Powered by Blogger.
उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते


काठमाडौँ, १० कात्तिक । उपराष्ट्रपति पदको निर्वाचन कात्तिक १४ गते शनिबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको थियो । 


सभामुख ओनसरी घर्तीले विशेष कारणवश उपराष्ट्रपति पदको निर्वाचन १४ गते शनिबार बिहान ११ बजे गर्ने गरी मिति र समय संशोधन गर्न तोक्नुभएको व्यवस्थापिका–संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ । 


त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २ः३० बजे मतगणना, ४ः४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ । 

0 comments

Write Down Your Responses