Powered by Blogger.
काठमाडौँमा अपहरणमा परेको म ‘पाल’ को कथा !

सुरज प्याकुरेल 
गत बैशाखमा गएको विनासकारी भूकम्पका कारण कयौं जीवनहरु यो संसारबाट बिलय भए ।  लाखौँको घरबार सकियो र ध्वस्त भए गाउँहरु ।  केवल धरहरा ढलेन, ढले आस्थाका धरोहरुहरु, ढल्यो आत्मविश्वास र सँगै ढले कयौं आशावादी विचारहरु । दुखी भए जीवनहरु सँगै दुखी छु म ’पाल’ पनि ।  

यो म ‘पाल’ को कथा हो । बैशाख अन्तिमतिरको एउटा पीडित पालको आत्मकथा !’ केही समय अगाडि सम्म दुःखीहरुको छानामा हुने म पाल, गरिबहरुलाई असिना पानीबाट बचाउँने म पाल । निमुखा जनताले उब्जाएको थोरै अन्नलाई घाममा सुकाउने म पाल, अनि गरिबहरुलाई थोरै भए पनि खुशी दिएर घरको कुनामा थन्क्याउँदा पनि दुःखी नहुने म पाल ।

तर आज म पालको पनि बेहाल भएको छ नेपालमा । मेरो अधिकार खोसिएको छ । मेरो बलात्कार भएको छ । देश दुःखमा रोइरहँदा पुनः गरिबहरुलाई छाना बन्नुपर्ने म पाल, यतै काठमाडौँमा अपहरणमा परेको छु । र त, विवश भएर जनता रुवाउने नेताका चिल्ला गाडीको ओत बन्नु परेको छ । महँगा महलमा बस्नेको राजनीतिमा होमिनु परेको छ । र, गाउँमा मलाइ पर्खिरहेका दुखी जनतासँग बिछोडिएर यी कथित जननेताको महलमा दुःखदायी जीवन भोग्नु परेको छ ।  सुनेको छु, देश विपद्मा परेका बेला यो देशमा हामी पालमाथि राजनीति भएको छ रे ।

सिन्धुपाल्चोक पुग्नु पर्ने मेरा साथीहरु पनि काठमाडौँकै संविधानसभा भवनमा अपहरणमा परेर भ्रष्टको जालमा कब्जामा छन् रे ! गोर्खाले कुरिरहेका मेरा कतिपय साथी गोदाममा लुकाइएका छन् रे ! नुवाकोट वा दोलखा जान सुरसार गरेका मेरा कतिपय साथी कालोबजारीमा बेचिएका छन् रे ! अनि म एउटा अर्को निमुखा पाल सिन्धुपाल्चोकलाई सम्झिएर रोहिरहेछु यो महलअगाडि चिल्लो कार माथि टाक्सिएर ।

मलाइ माफ गरिदेऊ नेपाल ! तिम्रो नाम पछाडि पनि मेरै नाम झुन्डिएकाले पनि तिमीसँग खास भावनाको नाता छ मेरो । आज तिम्रा सन्तान रोइरहँदा पनि म उनीहरुको छाना बन्न सकिनँ । हुन त कतिपय मेरा साथीले धर्म गर्ने सौभाग्य पनि नपाएका होइनन् । उनीहरुको जीवन धन्य भएको छ । यो विपद्को घडीमा थोरै भए पनि मेरा साथीले तिमीलाई सहयोग गरे । तर तिमीलाई नै सञ्चालन गर्ने तिम्रा सभासद् जातका शासनकर्ताले मलाई यो विपद्मा पनि गाउँ जान दिएनन्, मैले तिमीलाई सकेको सहयोग गर्न सकिनँ ।

मेरा मामाघरतिरका पाल मामाहरु, मेरा ससुरालीतिरका पाल अपÞmन्तहरु, मेरा घरतिरका पाल काकाहरु सबै देशको सेवामा छन् । विदेशमा रहेका मेरा पाल साथीहरु पनि यतै आएका छन् रे ! तर अहँ मैले यो देशको सेवा गर्न पाइनँ । नेपाल, तिम्रा शासकहरुले गरेको धमिलो राजनीतिमा परेर मेरो बेहाल भो काठमाडौँमा ! पहिला राम्रो हुँदा आफैँलाई गर्व लाग्थ्यो । तर आज आफ्नै त्यही रुपलाई  धिक्कारिरहेको छु । नराम्रा र कुरुप पालहरुले जनताको सेवा गर्न पाएका छन् रे ! लोभलाग्दा शरिर भएका राम्रा पालहरु मजस्तै अपहरणमा परेर  नेताज्यूको गाडीमाथि ओत लाग्नु परको छ !

जनताहरु सरकारलाई ‘ले पाल’ भन्दै गुहारिरहेछन् । सरकार अरु देश हरुलाई ‘दे पाल’ भनिरहेको छ । तर जब म नेपाल आइपुग्छु, वा मेरा साथीहरु नेपाल आइपुग्छन् । कोही पनि हाम्रो सदुपयोग गर्दैनन् । विदेशीले गरिब जनतालाई पठाएका हामीलाई नेताहरु दुरुपयोग गरिरहेछन् ।

पटकपटक म ‘दे पाल’ भनेको सुन्छु तर जनतालाई भन्दा आफ्नालाई, नेताका ससुराली खलकलाई । नेताका कार्यकर्तालाई, नेताका काका(काकी, भतिजा(भतिजी र भान्जा(भान्जीहरुलाई । अनि जनता फगत ‘ले पाल’ भन्दै खुला आकासमुनि गुजारा चलाइरहेछन् अनि म पाल रोइरहेछु यतैतिर । गरिब जनतालाई परेको बेला सहयोग गर्न नसकेर आफूलाई धिक्कार्दै यतै महलतिर तड्पिरहेछु !’

बैशाख अन्तिमको यो मेरो कथा फेरी दोहोरिने भएको छ।  जाडो आएको छ।  भूकम्प पिडितहरुसँग बस्ने बास छैन, लाउने कपडा छैन।  जाडो बढ्दै जाँदा वा कहिलेकाहीं  पानी पर्दा मेरो पालो आउने गरेको छ, उनीहरुलाई सहयोग गर्ने।  तर अहँ यो देशको सरकारले मलाइ अझै गरिवहरुको समस्यामा साथ् दिया दिएको छैन ।  कारण म यतै अलपत्र छु काठमाडौँतिर ।  यतै अपहरणमा परेको छु नेताको घरमा। लौ न सरकार बुझिदिनु पर्यो।  गरिवहरु मेरो आशमा छन्।  मालाई गाउँसम्म पुर्याउने व्यवस्था मिलाइदिनु पर्यो ।


तस्बिरः नयाँ पत्रिका

0 comments

Write Down Your Responses