Powered by Blogger.
युगले सम्झिरहने नायक रुदाने अर्थात् रूपचन्द्र विष्ट

 


शन्तराम बिडारी

असार ७, थाहा आन्दोलनका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २५ औँ स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य विष्ट आफ्नो राजनीतिक कालखण्डमा चर्चामा रहनुभयो । उहाँ मकवानपुरे जनताका असल प्रतिनिधि हुनुहुन्थ्यो । 

उहाँले चलाउनुभएको ‘थाहा अभियान’ को सम्झना स्वरूप उत्तरी मकवानपुरको एक नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । थाहा नगरपालिकाले आज असार ७ गते नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । 

उत्तरी मकवानपुरको दामन–घर्तीखोलामा १९९० साल पुस २६ मा जन्मिनुभएका विष्टको २०५६ असार ७ गते वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उहाँ औसतभन्दा फरक र विद्रोही स्वभावका जनप्रतिनिधि हुनुहुन्थ्यो । उहाँ आजीवन मान्छे जगाउने यात्रामा लाग्नु भयो । 

राजनीति ‘गरिब, निमुखा, झुप्रे र छाप्रेहरूका लागि हुनु पर्छ’ भन्ने उहाँको धारणा थियो । ‘श्रमिकको राजनीति पुँजीपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन,’ विष्ट भन्नुहुन्थ्यो ‘आफ्नो राजनीति आफैँले गर्नु पर्छ । त्यसका लागि जनता जाग्नु पर्छ, जाग्नका लागि थाहा चाहिन्छ ।’ रूप, रूपे, स्वरूपे, रापसरु, जसरु, रुदाने नाम उहाँले आफ्ना लागि प्रयोग गर्नुभयो । रूप रूपचन्द्रको सङ्क्षिप्त नाम थियो । 

उहाँका बुबा पदमबहादुर विष्ट नेपाली सेनाको मेजर हुनुहुन्थ्यो तर कलिलो उमेरमै रूपचन्द्रले गौतम बुद्धले दरबारको सुखभोग त्यागे जस्तै घरपरिवारको कडा अनुशासन, सुख सयलको जिन्दगी त्यागेर नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो । 

कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलालको अङ्गरक्षक एवं काठमाडौँ जिल्ला समिति सदस्य भएर उहाँले काम गर्नुभएको थियो । 

पार्टीको सङ्गठन नगरेर पनि जनतालाई जगाउन सकिन्छ भन्ने दृढ मान्यता राख्नुहुन्थ्यो । उहाँले कम्युनिस्ट सिद्धान्तबाट जीवनभरि आफूलाई असल प्रयोगवादीका रूपमा अगाडि बढाइरहनु भयो । 

राजनीतिमा लागे पनि विष्टले आफ्नो प्राज्ञिक स्वअध्ययनलाई छाड्नु भएन । विष्टले कम्युनिस्टको अभ्यास–व्यवहार र त्यसलाई सार्थकता दिने काम प्रधानपञ्च हुँदा नै गर्नुभएको थियो, जसले सार्वजनिक सुरक्षा ऐन लगाएर तत्कालीन सरकारले जेलमा राख्यो । 


रूपचन्द्रका विभिन्न रूप


निर्दलीय चरम दबदबाका कारण आफैँले स्थापना गरेको हाइस्कुलको प्रधानाध्यापक पद छाडेर दामनमा उहाँ नौ वर्ष बाख्रा पालन गरेर बस्नुभयो । खाना पसल र लज खोलेर आफैँले सबै काम गरेर दामनको टावरमा पर्यटकलाई घुमाउने काममा समेत उहाँ संलग्न हुनुभयो । यसले मकवानपुरको दामनलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन असाध्यै मद्दत पुगेको थियो ।



खासमा २०२० देखि २०३७ सालसम्म नै उहाँको जनमुखी अभ्यास काल थियो । आफ्नो ज्ञान र अनुभूतिलाई थाहा दर्शनका रूपमा २०३८ सालको दोसंरो आमनिर्वाचनदेखि २०५६ सालसम्म उहाँले निरन्तर सम्प्रेषण गर्नुभयो । यसैका आधारमा यो अवधिलाई उहाँको विचार सम्प्रेषण काल मान्न सकिन्छ । अहिले चल्तीमा आएको र विश्वव्यापी मानिएको सूचनाको हकको कुरा थाहा आन्दोलनमा समेटिएको कुरा हो । 

हरेक कुरा सबै जनताले जान्नुपर्ने अर्थात् थाहा पाउनुपर्ने भन्ने उहाँको तर्क थियो । मकवानपुरबाट थालिएको यो थाहा आन्दोलनले निर्दलीय व्यवस्था र राजतन्त्र समाप्त पार्न ठुलो बल मिल्यो । ‘थाहासँग प्रेम गर, थाहा तिमीसँग आउँछ,’ उहाँ भन्ने गर्नुहुन्थ्यो । आफ्नो परिवार नै अस्तव्यस्त हुने गरी उहाँले आफूलाई चुर्लुम्म राजनीतिमा डुबाउनुभयो ।

विष्टको प्रसंशा मात्र होइन, आलोचना पनि गर्न सकिन्छ । उहाँमा केही अवगुण पनि छन् । उहाँसँग सितिमिति मान्छेहरू टिक्दैनथे । 

शारीरिक श्रम नगरीकन खान पाइँदैन भन्ने उहाँको नीति थियो । उहाँको लवाइ, खवाइ, हिँडाइ, बोलाइ, गराइलगायत सबै कुरा सरदर मानिसको भन्दा फरक थियो । सामान्य मानिस उहाँलाई हेरेर रमाउँथे, नजिकै झुम्मिन्थे तर टाठाबाठा, शोषक, सामन्त, हुनेखानेहरू नजिक आउन बडो सकस मान्थे । 

राष्ट्रिय पञ्चायत सदस्य हुँदा जेल हालियो । राजाका दूत जेलमा गएर भने, ‘जीवन जेलमा नै बिताउने कि महाराजले दिएको मन्त्री बन्ने कि प्रधानमन्त्री ? वा रोजेको मन्त्री ?’ रूपचन्द्रले ती दूतलाई लेखेर दिए, ‘तिम्रा यस्ता बेठिक व्यवस्थामा हामी जस्तालाई मन्त्री पदमा पाइँदैन । मेरो ज्यान बाहिरभन्दा यही जेलमा राख्न उपयुक्त छ । किनकि, यहाँ मारिँदा त दोष अरूलाई लगाउन मिल्दैन होला नि ।’ उहाँले एक प्रसङ्गमा भन्नुभएको छ, ‘जिउँदो मान्छे अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ ।’


विष्टलाई कसैले माननीय भनेर सम्बोधन गरेको अवस्थामा उनले सोध्दथे, जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उसको प्रतिनिधि माननीय हुँदैन । जब जनता जाननीय हुन्छन्, तब उसको प्रतिनिधि माननीय हुन्छ । 


प्रखर वक्ता

विष्ट राष्ट्रिय पञ्चायतको सदस्य भएपछि जनताको पक्षमा प्रखर ढङ्गले आवाज उठाउने जनप्रतिनिधिका रूपमा स्थापित हुनुभयो । उहाँ संसद् नभएको बेला मतदाता भेट्न र सुझाव लिन पुग्नुहुन्थ्यो भने सदन खुलेपछि जनताको आवाज लिएर पुग्नु हुन्थ्यो । 

उहाँले २०४६ सालमा एक पटक संसद्मा बोलेको भनाई यस्तो थियो, ‘बिग्रनलाई भ्रम भएर पुग्छ, सप्रिनलाई थाहा चाहिन्छ ।’ राष्ट्रिय, अन्तर्राष्ट्रिय दर्शन, सिद्धान्त र राजनीतिका प्रसङ्ग र उदाहरणसहित बोल्ने विष्टका हरेक अभिव्यक्ति वजनदार हुन्थे । उहाँलाई एक भाषणबाज नै मानिन्थ्यो । उहाँको भाषण सुन्नका लागि नारी, वृद्ध, युवा, बालक जो कोही पनि जम्मा हुन्थे भने मिडियाका लागि उहाँ त्यतिबेलै ‘हटकेक’ हुनुहुन्थ्यो । 

२०३९ सालमा विष्टले सार्वजनिक प्रश्न जनतासमक्ष गर्नुभयो र भन्नुभयो, ‘जात ठुलो कि जनता ? नाता ठुलो कि न्याय ? स्वार्थ ठुलो कि सत्य ?’ यो प्रश्न अहिलेका दल र नेतालाई पनि उत्तिकै महत्वको छ । यसै गरी एउटा पर्चा प्रकाशन गरेर उहाँले त्यसमार्फत स्पष्ट पार्नुभयो, “केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा–भगुवा सारा दोषी ।” 


जीवनको उत्तरार्धमा भने उहाँ नराम्ररी थाक्नुभयो । निराशामा चुर्लुम्म डुब्नुभयो । निधन हुनुअघि आफ्ना निकटसँग उहाँले भन्नुभएको थियो, “जीवनभर मान्छे जगाउन खोजेँ, मान्छे या त जाग्दै जागेनन् । जे जति जागे, जालीफटाहालाई काम लागे । अब मेरो कुनै काम रहेन, बाँच्नुपर्ने कुनै कारण भएन ।” 

विष्ट धेरै अर्थमा भिन्न लाग्थ्यो । उहाँको अर्को सिद्धान्त थियो ‘निष्पक्ष सक्रियताको अभ्यास ।’ कुनै मान्छे निष्पक्ष छ तर सक्रिय छैन भने त्यो काम छैन । सक्रिय छ तर निष्पक्ष छैन भने त्यो पनि काम छैन । त्यसैले उहाँ समाज राम्रो बनाउन निष्पक्ष सक्रियताको अभ्यास गर्ने मान्छे चाहिन्छ भन्नुहुन्थ्यो । उहाँका केही अद्भुत प्रसङ्गहरू छन्, जुन यस प्रकार छन् ः


मरेको हल्ला

विष्टले तत्कालीन शासक र शासन व्यवस्थालाई ठाडो चुनौती दिनुभएको थियो । त्यसैले उहाँका पछाडि विभिन्न तहका गुप्तचर पछि लाग्थे । २०२८ साल माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा मेला लागिरहेको थियो । त्यहाँ उहाँका आफन्तको व्रतबन्ध थियो । एक्कासि त्यहाँ पुग्नुभएका विष्ट सायद गुप्तचरहरूले घेरिएको जानकारी पाएर होला अचानक गायब हुनुभयो । 

अधिकांश मान्छे व्रतबन्धतिरै लागिरहेका थिए । उहाँ नारायणीको त्यत्रो ठुलो भेलमा हामफालेर डुबुल्की मार्दै तलसम्म पुग्नु भएछ । मान्छेहरूले ज्यान बच्ने आशा मारे । नारायणीले निल्यो भन्ने अनुमान लगाए । 


पछिसम्म पनि मरेको भन्ने हल्ला चल्यो तर उहाँ पौडँदै नारायणघाटसम्म पुगेर त्यहाँबाट भारतका विभिन्न स्थानमा पूर्वीय दर्शनको प्रयोग र अभ्यास गर्दै केही वर्षपछि सिधै जन्मथलो पालुङमा दाह्री–कपाल पालेर साधुको भेषमा आइपुग्नु भयो । आएपछि पण्डित र दलितको छुट्टाटुट्टै भेला गरेर पूर्वीय दर्शनको सबल र दुर्वल पक्षबारे व्यापक चर्चा गरेको स्थानीयबासी बताउँछन् । 

प्रसिद्ध नाम ‘बहुला’ 

एउटा अन्तर्राष्ट्रिय पत्रिकाले अन्तर्वार्ता लिने भनेर विष्टको कालीमाटीस्थित डेरामा विदेशीसहितको टोली आइपुग्यो । औपचारिक रूपमा अन्तर्वार्ता सुरु भयो । उनीहरूले पहिलो प्रश्न गरे, “तपाईंको खास नाम नै रूपचन्द्र विष्ट होइन त ?” उहाँले भन्नुभयो “मेरा धेरै नाम छन्, प्रसिद्ध नाम चाहिँ त्यो होइन ।” फेरि सोधियो, “प्रसिद्ध नाम के हो त ?” उहाँले भन्नुभयो, “मेरो प्रसिद्ध नाम चाहिँ बहुला हो । सबैले बहुला भन्छन् ।” फेरि सोधियो, “तपाईं बहुलाएकै हो त ?” उहाँले भन्नुभयो, “मेरो चाहिँ नाउँ बहुला हो, अरूको बुिद्ध नै बहुला हो ।”

अर्को प्रश्न परिवारबारे सोधियो । उहाँले जवाफ दिनुभयो, “त्यो चासो नपरेको विषय ।” फेरी सोधियो, “तपाईंको शैक्षिक योग्यता ?” उहाँले भन्नुभयो, “थाहा पाउन खोज्ने ।” पुनः प्रश्न जारी थियो, “तपाईंको ठेगाना ?” जवाफ थियो, “जिउको ढ्याक ।” अन्तर्वार्ताका बेला सँगै रहनुभएका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले त्यो बेला यस्तो रोचक अन्तर्वार्ता भएको यतिखेर सुनाउनु हुन्छ । –

२०८१ असार ७ गतेको गोरखापत्र दैनिकबाट साभार

(बिडारी रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापक तथा दामन पोष्ट साप्ताहिकका सम्पादक र त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा एमफील–पिएचडीका शोधार्थी हुनुहुन्छ  । 


0 comments

Write Down Your Responses