Powered by Blogger.
के गर्दैछन् ‘कथा मिठो सारंगी’का दिलु गन्धर्व ?

समय थियो कुनैबेला, दिलु भन्ने एउटा पात्र जब रेडियो सेटमा आउँथ्यो, सबै कान ठाडा पार्थे । अनुहारले नचिने पनि नामले चिन्ने धेरै छन् उनलाई । उनै दिलु अर्थात् प्रकाश खड्का गन्धर्ब ।

बिबिसी मिडिया एक्सनले तयार पारेर विभिन्न एफएममा बजाउने नाटक ‘कथा मिठो सारंगी’ का महत्वपूर्ण पात्र हुन् दिलु । कथा मिठो सारंगीमा उनले जसरी अभिनय र सुत्राधारको भूमिका निभाए । उनको जीवन पनि एउटा अभिनय भन्दा कम छैन । झट्ट हेर्दा कम बोल्ने र साधारण देखिने उनी नेपलिज डट ओआरजीसँग यसरी खुले ।

पुख्र्यौली घर गुल्मीको मुसिकोट भए पनि बाल्यकाल पोखरा बित्यो उनको । घर पोखरा भए पनि अहिले काठमाडौँ जडिबुटिमा बस्छन् । ‘२७ वर्षअघि आमाले अन्तरजातीय विवाह गर्नुभयो,’ उनले भने, ‘त्यो बेला आफू गन्धर्बको छोरी तर खड्कासँग विवाह गर्नु भयो ।’ ‘हाम्रो समाजमा बाबुको जातबाट थर दिने चलन छ । तर मेरो कथा अर्को छ,’  उनले भने, ‘नागरिकता पनि आमाको थरबाट लिएको छु ।’

अहिलेको समाज अन्तरजातीय विवाह पूर्णरुपमा स्वीकार्ने भइसकेको छैन । २७ वर्ष अघि कसरी स्वीकार भयो होला र ? समाज र जातकै कारण बाबुआमाको सम्बन्ध टुटेको उनले सुनाए । त्यसपछिका दिन उनको मामा घरमै बित्यो । ‘पछि आमाले पनि अर्को विवाह गर्नुभयो,’ उनले भने, ‘मभने मामाघरमा हजुरआमासँग नै बसेँ ।’ ‘गाउँमा सारंगी रेटेर हजुरआमा पाल्थेँ,’ उनले भने, ‘त्योबेला मेरी आमाले मेरो खासै मतलब गर्नु भएन, मैले पनि गरिनँ ।’

बोल्दा बीचबीचमा राम्रो अँग्रजी बोल्ने उनले भने, ‘मैले पढेको छैन ।’ उनी पाँच कक्षा पनि पास छैनन् । उनको उत्तर र उनले बोल्ने राम्रो अँग्रेजीले नपढेको भनेर पत्याउनै सकिन्न । ‘एउटा संजोग भनुँ कि के भनुँ, म सानैदेखि सारंगी रेटेर हजुरआमा पाल्थेँ,’ उनले भने, ‘पोखराको अलि गाउँतिर बस्थेँ । उहाँहरुलाई अभिनय पनि गर्न सक्ने र सारंगी पनि बजाउन सक्ने मान्छे चाहिएको रहेछ ।’ सुनाए, ‘उहाँहरु घुम्दै म बस्नेतिर पुग्नु भएको रहेछ । म बेलाबेला जाने पसलमा उहाँहरु पुग्नु भएको रहेछ ।’ अघिल्लो दिन रेडियो बनाइदिन लगेको थिएँ । ‘सानैदेखि अभिनय र संगीतमा रुची भएकाले रेडियो सुन्थेँ,’ उनले भने, ‘कसैको बिग्रेको रेडियो हल्काफुल्का बनाउँथिएँ पनि ।’ त्यसैक्रममा उहाँहरुसँग भेट भएको र बिबिसीमा जोडिएको उनले सुनाए ।

‘बाइक त नदेखेको मलाई कलंकीमा बिबिसीको कार लिन आउँदा म त छक्क परेँ,’ उनले सुनाए, ‘काठमाडौँ पहिलोपटक आउँदा अनुभव कारयात्रासँगै अँग्रेजी भाषा बोल्नेमा पनि जोडियो ।’ उनले विदेशी महिलालाई नेपाली सिकाउने र आफूले अँग्रेजी बोल्न सिकेको बताए । ‘धेरै वर्षसम्म भेट र कुराकानी नभएकी आमालाई पनि भेटेँ,’ उनले भने, ‘उहाँले पनि फोन गर्नुभयो ।’ बिबिसीमा नजोडिएको भए  कहाँ हुन्थेँ भन्ने बारे उनी अनविज्ञता जनाउँछन् । भन्छन्, ‘नाम र दाम पनि अलिअलि कमाएँ ।’

‘प्रेम भयो नि, कसैलाई निकै माया गर्थेँ तर प्रेम भनेको यस्तै रहेछ,’  गन्धर्बले भने, ‘योबारे धेरै कुरा नगरौँ ।’ उनी जस्तो छन्, त्यसैमा खुशी छन् । ‘अहिले पनि पढौँजस्तो लाग्छ,’ भने, ‘तर नपढेकाले पनि मौका पाए केही गर्न सक्छन है ।’कथा मिठो सारंगीबाट निकै चर्चा बटुलेका दिलु गन्धर्ब अर्थात् प्रकाश अहिले संगीत सिक्दैछन् । बेलाबखत नाटकमा काम गर्छन् । काठमाडौँको भिडभाड देखेर बोर लागे उनी सारंगी बोकेर गाउँ हानिन्छन् र गाउँलेलाई गीत सुनाउँछन् पनि ।

0 comments

Write Down Your Responses