Powered by Blogger.
रुपचन्द्रकै जन्मथलोमा पहिलो पटक थाहा दिवश भव्य रुपमा सम्पन्न


थाहा नगर पालिका, २६ पुस । थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र विष्टको ८३ औं जन्मोत्सवको अवसरमा उनको जन्मथलो मकवानपुरको थाहा नगरमा थाहा दिवश मनाइएको छ । 

स्थानीय युवाहरुको पहलमा मनाउन थालिएको पहिलो थाहा दिवस आइतबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।  कार्यक्रममा वरिष्ठ लेखक तथा वाम वुद्धिजिवी खगेन्द्र संग्रौलाले विशेष उपस्थिति जनाएका थिए । उनले रुपचन्द्र विष्टलाई दियोको संज्ञा दिदै भने, ‘दियोको प्रकाश अझै छ, प्रकाशलाई जोगाउनु सबैको कर्तव्य हो, यसलाई दुरुपयोग गर्नु गलत हो ।’ 

लेखक संग्रौलाले कहिल्यै विवेक बेचेर नखाने राजनितिज्ञ रुपचन्द्र विष्ट भएको धारणा राख्दै सबैका माझ आफ्नो विवेक लगाएर ठाडो शिर गरेर हिँड्न रुपचन्द्रले नै सिकाएको बताए । संग्रौलाले मागेर कहिल्यै ठूलो र धनी नहुने बताउँदै भने, ‘भगवानसंग मागे पनि मान्छे सकिन्छ लैनचौर अगाडि गएर मागे पनि सकिन्छ ।’ 
थाहा दर्शन प्रतिपादन, प्रयोग भएको ठाउँमा थाहा प्रति जति उत्साह, गर्व र प्रयोग हुनुपर्ने त्यो हुनै नसकेको भन्दै उनले चिन्ता गरे ।

थाहा दिवस मनाउन शुरु गरेकोमा उनले शुभकामना व्यक्त गरे । कार्यक्रममा रुपचन्द्र विष्टका भतिजा तथा खेलकुद परिषदका प्रशिक्षक रणसंग्राम विष्टले थाहलाई बेच्ने र थाहा दर्शनलाई स्थापित र प्रयोग गर्नेबीचको प्रतिस्पर्धा शुरु भएको उल्लेख गरे । कार्यक्रममा उनले थाहा दर्शनलाई व्यवहारमा उतारे सफल भइने बताए । 

एकीकृत नेकपा माओवादी थाहा नगर कमिटिका सचिव बिनोद लामाले आफू थाहा दर्शनको व्यख्याता नभएको बताउँदै थाहा दिन सके मात्र पनि ठूलो परिवर्तन हुने बताए । सामाजिक काम गर्नका लागि संघ, संगठन तथा कुनै औपचारिकता आवश्यक नपर्ने उदाहरण फरकचोच भएको लामाको भनाई थियो  । 

लामाले सामाजिक संजाल फेसबुकमै सामाजिक अभियान संचालन गरिरहेको फरक सोच टिमको खुलेरै प्रशंसा गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुरका संवाददाता प्रताप विष्टले हेपिएका, पछाडि पारिएका व्यक्ति समाचारको विषय बन्नु पर्ने बताए । 

रुपचन्द्र विष्टको स्कूलिङ पनि यि र यस्तै विषय भएकोले यदि पत्रकारहरुले रुपचन्द्र विष्ट सम्झने हो र उनको बाटोलाई अंगाल्न खोज्ने हो भने पनि हेपिएका, छाप्रामा बस्ने र श्रम गर्नेको समाचार पत्रकारको विषय बन्नु पर्ने धारणा राखे  । 

थाहा दिवसको अवसरमा संचालन गरिएको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पनि आइतबारै थाहा दिवस समारोहमा पुरस्कार वितरण गरिएको थियो ।यस अन्तर्गत थाहा दिवसको अवसरमा आयोजित मकवानपुर उत्तरी क्षेत्र स्तरीय हाजिरीजावाफ प्रतियोगितामा प्रथम हुने झम्केश्वरी मावि, द्वितीय हुने जनकल्याण उच्च मावि र तृतीय भएको सुन्दरीदेवी मावि आग्राका सहभागी र विद्यालयहरुलाई पुरस्कार तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । 

त्यस्तै थाहादर्शन विषयक निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट जनकल्यण उच्च माविकी छात्रा रेजिना गोपालीलाई स्टेशनरी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने आइतबार सम्पन्न थाहा दौड प्रतियोगिता अन्तर्गत पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटरमा प्रथम द्वितीय र तृतीय भएका सहभागीहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । 

पुरुष तर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका महेश मुक्तान, संजोग कार्की र प्रकाश खत्रीलाई नगद ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र तथा महिलातर्फ गंगा पन्त, बन्दना प्रधान र गायत्री पन्त क्रमशः प्रथम, द्वितीय र तृतीय भएकालाई नगद ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । 

फरकसोच अभियान्त जयन्ती रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि. आग्राका अध्यक्ष शुभराज गोले, रुपचन्द्र विष्ट स्मृति निर्माण समितिका अध्यक्ष राजीव कुमार स्याङ्दान, नेपाली काँग्रेसका निरोज प्रधान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य बालकृष्ण अधिकारी, बज्रवाराही उच्च माविका अध्यक्ष महेश्वर सुवेदी, थाहा नगरपालिकाका लेखा प्रमुख दिपक गजुरेल, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली लगायत विभिन्न संघसंस्थाका पदाअधिकारीहरुको सहभागिता रहेको थियो । 

पत्रकार विष्ट सम्मानीत

यसैबीच तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान कोष २०७१ बाट मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट सहित जिल्लाको उत्तरी क्षेत्रमा रहेका एक विद्यालय र एक छात्रा सम्मनित भएका छन् । विभिन्न क्षेत्रका माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ती र एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने तिर्थदास स्मृति सामाजिक सम्मान कोषको उद्देश्य अनुसार सम्मान गरिएको हो ।

पत्रकारिताको माध्यमबाट पछाडि पारिएका र लोपोन्मुख सिमान्तकृत समुदायको समाचार लेखी पु¥याएको योगदानको कदर गर्दै पत्रकार विष्टलाई सम्मान गरिएको बताइएको छ । नगद ११ हजार १ सय ११ रुपिंया र ताम्रपत्र सहित विष्टलाई वरिष्ठ साहित्यकार तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले सम्मान गरेका हुन् । 
कार्यक्रममा सम्मानीत पश्चात् मन्तव्यका क्रममा पत्रकार विष्टले कुनै पनि सरकारी, गैर सरकारी संस्था तथा विदेशी निकायको सहयोग विना सामाजिक क्षेत्रमा सक्रिय फरकसोच टिमलाई नगद फिर्ता गरेका थिए । उनले पुरस्कार पाएको रकमले पछाडि पारिएको व्यक्तिहरुको उत्थानका लागि रकम सदुपयोग गर्न फरक सोचलाई भनेका थिए ।

 कार्यक्रममा २०७१ सालमा मकवानपुर उत्तरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढि नतिजा ७३.४९ प्रतिशत ल्याउने बज्रवाराही उच्च माविलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा बढि अंक ल्याउन सफल बज्रवाराही उच्च माविकै छात्रा सुस्मिता सुवेदीलाई नगद ५ हजार ५ रुपियाँ तथा ताम्रपत्र सहित प्रमुख अतिथी संग्रौलाले सम्मान गरेका थिए । 

काठमाण्डौ जन्मथलो भए पनि थाहा नगरमा शिक्षाको विजारोपण गर्ने स्वर्गीय तिर्थदास श्रेष्ठको स्मृतिमा फरक सोच अभियानले राखेको अक्षय कोषबाट सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा तिर्थदास श्रेष्ठ र उनको योगदानको विषयमा फरकसोच अभियान्ता उर्मिला श्रेष्ठले जानकारी दिएकी थिइन् । 

कार्यक्रममा फरकसोच अभियानले हालसम्म गरेको सामाजिक कामको विषयमा अभियान्ता सुरजकुमार भुजेलले जानकारी गराएका थिए । कार्यक्रममा फरक सोच अभियानका रामकुमार कार्की, उदयदास श्रेष्ठ, मनोज रायमाझी, अनित विष्ट, रोशन रायमाझी, लगायतकाको सहभागिता रहेको थियो । 
– सुरजकुमार भुजेल। रुपक कालिराज






0 comments

Write Down Your Responses