Powered by Blogger.
हार्ने पक्कापछि माइन्युट लुटेर निर्वाचनमा अवरोध



पालुङ, ५ भदौ । 
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा शनिबार  नगर महिला सञ्जालको निर्वाचन भाँडिएको छ । नेकपा (एमाले) पक्षधर उमेद्वारले जित्ने पक्का भएपछि अन्य दलका कार्यकर्ता मिलेर निर्वाचन भाँडेको एमाललेको आरोप छ । 

अध्यक्ष लगायत सबै पदाधिकारी तथा सदस्यहरुमा एमालेले एकलौटी जित्ने देखेपछि एमाओवादी, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका स्थानीय नेताहरु एक ठाँउ भएर कुनै हालतमा चुनाव हुन नदिने रणनीतिमा लागेका थिए । उमेद्वारी दर्ता गरेर निर्वाचन सुरु हुन लागेपछि एमाओवादी कार्यकर्ताहरुले मतपेटीका र माइन्युट लुटेर भागेपछि निर्वाचन हुन नसकेको र वाध्य भएर स्थगित गर्नुपरेको नगर कार्यालयले जनाएको छ । निर्वाचन सुरु हुनै लाग्दा ‘नामावली एकफेर हेरौं’ भन्दै एमाओवादी कार्यकर्ता सकुन्तला गोपाली माइन्युट बोकेर भागेकी थिइन् ।

एमालले सञ्जालको अध्यक्षमा नगर कमिटी सदस्य कल्पना बलामीलाई उमेद्वार बनाएको थियो भने सो पदमा एमाओवादीका तर्फबाट उर्मीला भट्ट र मुनी तामाङले उमेद्वारी दर्ता गराएका थिए । त्यस्तै उपाध्यक्षमा एमालले ठूली गोले र राष्ट्रिय जनमोर्चाले गिता कार्कीलाई उठाएको थियो । सचिवमा नेपाली काँग्रेसले राममाया केसी, एमाओवादीले सकुन्तला गोपाली र एमालले तुलसा विष्टलाई उठाएको थियो । ६० मतदाता मध्ये ४५ आफ्नो पक्षमा भएको आँकलन गर्दै एमालले अध्यक्षबाहेकमा  पद छोडेर सहमति गर्न सकिने जनाएको थियो भने अन्य ३ दल मिलेर कुनै हालतमा एमालेलाई सहमतिमा अध्यक्ष हुन पनि नदिने र निर्वाचन पनि हुन नदिने योजना बनाएका थिए । अन्तत एमाओवादीका नगर इन्चार्ज अरुण रायमाझी, काँग्रेसका नगर इकाइ अध्यक्ष योगेन्द्रमान श्रेष्ठ, एमाओवादी कार्यकर्ता इन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट ‘फिल्ड’ मै बसेर  नगरस्तरीय महिला सञ्जाल गठन गर्ने निर्वाचन बिथोल्ने  प्रयत्न गरेका थिए ।

नेतृत्व तथा पदाधिकारी चयन प्रकृया सर्वसम्मत हुन नसकेपछि चुनावी प्रकृया चलिरहँदा उनीहरुले माइन्युट र मतपत्र खोसेरै बिथोलेका हुन् । थाहा नगरका सबै वडाहरुमा वडा स्तरीय महिला सञ्जाल गठन गरी शनिबार नगरस्तरीय महिला सञ्जाल गठन गरिन लागेको थियो ।  अध्यक्ष पदमा एनेकपा माओबादी निकट उर्मिला भट्टले नेकपा एमाले निकट कल्पना बलामीलाई समर्थन गरेकी थिइन्  तर एमाओवादीकै तामाङलाई उठाएर सहमतिको प्रयास बिथोलिएको थियो । सहमति जुट्न नसकेपछि निर्वाचन प्रकृया सुरु गरिएको बेला कागजात लुटिएपछि निर्वाचन स्थगित गर्न वाध्य भएको  निर्वाचन समितिका संयोजक दशरथ गुरागाईंले बताए ।

निर्वाचन प्रकृयामा जाँदा पराजित हुने निश्चित देखेपछि सकुन्तला गोपाली सहित एक समूहले निर्वाचन समितिसँग रहेको माइन्युट र मतदानका लागि तयार पारिएको मतपत्र खोसेर लगेको निर्वाचन समितिका सदस्यहरुले बताएका छन् । सुरुमा राजनीतिक दलहरुबीच निर्वाचनको प्रकृयाबाट नभई सर्वसम्मतको प्रकृया अपनाउने सहमति भएको थियो । तर एमालले नछोड्ने अनि हराउन पनि  नसक्ने  भएपछि ३ दल एमालेविरुद्ध एकजुट भएका थिए । प्रत्येक वडाबाट अध्यक्षसहित ४ जना प्रतिनिधि छनौट गरी शनिबार ६० जना महिला प्रतिनिधिहरुको भेलाले संजाल गठन गर्न लागेका थिए । निर्वाचन बिथोलिएपछि स्थानिय महिलाहरुले ‘गुण्डागर्दी मुर्दावाद’ भन्दै नारा लगाएर नगर परिक्रमा गरेका थिए भने नगर कार्यालय समेत घेराउ गरेका थिए ।

पराजयको डरले लोकतान्त्रिक संस्कार स्वीकार्न नसक्ने व्यवहार प्रर्दशन भएको भन्दै एमालले उक्त घटनाको निन्दा गरेको छ । नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकालले सञ्जाल गठनको बिथोलिएको प्रक्रिया विधिसम्मत ढंगले निरुपण नगरेसम्म एमालेले नगरका हरेक गतिविधीमा सहभागिता नजनाउने र पेलेर जान खोजे ‘त्यसको मूल्य महंगो हुने’ भन्दै चेतावनी दिएका छन् । –नेप्लिज डट ओआरजीबाट

0 comments

Write Down Your Responses