Powered by Blogger.
सुरुङ मार्गमा साँच्चै आउला सुमार्गीको ‘कालो धन’ ?


काठमाडौँ, ६ माघ ।लामो समयदेखि सरकारबाट अनुमति लिएर पनि निर्माण कार्य सुरु गर्न नसकेको काठमाडौं–हेटौँडा सुरुङ मार्गमा विवादास्पद चरित्रका व्यवसायी अजेयराज पराजुली सुमार्गीको परिवार छिर्ने भएको छ ।

 नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड कम्पनी खोलेर नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा निर्माणको पहल थालिए पनि आशा गरेअनुसार लगानी जुटाउन नसकेपछि अलपत्र योजनामा हालिमुहाली गर्न सुमार्गी घराना तम्तयार भएको हो ।

सरकारले दिएको समयसीमाभित्र रकम जुटाउन नसकेपछि अहिले सञ्चालकहरू भने एकअर्कालाई दोष थोपरेर पानीमाथिको ओभानो बन्ने प्रयास गरिरहेका छन् । सुनको अण्डा पार्ने कुखुरी भन्दै मकवानपुरका गरिब किसानहरूसँग रकम उठाइएको थियो । 

लामो समयसम्म उठेका रकम सञ्चालकहरूले बेहिसाब खर्च गरेको र निर्माण कार्य अघि बढ्न नसकेपछि सर्वसाधारण पैसा फिर्ता माग्ने अभियानमा लागेका थिए । तत्काल पैसा फिर्ता दिन नसकिने अवस्था आएपछि अन्य सञ्चालकहरू लगानी आफूहरूले जुटाउने भन्दै जोशीलाई कम्पनी छोड्न दबाब दिने र बाहि¥याउने दाउमा लागेका छन् । 

जोशीले सहजै नछोड्ने अवस्था देखिएपछि अहिले केही अघिसम्म सञ्चालक रहेर जापानमा रहेका गैरआवासीय नेपालीहरूसँग लगानीको सम्झौता गरिएपछि गलहत्याइएका राजमान महर्जनको नेतृत्वमा कुशकुमारविरुद्ध संघर्ष समिति बनाएर दबाब सिर्जना गर्ने काम भएको बताइन्छ ।



भरसक राजीनामा दिन लगाउने अन्यथा विशेष साधारण सभा डाकेर कम्पनीबाट गलहत्याउने योजनामा सञ्चालकहरू मध्येबाट उपाध्यक्ष लाल केसी, सुवासचन्द्र ठकुरीलगायत लागेका छन् । उनीहरूले सुमार्गाीसँग पालुङका मिलन कार्कीमार्फत भेट गरेर जोशीलाई हटाउने र विभिन्न आफन्तको नाममा सुमार्गीले २० अर्बभन्दा बढी रकम लगानी गर्ने योजना बनाएको बुझिएको छ । सरकारको समर्थन रहेको पार्नका लागि एमाओवादी अध्यक्ष प्रचण्डमार्फत भनाएर ५ देखि १० अर्बसम्म रकम सरकारको समेत लगानी गराउने योजना बनाएको थाहा भएको छ ।

सुमार्गीकै योजनामा जोशीलाई हटाउन लागेका सञ्चालकहरूले केही दिनअघि अन्नपूर्ण होटेलमा बोर्डको बैठक डाकेर जोशीलाई हट्न दबाब दिएका थिए । जोशीले १५ दिनभित्र हिसाब–किताब मिलाएर कम्पनीबाट राजीनामा दिने भन्दै बैठकमा वचन दिएको बुझिएको छ । 

एमाओवादी अध्यक्ष प्रचण्डसमेतको चासो रहेको सुरुङ मार्गको विवादले कस्तो रूप लिने हो भन्ने कुरा यसै भन्न नसकिने भए पनि अहिलेसम्मको रकम भने सबै सञ्चालकहरूले आ–आफ्नै तरिकाले मनपरी खर्च गरेकाले जोशीलाई मात्र दोष देखाएर अरू पन्छिन नमिल्ने स्थानीयहरु बताउँछन् । 
बुधबारबाट

0 comments

Write Down Your Responses