काठमाडौं । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ शनिबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएको थियो ।
समसामयिक चित्रकला÷मूर्तिकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट सुरु गरिएको प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीय स्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिने गरी कार्यक्रमसहित प्रदर्शनीको आयोजना गरिएको हो ।
यसले नेपाली कलालाई स्थानीय स्तरबाट केन्द्र हुँदै विश्वमा पुग्नका लागि महत्वपूर्ण सहयोग मिलेको अनुभव गरेका छौं ।’ कुलपति हार्तम्छालीले ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ मा पुरस्कृत, सहयोग र सहकार्य गर्ने सम्पूर्णलाई बधाई दिँदै प्रतिष्ठानले आगामी दिनमा अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलार्ई प्राथमिकता दिने बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकतालाई चिनाउन सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदर्शनी समय सापेक्षित रूपमा अघि बढेको छ । नेपालका रैथाने, मौलिक कला, शिल्प–ज्ञानलाई मूलधारमा ल्याई अन्तर्राष्ट्रियकरण गर्न सफल भएको छ ।
सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गरी त्यसबाट छनोट भएका कलाकृति समेटेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ आयोजना गरिएकाले यसले प्रतिभाको पहिचान गर्न सहज भएको छ । साथै नेपाली ललितकलाको अवस्था र गर्नुपर्ने कार्यका बारेमा समेत नजिकबाट नियाल्न सहज भएको छ ।’
करिब ३० हजारले अवलोकन गरेको प्रदर्शनीको मुख्य ध्येय मौलिकताको जर्गेना, रोजगारीको सिर्जना र अर्थतन्त्रमा योगदान दिने रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।
उहाँले प्रदर्शनीले मौलिकताको जर्गेनासँगै नेपाली सभ्यता र सांस्कृतिक वैभवतालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, राजनैतिक तथा सभ्यताको उजागर गर्न प्रदर्शनी निकै सफल भएको छ ।’ सदस्य सचिव थुम्केलीले यस वर्षको प्रदर्शनीमा नेपालका सीमान्तकृत, अल्पसङ्ख्यक समुदायदेखि लोपोन्मुख तथा प्रचलित विविध विधाका कलाकृति समेटिएको बताउनुभयो ।
प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवर्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै÷गराउँदै आएको छ । राष्ट्रिय ललितकला प्रदर्शनी सातै प्रदेशका विभिन्न विधाका प्रतिभावान् सिर्जनशील कलाकारहरूलाई एउटै थलोमा सहभागी गराई नेपाली कलाको संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्य बोकेको राष्ट्रकै ठुलो ललितकला प्रदर्शनी एक महोत्सव पनि हो ।
मौलिकताको जगेर्ना, कलाको समृद्धि, रोजगारीको सिर्जना र देशको सांस्कृतिक अर्थतन्त्रमा समेत योगदान पु¥याउने यस प्रदर्शनीलाई सम्पूूर्ण कलाकार, कलामर्मज्ञ, कला सरोकारी एवं कलापारखी व्यक्तिव्यक्तित्वहरूले महोत्सवका रूपमा मनाउँदै आइरहेका छन् ।
प्राज्ञसभा सदस्य तथा प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले २०८० र २०८१ को प्रदर्शनी ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भावमा समर्पित रहेको र अहिलेको प्रदर्शनी पनि सो भावनालाई आत्मसाथ गर्दै गरिएको बताउनुभयो । उहाँले सामाजिक रूपान्तरणमा कलाकारको भूमिका के हुन सक्छ र समाज रूपान्तरण हुँदै गर्दा के साँच्चै कलाकार पनि परिवर्तन हुन सके त भन्ने प्रश्नको जवाफ खोज्ने भावमा रहेर यो प्रदर्शनीको क्युरेटिङ गरिएको धारणा राख्नुभयो । प्रदर्शनीमा कुटनीतिक, व्यवसायिकलगायतका क्षेत्रको उपस्थितिले निकै उत्साह भरेको शाक्यले बताउनुभयो ।
प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८१ पुस ०७ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो ।
फागुन ०४ गतेदेखि चैत ०१ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ कर्णालीको जन नमूना मावि (फागुन ०६–१० गतेसम्म सुर्खेत), कोसीको नेपाल तमु गुरुङ गुम्बा, बेलबारी (फागुन १६– फागुन २० गतेसम्म मोरङ), मधेसको मैथिली विकास कोष (फागुन २०– फागुन २४ गतेसम्म जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ( फागुन २६– चैत १ गतेसम्म नक्साल), गण्डकीको पोखरा आर्ट ग्यालरी (फागुन ०४–०८ गतेसम्म पोखरा), लुम्बिनीको रुपन्देही उद्योग सङ्घ (फागुन १०–१४ गतेसम्म बुटवल) र सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (फागुन ०८–१२ गतेसम्म धनगढी) मा सम्पन्न भएको थियो ।
यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामा (साइँला) लाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ ।
ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिएको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत कलाफोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर बिकलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिएका छ । यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरिएको छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर, परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट शुर्प नारायण शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाल, वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरिएको छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०÷३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान भने धनबहादुर श्रेष्ठ र सिर्जना तामाङ राईलाई प्रदान गरिएको छ ।
अघिल्लोवर्षबाट सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गंगाधर सारुलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को मूल्याङ्कन समितिमा प्रवीण श्रेष्ठ, डा. सीमा शर्मा शाह, राधेश्याम मुल्मी, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद ह्योजु, धर्मराज शाक्य, ताराप्रसाद ओझा, एरिना ताम्राकार, नवेन्द्र लिम्बू, रामनारायण महतो र प्रतिमा थकाली रहनुभएको थियो । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को लोगो २०८० मै (प्रतीक) चिन्ह प्राज्ञ एवम् कलाकार प्रदीप शाक्यले बनाउनुभएको हो । उहाँ प्रदर्शनीको क्युरेटरसमेत हुनुहुन्छ ।
प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान, सामाजिक विकास मन्त्रालय (कोसी प्रदेश), बेलबारी नगरपालिका, बेलबारी प्रज्ञा–प्रतिष्ठान, मैथिली विकास कोष, गण्डकी प्रज्ञा–प्रतिष्ठान, नेपाल व्यावसायिक कलाकार सङ्घ (रुपन्देही), बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, नेपाल कमर्सियल आस्टिस्ट सङ्घ (सुर्खेत), जननमुना माध्यमिक विद्यालय (वीरेन्द्रनगर, सुर्खेत), थारु कल्याणकारिणी सभा, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, संवाद फाउन्डेसनले सहकार्य तथा मिडिया पार्टनरका रूपमा राष्ट्रिय फोटो पत्रकार समूह र प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको थियो ।
0 comments
Write Down Your Responses