खोसिदिन्छन् भन्ने भय हुन्छ र जतिसक्दो चाँडो खान थाल्छन् ।
यस्तो अवस्थामा त्यो खानेकुरा कस्तो हो भनेर उनीहरुले हेरिरहन पनि भ्याउँदैनन् । यसरी हतारिएर खाएको बेला त्यहाँ प्लास्टिक हुन सक्छ, सिसाको टुक्रा हुन सक्छ, फलाम हुन सक्छ । उनीहरुले खानासंगै यी सबैकुरा निल्न पुग्छन्, जसले गर्दा पीडादायी रोगहरुले ग्रस्त बनाउँछ ।
खानामा मिसिएका सिसा, ब्लेड, प्लास्टिक, फलाम, ढुंगा र काठ आदिले कुकुरलाई पेटमा मात्र नभई शरीरको विभिन्न अंगमा पीडा दिन्छ ।
ब्लेड तथा सिसाले मुखमा घाउ हुने , प्लास्टिक, रड र काठ पेटभित्र जाँदा नपचेर बान्ता हुने जस्ता समस्या देखा पर्छन् ।
अधिकांश सडक कुकुरले भरपेट खान पाएका हुँदैनन् । राम्रो खानपानको अभावमा उनीहरु अनेक रोगसँग जुधिरहेका हुन्छन । पेटको जुका, कलेजोको रोग, रगतमा संक्रमण, मिर्गौलामा समस्या हुन सक्छ ।
बाहिरबाट हेर्दा ठीकठाक देखेपनि भित्रभित्रै उनीहरु पीडाले छटपटाइरहेका हुन्छन्त्यस्तै आन्द्रामा घाउ हुने, कब्जियत हुने, झाडापखाला लाग्ने जस्ता समस्याले कुकुर दिन प्रतिदिन दुब्लाउँदै जाने त्यसपछि मृत्युसम्म भएका छन्। कुकुरलाई टिटानस समेत हुने जोखिम हुन्छ । सडक कुकुरहरु फोहोरको थुप्रोमा खानेकुरा खोजेर बाँच्नुपर्ने बाध्यतामा हुन्छन्। मान्छेले बासी भएर, कुहिएर, बिग्रिएर फ्याँकेका खाना नै उनीहरुको आहार हुन्छ ।
त्यो खाना पनि झिंगा भन्किएको, ढुसी परेको, कीरा परिसकेको हुन्छ । यस्तो खाना खाएपछि पेट त दुख्ने नै भयो, आमाशय वा पेटमा घाउ हुन्छ । खासमा भन्ने हो भने मानिसहरुको गल्तीको कारण धेरैजसो सडक कुकुरले अकालमा ज्यान गुमाउँछन ।
मान्छेले फोहोरमा मिसाएका खानेकुरा खाएर उनीहरु पेटको रोगी बन्छन्। सिसा, ब्लेड जस्ता खानेकुराले उनीहरुको आन्द्रामा घाउ बनाइदिन्छ । त्यसैगरी धेरैजसो सडक कुकुर मोटरसाइकल तथा गाडीले कुल्चिएर अंगभंग भएको वा मरेको पाइन्छ । त्यससँगै क्यान्सर, रेबिजले गर्दा सडक कुकुरको मृत्यु हुन्छ । उनीहरुले आफ्नो पूर्ण जीवन पनि बाँच्नै पाउँदैनन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुकुरले टोकेपछि भ्याक्सिन लगाउन बिरामीहरू अस्पताल आउनेको संख्या पछिल्लो एक वर्षमा निकै बढेको छ । अस्पतालमा महिनामा झन्डै १८ हजार बिरामी कुकुरको टोकाइपछि उपचार र भ्याक्सिनका लागि आउने गरेका छन्, डाक्टर पुनले भने, ’खोप लगाउन आउने यस्ता बिरामीमध्ये ८० प्रतिशत काठमाडौँ उपत्यका भित्रकै हुन्छन् ।
एक वर्षमा टेकु अस्पतालमा करिब दुई लाख जनाले रेबिज विरुद्धको भ्याक्सिन लगाएका छन्। यो संख्या हरेक वर्ष पाँच हजार भन्दा बढी थपिइरहेको डा. शेरबहादुर पुनले बताए
नेपालमा सडक कुकुरको अत्यधिक संख्यालाई न्यूनीकरण गर्न स्थानीय सरकारमा रहने पशु शाखाले स्थानीय समुदायहरूसँग काम गर्नुपर्छ । जनावरको स्वामित्व प्रति सम्बन्धित पशुधनीलाई जिम्मेवार बनाउने, खानेकुरा, बन्ध्याकरण र खोपको महत्वको बारेमा स्थानीय समुदायहरूलाई बुझाउने र सचेतना अभियानमा उनीहरूलाई संलग्न गरी शिक्षित गराउने काम स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ ।
कुकुरको हेरचाह र व्यवस्थापनको लागि स्रोतहरू जुटाउन र उत्प्रेरणा प्रदान गर्न समुदायहरूसँग मिलेर के कसरी काम भनि योजना बनाएर काम गर्नुपर्छ ।
0 comments
Write Down Your Responses