Powered by Blogger.
उत्तरी मकवानपुरका १२ गाविसलाई निशुल्क विजुली दिन माग


मकवानपुर, २० कात्तिक । लामो समयदेखि कुलेखानी जलविद्युत् आयोजना प्रभावित स्थानीयले आफ्नो हक र अधिकारको कुरा उठाइरहेका छन् । तर सुनुवाइ हुन सकेको छैन । पछिल्लो समय जल, जमिन र जंगलमा स्थानीयको अधिकार कायम हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता स्थापित भएको छ । तर कुलेखानी प्रभावित सोझा स्थानीय भने चालीस वर्षदेखि आयोजनाबाट उठिवास छन्, उनीहरुको समस्या कतै सम्बोधन हुन सकेको छैन ।

केही वर्षअघि मात्र सुरु भएको अपर तामाकोशी आयोजनामा दोलखावासीले त्यसरी शेयर पाँउदा आयोजना प्रभावित कुलेखानी आसपासका बासिन्दा भने अझै टुकीको अँध्यारोमा रहनु कम्ती विडम्बना होइन । तर शेयरको त कुरा छोडौँ, पहिलेका कबुल पनि आयोजनाले स्थानीयसँग पूरा गरेको छैन । स्थानीय जनताको सोझोपनको फाइदा उठाँउदै अहिलेसम्म प्राधिकरणले पूर्व सहमति सुनुवाई नगरेको तथा आन्दोलन र अन्य माग राख्ने पनि आफैँ जागिरे भएर छिरेपछि स्थानीय जनता आयोजनाबाट उपेक्षित भएको स्थानीय बताउँछन् ।

कुलेखानी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाले स्थानीय बासिन्दाको माग सुनुवाइ नगरे निर्माणाधीन कुलेखानी तेस्रो प्रभावित हुने चेतावनी दिएका थिए । उनीहरुले एकमात्र कृतिम जलाशयुक्त इन्द्रसरोवरमा पानी संकलन गरी कुलेखानी प्रथम आयोजना सुरु गर्दा स्थानीय मार्खु र कुलेखानीका जनताको घर जग्गा विस्थापित गरिएको र हालसम्म चित्तबुझ्दो क्षतिपूर्ति नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ०६६ मा सुरु भएको कुलेखानी तेस्रो आयोजना शिलान्यास हुँदै गर्दा स्थानीयले यो माग नराखेका पनि होइनन् । तर आसपासका २३ लाई आयोजनाले म्यादी कर्मचारीका रुपमा भर्ति गरेर केही बाठाटाठाको मुखमा बुझो लगाएपछि यो माग पनि त्यत्तिकै सेलाएको छ ।

कुलेखानी जलविद्युत् परियोजना सुरु गर्दा प्रभावित १२ गाविसका जनताले निःशुल्क बिजुली बत्ति बाल्न पाउनु पर्ने माग राखेको र सरकारले सम्झौता गरेको भए पनि त्यो कागजात नै गायब पारिएकामा त्यसको खोजी अझै भएको छैन । मकवानपुर जिल्ला विकास समितिका पूर्वसभापति तथा मकवानपुरका त्यस क्षेत्रका पूर्वसांसद वीरबहादुर लामाले कागज खोज्न पहल नगरेका होइनन् । तर उनी आफैँ थकित भएर यो एजेन्डा उठाउनै छाडिदिए ।

तत्कालीन ऊर्जामन्त्री डा। प्रकाशशरण महतले ०६६ मा भैँसेस्थित सानोटारमा कुलेखानी तेस्रो जलविद्युत् आयोजना शिलान्यास गरेपछि कुलेखानी प्रभावित १२ गाविसका जनताले निःशुल्क बिजुली बत्ति बाल्न पाउनु पर्ने एजेन्डा उठाएर नेपाल विद्युत् प्राधिकरण र सरकारको ढोका घच्घच्याएको थियो । कुलेखानी जलविद्युत् आयोजना सरोकार समिति गठन गरेर माथिल्लो तटीय क्षेत्रका जनता संगठित भएका पनि थिए । तर आयोजनाले केही रकम समितिलाई दिएर उनीहरुले केही स्थानमा भित्तेलेखन गरी बजेट सकाएपछि उनीहरु आफैँ चुप लागे ।

आयोजनाको विद्युत् रोयल्टी रकम हालसम्म जिल्ला विकास समिति मकवानपुरले पाइरहेकोमा रकमको शतप्रतिशत हिस्सा माथिल्लो तटीय, तल्लो तटीय र आयोजना वरिपरीका १२ गाविसका जनताको विकास निर्माण र जीवनस्तर सुधारका लागि प्रत्यक्ष खर्च हुने पर्ने माग स्थानीयको छ ।

कुलेखानी जलविद्युत् आयोजनाको माथिल्लो तटीय क्षेत्रमा दामन, पालुङ, टिस्टुङ, बज्रबराही, चित्लाङ र फाखेल र तल्लो तटीय क्षेत्र सिस्नेरी र कुलेखानी तथा प्रत्यक्ष प्रभाव पर्ने आसपासका क्षेत्रमा भैँसे, निबुवाटार र भीमफेदी गरी १२ गाविस पर्छ । त्यसमध्ये प्रत्यक्ष प्रभाव पर्ने क्षेत्रको भैँसेस्थित सानोटारमा करिब २ अर्ब ४३ करोडको लागतमा निर्माणाधीन आयोजना जारी छ ।

आफ्नो क्षेत्रको पानीबाट निकालिएको बिजुली निःशुल्क उपभोग गर्न पाउनु पर्ने स्थानीय बासिन्दाको माग जायज भएको मकवानपुर जिविसका पूर्वसभापति वीरबहादुर लामा बताउँछन् । जल, जमिन र जंगलमाथि सम्बन्धित क्षेत्रका जनताको अधिकार रहनुपर्ने विश्वव्यापी मान्यता भएकाले पनि स्थानीय बासिन्दाको मागमा आफूले साथ दिने उनकोे कथन छ । अपर तामाकोसीले जस्तै स्थानीयलाई शेयर दिएर आयोजनाको अपनत्व स्थानीयमा स्थापित गर्नुपर्ने लामाको तर्क छ ।

कुलेखानी तेस्रो सुरु हुन लाग्दा स्थानीयले शेयरको माग गरेका थिए । आयोजनाले पेलेरै जाने योजना बनाएपछि स्थानीयको त्यो माग हरायो । अहिले सुरुङ भन्दा माथिको जनताको बस्ती त्रासमै छ । करिब एक सय घर स्थानीय जनता भन्दा माथिको गाउँमा छन् । सुरुङ खन्दै जाँदा उनीहरुको बस्ती थर्किँदै गएको देख्न सकिन्छ । विशाल मेसिनका आवाजले स्थानीयलाई दिनरात असर पर्ने गरेको छ भने वातावरणमा पनि प्रतिकुल प्रभाव पारेको बताइन्छ ।

कुलेखानी तेस्रो आयोजनाभित्र बेथिति नै बेथिति रहेको तथ्य उजागर भएका छन् । चिनिया“ ठेकेदार कम्पनी सिने हाईड्रोलाई आयोजनाको सामान प्रयोग गर्न दिएर आयोजना प्रमुख सञ्जीव मल्ल, इन्जिनियर शिवलाल गिरीलगायतले मोटो रकम हात पार्ने गरेको बताइन्छ । आयोजनाले ठेकेदारलाई प्रयोग गर्न दिइएको सामानमा अनियमितता भएको भन्दै प्राधिकरणका कर्मचारीले यसअघि लिखित उजुरीसमेत हालेका थिए ।

 जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत कपिल रेग्मीको नेतृत्वको टोलीले आयोजना कार्यालय पुगेर अनुसन्धान कार्यसमेत गरेको थियो । ठेकेदार पक्षसँग मिलेर आयोजनाका अधिकारीले धेरै सामग्री निर्माण कार्यमा प्रयोग गरेका छन्, तर त्यसको भाडा सरकारी खातामा नभई व्यक्तिगत खातामा जम्मा गरिँदै आएको थियो । आयोजनाबाट ४० टन बढी रड, आइबिएम, वाएरमेस तीन ठेकेदारले प्रयोग गरेको बताइन्छ ।
१४ मेघावाट क्षमताको आयोजनाको ८० प्रतिशत निर्माण कार्य सकिएको आयोजना अधिकारीले बताए । इन्टेक, डिसेन्डर, हेडपन्ड, हेडड्रेस टनेलको काम सकिएको छ भने पावरहाउसको ३५ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाले बताएको छ । सन् २००८ बाट निर्माण सुरु भएको आयोजनाको लागत चार अर्ब नाघेको छ । सन् २०११ सेप्टेम्बरमा सकाउने गरी सिनो हाईड्रोसँग सम्झौता भए पनि दुईपटक समय थपिएको छ । पछिल्लो सम्झौता अनुसार २०१४ को सेप्टेम्बरभित्र आयोजनाले उत्पादन सुरु गर्नुपर्ने थियो । तर फटाफट काम हुँदा पनि आयोजनबाट बिजुली बल्न अझै एक वर्ष लाग्ने बताइन्छ ।

परियोजनाको मुख्य सुरुङ निर्माणको कार्य गरिरहेको चिनियाँ सिनो हाइड्रो कम्पनीले मनपरी ढंगले काम गरिरहेको छ । अहिलेसम्म ३ सय मिटर सुरुङ निर्माण भइसकेको छ । ठेकेदार कम्पनी सिने हाइड्रोले परियोजना हात पार्दा गरेका सम्झौतालाई लत्याएर मानोमानी ढंगले काम गरिरहेको छ भने हेडको सिल्ड डब्लुआरसी, कन्सल्ट्यान्ट र विद्युत् प्राधिकरण उसलाई नै सघाइरहेको छ । सम्झौता गर्दा उच्च गुणस्तरको सामग्री विदेशबाट निकासी गरेर सुरुङ निर्माण गर्ने सहमति भएको थियो । तर सिने हाइड्रो कम्पनीले सुरुङ निर्माणका लागि न्युन गुणस्तरको नेपाली सामग्रीहरु प्रयोग गरिरहेको पाइएको छ ।

इन्डियन सामग्रीको मूल्य महंगो पर्ने भएकाले नेपालमा बनेको त्यो पनि बिनापरीक्षण न्युन गुणस्तरीय सामग्री प्रयोग गरेर सुरुङ निर्माण गरिरहेको छ सिने हाईड्रो कम्पनीले । आइएसो मान्यताप्राप्त इन्डियन उच्च गुणस्तरको सामग्री प्रयोग गरिने सम्झौता भएपनि उसले नेपाली सिमेन्ट, फलामलगाएतका अन्य सामग्री प्रयोग गरिहेको हो ।

त्यस्तै, सुरुङमाथि थेग्न प्रयोग गरिने फलामको रिभ कम्पनीमा नै बनेको हुनुपर्ने सम्झौता गरिएको छ । जम्मा दुई ठाउँ मात्र गासेको रिभ हुनुपर्नेमा यहा १०–१० ठाउँमा ठेकेदार आफैँले फलाम गासेर रिभ हालिएको छ । र कुनै ल्याब टेष्ट नगरी ठेकेदार, कन्सलट्यान्ट र विद्युत् प्राधिकरणका हाकिमहरुले परियोजना बीचैमा तुहाउने फोहरी खेल खेलिरहेका छन् ।

त्यस्तै, सुरुङभित्र अरु नभत्कियोस भन्न भित्तामा छ्यापिने फलामको सेट क्रिट ५ सेन्टिमिटरदेखि १० सेन्टिमिटरसम्मको हुनुपर्छ तर आधादेखि एक सेन्टिमिटरको मात्र सेटक्रिट भित्तामा प्रयोग गरिएको छ । यति मात्र होइन, रिभले भित्ताटम्म हुनुपर्नेमा सुरुङमा जताततै रिभमाथि ढुङ्गा राखेर सतह मिलाएको छ । जुन सरासर गलत छ, यसले पनि सिने हाइड्रो कम्पनीले पूर्णरुपमा लापरबाही गरेको र ठेक्का सिध्याउने मात्र काम गरिरहेको प्रष्ट हुन्छ । सामान खरिदमा मात्र करिब २५ करोड रुपैयाँ घोटाला गरेको अनुमान छ ।

कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ मेगावट विद्युत् उत्पादन भइरहेको छ भने तेस्रोबाट १४ मेगावट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य रहे पनि यही रफ्तारमा काम हुने हो भने यो रकमले योजना सम्पन्न नहुने र दोब्बर खर्च लाग्ने अवस्था छ ।

–शन्तराम बिडारी, नेप्लिज डट ओआरजीबाट

0 comments

Write Down Your Responses