Powered by Blogger.
गणेश थापाले लोकतान्त्रिक चरित्र देखाएनन्ः गृहमन्त्री

संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्ने क्रममा शान्ति सुरक्षाको संयोजन गृह मन्त्रालयले गरेको हो । विकट ठाउँमा हेलिकोप्टर र पहुँच भएका ठाउँमा हवाईजहाज वा गाडीको व्यवस्थापन गृहमन्त्रालयले गरेको हो । स्थानीय क्षेत्रमा सिडिओको संयोजकत्वमा एकीकृत सुरक्षाको परिचालन भएको थियो भने गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा सेल बनाइएको थियो ।

कतिपय दल र समुहले सुझाव संकलन कार्यलाई अवरुद्ध पार्ने प्रयास गरेको विषय सर्वविदितै छ । केही दलले यही संविधानसभाबाट नै सुझाव संकलन बहिस्कारको घोषणा गरेका थिए । त्यस क्रममा जनताको उत्साहजनक सहभागिता भएको छ । लाखौँ जनताले आफैँ उपस्थित भएर आफ्ना सुझाव दिएका छन् । २२ जिल्लामा शान्तिपूर्ण विरोधसहित सुझाव संकलन कार्य भएको छ । शान्तिपूर्ण विरोध लोकतन्त्रको सौन्दर्य नै हो । तर मकवानपुर, बारा, सप्तरीसहितका केही जिल्लामा शान्तिपूर्ण क्रियाकलाप भएनन् । सुझाव संकलन कार्यक्रममा शान्तिपूर्ण विरोधको साटो पुरै सुझाव संकलन कार्य नै भाँड्ने प्रयास भएको थियो ।

मकवानपुरमा साउन ५ गते सुझाव संकलन प्रक्रियामा बिहान एउटा समूहले अवरोधको प्रयास गरेको थियो, त्यो प्रयास प्रहरीले असफल पारेको थियो । त्यसपछि राप्रपा नेपालका कार्यकर्ताले पनि सुझाव संकलन भाँड्ने प्रयास गरेका थिए । नेपाल प्रहरीका १७ र सशस्त्रका दुइ घटनामा घाइते भएका छन् । त्यहीक्रममा राप्रपा नेपालका सभासद् गणेश थापा घाइते हुन पुगे । संविधानमा आफ्नो सुझाव सभासद्ले राख्ने क्रम जारी नै छ ।

आफ्नो मत राख्दा अरुको पनि मत राख्न दिनुपर्ने लोकतन्त्रको अनिवार्य शर्त हो । अहिले संकलन गरिएको जनमत हामी सबैको मत हो । मकवानपुरमा पनि सबैको मत राख्न दिनकै लागि राप्रपा नेपालको प्रवेशलाई स्वीकृति दिइएको थियो । तथापि उहाँहरुका व्यवहार शान्तिपूर्ण र लोकतान्त्रिक चरित्रअनुरुप भएनन् । फलस्वरुप सभासद् गणेश थापासहित प्रहरीहरु घाइते भएका छन् । यसप्रति म दुःख व्यक्त गर्दछु । यस क्रममा सबैका व्यवहार लोकतान्त्रिक मूल्यअनुरुप भएनन् ।

0 comments

Write Down Your Responses