Powered by Blogger.
तुलना हुँदैन विनोद मिश्र र बिप्लवबीच

भारतीय कम्युनिष्ट पार्टी (माले) का स्वर्गीय महासचिव बिनोद मिश्र र नेकपा माओवादीका महामन्त्री नेत्रबिक्रम चन्द बिप्लवबीच तुलना हुने कमै विषय छन् । तर, दुवैबीच कम्युनिष्ट हुनुको समानता छ । ठूलो फरक के छ भने, मिश्रले चारु मजुमदारको व्यक्ति हत्याको विरासत भएको पार्टीलाई १९९२/०९३ मा खुला राजनीतिमा ल्याए भने बिप्लव खुला राजनीतिले दिएको अवसरलाई अस्वीकार गर्दै हिंसाको बाटोमा फर्कने योजना बनाउँदै छन् ।

माओवादीकै मागअनुसार बनेको संविधानसभाले संविधान निर्माणलाई अन्तिम चरणमा पुर्याउँदै गरेको बेला ८ साउनमा बिप्लवले नेपाल बन्द गरे । तर, नेपालको लिपुलेकबारे भारत र चीनले सम्झौता गरेको विषयलाई लिएर गरिएको बन्दप्रति अधिकांश सहमत छैनन् । बन्दले मुलुकमा कति क्षति पुर्यायो, काम गरेर खाने कतिलाई पीडित बनायो जस्ता बिषय छाड्ने हो भने पनि यस्तो विषय कुटनीतिक तरिकाले समाधान गर्नुपर्नेमा सडकको विषय बनाएकोमा धेरैको असहमति छ । तर, बिप्लवका नेता तथा कार्यकर्ता नेपाललाई ‘बन्द’ गर्न सकेकोमा खुसी मनाइरहेका छन् ।

योभन्दा महत्वपूर्ण कुरा, बिप्लव कुनै बहानामा संविधान निर्माणलाई अवरोध गर्न चाहन्छन् । ‘जनसेना, जनसत्ता’को कुरा उठाउँदै उनी पुनः कुनै प्रकारको हिंसा मच्चाउन चाहन्छन् । खुला राजनीतिमार्फत जनतालाई आफ्नो विचारमा सहमत गराउने बाटोमा उनको रुची छैन, बन्दुक पड्काएर एकलौटी सत्ता हत्याउने लोभ मात्र छ, जसलाई उनी ‘क्रान्ति’ भन्छन् । जमिनको उपयोग कसरी गर्ने, औद्योगिकरण कसरी हुनेछ, बेरोजगारी कसरी अन्त्य गर्न सकिन्छ, गरिबी कसरी कम हुन्छ, जनतालाई साँचो अर्थमा शासनमा कसरी सहभागी गराउने, मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने बाटो कस्तो हुनेछ, समाजवादी प्रणालीमा चीनले लिएको बाटो ठिक हो कि होइन जस्ता विषयमा उनीसँग चित्त बुझ्दो उत्तर छैन, त्यस्ता विषयमा उनले टाउको दुखाउन चाहेको पनि देखिँदैन । क्रान्तिको नारा जप्दै पुष्पकमल दाहालले जसरी नै शक्ति हात पार्ने उदेश्य मात्र उनको देखिन्छ ।

दाहाल, बाबुराम भट्टराई र मोहन बैद्यले जनता र क्रान्तिलाई धोका दिएकोमा मात्र असन्तुष्टि वा विरोध हुन्थ्यो भने इमानदारीपूर्वक जनतालाई साथ लिएर अघि बढ्ने बाटो उनले रोज्न सक्थे । दाहालको जस्तो दोहोरो चरित्र, भट्टराईको जस्तो कार्यकर्ता र जनतासग घुलमिल नहुने स्वभाव र बैद्यको जस्तो निस्क्रियताको साटो प्रष्ट बोली र काम, जनता र कार्यकर्तासँग घुलमिल र सक्रियता देखाएर विकल्प बन्न सक्थे । तर, उनी हिंसाबाट शक्ति हत्याउने तथा बुद्धि र मिहिनेत कम लगाउनुपर्ने बाटो रोज्दैछन् ।
-सुवास देवकोटा

-सुवास देवकोटा

बिप्लवसँग २०४५ सालमा काठमाडौँ हाँडिगाउँको एउटा कोठामा मेरो भेट भएको थियो, जतिबेला उनी अहिलेको माओवादीको पूर्वरुप नेकपा मसालको विद्यार्थी कार्यकर्ता थिए, तर मलाई उनको नाम सम्झना थिएन । त्यसपछि २०६२ साल असोजमा रोल्पा जाँदा उनको नाम सुनेँ, उनी त्यति बेला माओवादीको त्यहाको इन्चार्ज रहेछन् । त्यही वर्षको पुसमा रोल्पा जाँदा उनीसँग भेट्ने मात्र नभएर केही दिन सँगै हिँड्ने मौका मिल्यो । रुकुमको रुकुमकोटमा भेट्दा उनी खुला र कुरा स्पष्टरुपमा राख्न सक्ने नेता लाग्यो । त्यसपछि माओवादी खुला भएपछि काठमाडौँमा पनि उनीसँग केही पटक भयो । माओवादीका अन्य नेताको तामझाम देखेको बेला कुलेश्वरको उनको डेरामा देखिएको सादगीबाट म धेरै प्रभावित भएँ । तर, यी कुरा अर्कै हुन् भने उनको गलत राजनीति अर्कै । समाजको अगुवाई गर्ने माध्यम राजनीतिलाई हिंसात्मक बनाउने बाटो जो सुकैले अपनाओस् , २१ औँ शताब्दीमा किमार्थ स्विकार्य हुनसक्दैन ।

विनोद मिश्रसँग चाहिँ २०४९ साल माघमा नेकपा एमालेको काठमाडौँमा भएको पाचौँ महाधिवेशनको उदघाटन समारोहमा पहिलो र अन्तिम भेट भएको थियो । उनको नाम भने त्यसअघि नै मैले सुनेको थिएँ । नक्सलवादी आन्दोलनका प्रणेता चारु मजुमदारको जेलमा मृत्यु भएपछि महासचिव बनेका सुब्रत दत्त ‘जौहर’ प्रहरीसँगको भिडन्तमा मारिएपछि महासचिव बनेका मिश्र लामो समय भारतीय सत्ताका निम्ति टाउको दुखाइ बनेका थिए । पञ्चायतकालमा तत्कालीन नेकपा मालेसँग भाइचारा सम्बन्ध रहेका कारण पनि मेरो जानकारीमा उनको नाम आएको थियो । २०४९ मै भाकपा मालेको कलकत्तामा भएको खुला महाधिवेशनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले सम्बोधन गरेको थिए । संयोगवश भण्डारी कलकत्ताबाट फर्कँदा त्रिभुवन विमानस्थलमा नेपालीपत्र साप्ताहिकको तर्फबाट समाचार लिन म पुगेको थिएँ । र, नेपालीपत्रले ‘नक्सलवादी आन्दोलनको उपादयेता अझै बाँकी छ’ भन्ने भण्डारीको भनाइलाई प्रमुख समाचार बनाएको थियो ।

२०५० जेठ ३ गते भण्डारीको निधन भएपछि शवयात्रामा भाग लिन मिश्र नेपाल आएका थिए । तर, त्यसको झण्डै चार वर्षपछि हृदयघातबाट मिश्रको पनि निधन भयो । उनको शवयात्रामा भाग लिन त्यसबेला एमालेबाट तत्कालीन महासचिव माधवकुमार नेपाल र फुटेको मालेका नेता सिपी मैनाली पटना पुगेका थिए । पत्रकारको हिसाबले एमालेको पाचौँ महाधिवेशनको मञ्चमा बस्दा तस्बिर खिच्ने अनुरोधसँगै मैले बिहारमा तपाईंहरुको कुन क्षेत्रमा राम्रो प्रभाव छ भन्ने प्रश्न सोध्न भ्याएको थिएँ । उनले रक्सौल क्षेत्रमा पनि आफ्नो पार्टीको प्रभाव रहेको बताएका थिए । त्यस बेला नेपाली पत्रिकामा छापिएका उनका अन्तर्वार्ताबाट उनी परिपक्क राजनीतिज्ञ र जुनसुकै विषयलाई दार्शनिक ढंगले जवाफ दिन सक्ने नेता भएको लागेको थियो ।

मिश्रले खुला राजनीतिमा आउन सत्तासँग कुनै शर्त राखेनन्, भारतमा सत्ता निकै बलियो रहेकोले सायद उनीसँग त्यस्तो मौका थिएन । जनतालाई आफ्नो विचारमा सहमत गराउन सक्ने, संगठित गर्न सक्ने र बहुमत जनताको समर्थनमा सरकारसमेत बनाउन सक्ने अवसर हुँदाहुँदै हिंसाको बाटोमा हिँड्नु तार्किक नहुने महसुस गरेर उनले हतियारवद्ध कार्यकर्तालाई हतियार छोडाउँदै पार्टीलाई आफ्नो निर्णयमा खुला बनाएका थिए । तर, खुला राजनीतिमा पार्टीलाई धेरै समयमा हिँडाउन नपाउँदै उनको निधन भयो ।

उनको निधनपछि युवा नेता दिपाङ्कर भट्टाचार्य महासचिव बनेका छन् । भारतीय राजनीतिमा उक्त पार्टीको खासै प्रभाव नदेखिएपनि बेला बेला समाचारहरुमा भने आएको देखिन्छ । गतवर्षको लोकसभा निर्वाचनमा बनारसमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध अरविन्द केजरीवाललाई उनको पार्टीले सहयोग गरेको थियो भने दिल्लीको विधानसभामा पनि केजरीवालको पार्टीलाई नै सघाएको थियो । भारतीय राजनीतिमा मिश्रको पार्टीको प्रभाव अहिले निर्णायक नदेखिएपनि हिंसाको राजनीति त्यागेर उनले हजारौँलाई मृत्यु, अंगभंग र बिस्थापित हुनबाट जोगाएकोमा भने राजनीतिज्ञ र राजनीतिक विश्लेषक अहिले पनि सम्झिरहन्छन् । समाजलाई आफ्नो विचार अनुसार, आफ्नो संगठनको माध्यमबाट अगुवाई गर्न नसक्नु अर्कै कुरा होला, तर त्यसको आक्रोशमा हिंशा मच्चाउनु, निर्दोष हरुको हत्या गर्नु, अंगभंग बनाउनु र बिस्थापित गराउनु अपराध हो । धेरैपछि, पुराना एल्बम हेर्दा बिनोद मिश्रसँगको तस्बिरले मिश्रसँग बिप्लवलाई तुलना गर्न मन लगायो, जबकि उनीहरुबीचको तुलना कतैबाट गर्न मिल्दैन ।

0 comments

Write Down Your Responses

pfizer vaccine