Powered by Blogger.
गाउँको चमक फेर्दै तसरकी चमेली वाइवा


बज्रवाराही (मकवानपुर), कात्तिक १७ गते । आँट र साहस भयो भने के हुँदैन ? मकवानपुर जिल्ला थाहा नगरपालिका बज्रबाराही तसरकी चमेली बाइवालाई देख्नेहरुले भन्ने गर्छन् । 

हुन पनि आँट र साहसकी प्रतिमूर्ति बन्नुभएको छ उहाँ । आँट र हिम्मत गर्ने हो भने महिला पनि कम छैनन् भन्ने उदाहरण पेश गर्नु भएको छ वाइवाले । समाजमा महिला पनि कम छैनन् भन्ने प्रमाण पेस गर्न उहाँलाई १५ वर्ष लाग्यो । अन्तत अथक मेहनत र शिक्षाको ज्योतिले उहाँलाई उदाहरण बनाएको छ । पहिलेकी चमेली अहिले सबैकी चमेली दिदी बन्नुभएको छ ।

१५ वर्ष अघिसम्म कालो अक्षर भैंसी बराबर थियो उहाँका लागि तर अहिले अरुलाई अक्षर चिनाउने बन्नुभएको छ । खोलाको कारण विद्यालय पढ्न नपाएका बालबालिकालाई विद्यालय सम्म पु¥याउन सक्रिय भएर तसर खोलामा पुल निर्माण गर्नु भयो । तामाङ असाक्षर महिला भएर पनि उहाँले अभिभावकहरुका बीच शैक्षिक अभियान नै चलाउनुभयो । जसले गर्दा तसरका सबै परिवारका विद्यालय जाने भएका छन् ।

साँवा अक्षर चिन्न प्रौढ कक्षा धाउने उहाँले साना बालबालिका मात्र होइन प्रौढ उमेरकालाई पनि प्रौढ शिक्षाका कक्षामा जाने बनाउनु भएको छ । वाइवाले महिलालाई आर्थिक रुपमा सशक्त बनाउनका लागि महिला बचत अभियान चलाइरहनु भएको छ । वाइवा अहिले पाँच वटा वचत समूहको प्रमुख हुनुहुन्छ । महिला समुहहरुलाई एकीकृत गरी सुनाखरी तथा फलपूmल उत्पादक कृषक सहकारी स्थापना  गरेर उहाँ अहिले त्यसको पनि नेतृत्व गर्दै हुनुहुन्छ ।

फलफुल खेती गर्न अग्रसर गराएर उहाँले आफ्नो भेगका महिलालाई परिवारमा आर्थिक रुपमा आत्मनिर्भर बनाउनु भएको छ । उहाँको पहलले गाउँ र गाउँका महिलाको अवस्था कायापलट भएको बज्रबाराही गाविसका पूर्व अध्यक्ष चित्रबहादुर बलामी बताउनुहुन्छ ।

अहिले उहाँको पहलले गाउँको रुप नै फेरिएको छ । अहिले गाउँका कुनै पनि महिलालाई समस्या पर्दा अ‍ैचो पैचो गर्ने ठाउँ मिलेको छ चमेली दिदीको समुह । बिरामी पर्दा वा भैंसी किन्न पर्दा आर्थिक सहयोग लिन सजिलो भएको छ भन्छन तसरका महिला ।

१५ वर्षमै बिहे भएर पनि उहाँ सँग न त श्रीमान् छन् न छोराछोरी । छ त केबल दृढ आत्मविश्वास । त्यसैले चमेलीलाई चमेली दिदी बनाएको छ । समाज र महिला दिदी बहिनीका लागि आफुले जे जति गरें आफ्नै जीवनमा पाएको धोकाले सिकाएको हो भन्नुहुन्छ उहाँ ।

‘चुरा, टिका र लिपिस्टिकमा खर्चिने मासिक १०, १२ रुपैयाँ बचत गर्दै जाँदा आज समाजकै रुप फेरियो ।’ आप्mनो अग्रसरतामा गाउँका दिदीबहिनीको जीवनमा भएको परिवर्तनले खुसी वाइवा भन्नुहुन्छ ।

तामाङ बाहुल्य तसर गाउँका महिला ज्याला मजदुरी गरेर कमाएको पैसा बेलुका रक्सी खाएर हिंड्थे, आज चमेलीको समुहमा आबद्ध भएर आर्थिक उपार्जनका काममा लागेका छन् । फलपूmल र सुनाखरीको व्यवसायिक खेतीमा कम्मर कसेर लागेका छन् तसरका महिला चमेलीको साथ पाएर । 

सबैको आर्थिक हैसियत सुध्रिएको छ चमेलीको अभियानले भन्नुहुन्छ बज्रबाराही गाविसका पूर्वसचिव केदार बहादुर जोशी । चमेलीको उत्साहले गाउँमा नयाँ उमंग ल्याएको छ सबै काममा दत्त चित्त भएर लागेका छन् जोशी भन्नुहुन्छ । 

गाउँलेको हाइहाइ पाएपछि उहाँमा उत्साह थपिएको छ । थप नयाँ योजना छन् चमेलीसँग । ‘गाउँका सबै महिलालाई शिक्षित पार्न अझै बाँकी छ त्यसका लागि साक्षरता कक्षा र पुस्तकालय खोल्ने प्रक्रिया अगाडि बढाउछु’ उहाँले भन्नुभयो ।



0 comments

Write Down Your Responses