Powered by Blogger.
माधव नेपाल भन्छन्,‘नारायणीलाई दुई प्रदेशमा विभाजन गर्दा नराम्रो लाग्यो’


काठमाडौं, २० माघ । नेकपा (एमाले)का  वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणी अञ्चललाई दुई प्रदेश पारेर टुक्र्याइएकोमा आफूलाई राम्रो नलागेको बताउनुभएको छ  ।

 राजधानीमा  नेकपा (एमाले) नारायणी सम्पर्क कमिटीले आयोजना गरेको वृहत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले यस्तो बताउनुभएको हो । शनिबार राजधानीमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका शिर्ष नेताहरुले प्रशिक्षण दिएका थिए भने नेता नेपालले नारायणीवाशीको सहानुभुती बटुल्ने गरी आफ्नो धारणा केन्द्रीत गरेका थिए । 

उनले भने, ‘नारायणी अञ्चल पुरैलाई एक प्रदेश बनाएको भए राम्रो हुने थियो । तर आवाज मधुरो भएकाले सुनुवाई भएन ।’नेता नेपालले बारा पर्सा जस्ता औद्योगिक करिडोर, चितवन जस्तो कृषी र पर्यटनको उर्वर भुमी र मकवानपुर जस्तो रमणीय र पर्यटक तानेर आर्थिक समृद्धि गर्न सकिने स्थान समेटेर एकै प्रदेश बनाउन सकेको भए सबैलाई राम्रो हुने धारणा राखे । 

यि पाँच जिल्लामा करिव ३० लाख जनसंख्या हुने र त्यसमा सर्लाही समेत जोड्दा ४० लाख जनसंख्या पुग्ने दावी गर्दै रौतहट तथा पर्सामा बोलिने भोजपुरी र मैथिली भाषासंग सर्लाहीको भाषा पनि मेल खाने भन्दै यस्तो प्रदेशले सद्भाव र एकता पनि थप प्रगाढ हुने दावी गरे । उनले भने, ‘नारायणी यस्तो अञ्चल हो की जहाँ चर्को गर्मी भयो भने शितलताको लागि मकवानपुरका डाँडा काँडा गए भयो, अनि चर्को जाडो भयो भने मधेस झरे भयो । ’
कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले मधेसी जमिन्दारहरुले मधेसमा तालिवानी शैली अपनाएर अन्य दलका कार्यकर्ताहरुलाई निशेध गर्न खोजेको आरोप लगाए । अन्य पार्टी पंति मधेसमा विचलित भएपनि एमाले कार्यकर्ता कुनै हालतमा विचलित नभएको उनको भनाई थियो । उनले भने, ‘एमाले पंति मधेसमा विचलीत पनि छैन तर पार्टीको झण्डा उठाएर पार्टी काममा शसक्र ढंगले उठ्न सकेको पनि छैन, अब देशव्यापी अभियान शसक्त पारेर चैतको अन्त्यतिर बिगंजको घण्टाघरमा एमाले पंति जाग्छ, उठ्छ ।’

कार्यक्रममा पोलिट्व्युरो सदस्य तथा पूर्वमन्त्री महेन्द्र पाण्डे, डा वंशिधर मिश्र लगायतले धारणा राखेका थिए । नारायणी अञ्चलका पाँचै जिल्लाका सम्पर्क मञ्चमा आवद्ध कार्यकर्ता सहभागी उक्त कार्यक्रममा सांसद लालबाबु यादव, योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् डा चन्द्रमसण अधिकारी, इन्जीनीयर अलि अख्तर मिकरानी, सम्पर्क विशेष समन्वय कमिटीका सदस्यहरु नवराज तिमल्सीना, बद्री भट्टराई, पूर्व राष्ट्रीय प्रतिनिधी परिषद सदस्य धनकुमामरी सुनार, मकवानपुर जिल्ला कसमटी सदस्य ध्रुव प्रसाद चौलागाई, पुरावेदन पाटन बार इकाईका उपाध्यक्ष गोपाल श्रेष्ठ, प्रेस चौतारी उपत्यका अध्यक्ष शन्तराम बिडारी लगायतको उपस्थिति थियो ।

कमिटीका अध्यक्ष अशोक ठकुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन  सचिव वेदनाथ कोइरालाले गरेका थिए ।

  


0 comments

Write Down Your Responses