Powered by Blogger.
लोप हुँदैछ कुन्छालका परम्परागत घरबुना


कुन्छाल (मकवानपुर), भदौ ३१ गते ।

ऐतिहासिक गोपाली जातीका घरबुना कपडाको प्रचलन हराउँदै गएको छ । परम्परागत रुपमा खेसका कपडा उत्पादन गर्न प्रयोग हुने तान र चर्खाका आवाज कुन्छालका घरहरुमा सुन्न सकिन्न आजकल । मकवानपुर जिल्लाको उत्तरी भेग शिखरकोट, न्हुलगाउँ, टौखेल, पापुङ्ग, कुन्छाल, गहते र कुलगाउँका बासिन्दा कपडा बुन्न भन्दा अन्य काममा व्यस्त हुन थालेपछि घरबुना कपडाको परम्परा लोप हुन लागेको हो । युवा पुस्ताको आकर्षण घरबुना कपडामा हुन छाडेपछि जातिय पहिचान बोकेको खेस इतिहासमा सिमित हुने अवस्थामा पुगेको छ ।

ऐतिहासिक गोपालवंशका जाति मानिने गोपालीको पहिचान र आम्दानीको स्रोत रहेको कपडा बुन्ने पेशामा एक दशक यता कोही पनि लागेका छैनन् । खेसको हाकु पटासीको ठाउँ सुतीका कपडाले लिन थालेका छन् । केही वर्ष अगाडी सम्म हाकुपटासीमा पुजा आजा देखी पँधेरामा पुग्ने महिलाहरु  आधुनिकता संगै कुर्ता सुरुवाल र सुतीका साडीमा देखिन थालेका छन् । बज्रवाराही, पापुङका प्रमोद जोशी आधुनिकता सँगै परम्परागत कपडा बुन्ने पेशा र कपडा हराउँदै गएको बताउनुहुन्छ । १५ बर्ष अघिसम्म मेशिनबाट बुनेका कपडा चलेका थिएनन कुन्छालमा । त्यसबेला मकवानपुरको उत्तरी भेगका करिब एक हजार घरधुरीका महिलाहरु दिउँसो चर्खा र तान चलाएर कपडा बुन्ने गर्थे । त्यसैले धेरैको घरको जीविका चल्थ्यो । महिलाको कमाइ हुने भएकाले परिवारमा महिलाको स्थान पनि महत्वको हुन्थ्यो । विस्तारै बजारमा माग हुन छाडेपछि पेशा सँगै घर र समाजमा महिलाको आर्थिक क्षेत्रमा हुने सहभागितामा कमी आएको छ । बज्रवाराही कुन्छालका रुपचन्द्र गोपाली ‘घरमा श्रीमतीले बुनेको कपडा बेच्न श्रीमान गाउँ गाउँ डुल्ने कुरा अहिले कथा बनेको’ बताउनुहुन्छ । 

थाहा नगर पालिका संयुक्त वडा केन्द्रका प्रमुख सुकदेब बिंडारी चर्खा र तान लाई घरघरमै थन्काएर तरकारी खेती गरि बस्दा परम्परागत पेशा लोप भएकोमा चिन्तित हुनुहुन्छ । गाउँलेको व्यावसाय मात्र नभएर पर्यटनको सम्भावना पनि रहेको घरबुनाको परम्परा जोगाउन नगरले योजना सञ्चालन गर्न लागको बताउनुहुन्छ । पहिला पहिला परम्परागत तान र कपडा बुनेको हेर्न छिमेकी जिल्ला देखी मानिसहरु आउने गरेका थिए । 

केही वर्ष पहिले जीविकाको माध्यम बनेको तान र घरबुनाको ऐतिहासिक र पर्यटकीय महत्व बुझेर स्थानिय गोपाली युवाहरु यसको संरक्षणमा लागेका छन् । जातिय पहिचानको कुरा भएकाले घरबुना कपडा र तान बुन्ने प्रचलनलाई जोगाउन अभियान चलाउन लागिएको जनजातिय अध्ययन समुहकी अध्यक्ष मिना महर्जनले बताउनुभयो । पर्यटकलाई लक्षित गरि यहाँको घरबुना उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्य पनि स्थानिय युवाहरुले राखेका छन् । त्यसका लागि घरबुनाको तालिम सञ्चालन गरिएको महर्जनले जानकारी दिनुभयो । 


परम्परागत रुपमा गोपाली महिलाहरुको विवाहमा तीन धार्नी धागो दाईजो दिने प्रचलन थियो । उक्त धागोलाई स्थानिय भाषामा “मादाँ” अर्थात मूल पँुजी भन्ने गरिन्छ । सोही पँुजीको आधारमा पेवा बनाउने र घरखर्च चलाउने भएकाले यसले पारिवारिक रुपमा आर्थिक उपार्जनको परम्परा बसाएको थियो भन्नुहुन्छ स्थानिय बुद्धिजीवी शसीधर सुवेदी । 




तस्बिरः रुपचन्द्र गोपालीको फेसबुकबाट


0 comments

Write Down Your Responses