–दामन पोष्ट विशेष संवाददाता
हामी मान्छे हौं
किनकि मान्छेमा विवेक हुन्छ
विवेक उज्यालो हो
विवेक सभ्यता हो
विवेक अग्रगमन हो
यसकारण हामी
मान्छे हौँ
( हामी मान्छे , गोर्खाली गुराँस ४४)
सुशीला अधिकारी ढकालद्वारा सिर्जना गरिएका ४४ कविता सन्चयन गरिएको गोरखाली गुराँस हालै प्रकाशित भएको छ । सामाजिक वातावरण , देशकाल ,परिस्थिति , प्राकृतिक मोहकता आदीलाई बिषय बनाइएका कविताहरु सरल र सहज लाग्छन् ।
प्राध्यापन पेशाबाट बचेको समय सुशीलाले साहित्यमा लगाइरहेकी छिन । साहित्यिक संघसंस्थामा पनि सुशीला सहभागिता जनाइरहेकी छिन् । उनका कतिपय कवितामा नारी संवेदनशीलताको भाव उजागर भएको छ । जीवनको मूल्यको पक्षमा सुशीला अधिकारी ढकालको कलम मजबुत छ ।
नारी ढल्दिनन्
नारीलाई अपमान गर्नेहरू सावधान !
नारी मर्दिनन
नारीलाई दासी बनाउन खोज्नेहरू सावधान !
नारी जागिन भने खरानी मात्र बाँकी रहन्छ
नारीलाई अपमान गर्नेहरू सावधान !
नारीलाई आगो लगाउनेहरू सावधान !
( गोरखाली गुराँस , नारी पेज ६)
एक्काइसौं शताब्दीका नारीहरू हरेक कुरामा सक्षम छ्न । सुशीलाका कविताहरू नारी अस्मिता र स्वतन्त्रताको पक्षमा निर्भीकतासाथ उभिएका छन् । नारीलाई अपमान गर्नेहरूलाई चेतावनी स्वरुप सावधान गराएकी छिन् सुशीलाले । नारीचेतका हिसाबले यो कविता अब्बल छ । शिर्षक नै नारी रहेकोे कविता सार्थक पनि छ ।
गोरखाका वनपाखामा सुशीलाको बाल्यकाल व्यतीत भयो । ती अतीत यादहरू उनका कविताहरूमा पोखिएका छ्न् ।
जीवन के हो ? सुशीलाको कविता काव्यिक स्वरमा भन्छ्न् – जीवन सहि र सकारात्मक सोच हो । सुशीला कहिलेकाही बानियाँटार अग्लो डाँडामा उक्लेर उपत्यकातिर नजर लगाउँछिन । काठमाडौंलाई पाइलापाइला जोखिम सहिरहेको शहर देख्छिन । र, यहीँ भावलाई उनी काव्यमा व्यक्त गर्छिन ।
कतिपय कवितामा उनको जीवन भोगाइ पनि आएका छन् ।
कविता प्रायः अभिधा होइन , लाक्षणिक अर्थमा कविताहरूको क्राफ्ट ( संरचना ) बन्छ । सुशीलाका कविताले निश्चय पनि जीवनको खोजी गर्छन् ।
साठी लाख युवा विदेशिएका छन्
जिन्दगी यात्रा जस्तो लाग्छ
हरेक दिन बाकसमा शव आउँछ
जिन्दगी जन्मेर मर्ने जात्रा जस्तो लाग्छ
( जिन्दगी यात्रा कि जात्रा , गोरखाली गुराँस पेज १४)
खाडीका मुलकमा जोखिमपूर्ण श्रम गर्नुपर्ने बाध्यता नेपालीजनको साझा बाध्यता हो । सुशीला जस्ता कविहरूलाई जिन्दगी यो दुरूह यात्रा मर्ने जात्रा जस्तो लागेको छ । यो अभिव्यक्ति बडो साहित्यिक काव्यिक लाग्छ ।
माटोको माया भनेको
आमाको काख हो
आमाको काख भनेको
लाखलाख हो
लाख छोडेर विदेश किन जाने ?
( विदेश किन जाने ? गोरखाली गुराँस पेज २०)
समग्रमा भन्दा सुशीला कविताहरूमा मानव मनका गहिराईमा पुगेर संवेदनालाई सार्थक रूपमा प्रस्तुत गरिएको छ । ती काव्यिक भावले पाठक हृदयलाई छुन्छ पनि ।
कविता संग्रहका निम्ति सुशीला ढकाल अधिकारीलाई बधाई र शुभकामना ।
0 comments
Write Down Your Responses