Powered by Blogger.
छुटै अस्तित्व सहित थाहा नगर उद्योग वाणिज्य संघ दर्ता


पालुङ, ११ चैत । स्थानीय उद्योगी तथा व्यापारीहरुको संगठनका रुपमा ‘थाहानगर उद्योग वाणिज्य संघ’ औपचारिक रुपमा  जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता भएको छ । 

मकवानपुर उद्योग वाणिज्य संघकोे उत्तरी क्षेत्र समितिका रुपमा स्थापित समिति १५ वर्षपछि थाहानगर उद्योग वाणिज्य संघका रुपमा  छुट्टै अस्थित्व सहित दर्ता भएको हो । नवगठित थाहानगर उद्योग वाणिज्य संघ तदर्थ समितिका अध्यक्ष कविराज खत्री छन् । संघको बरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम ढकाल, उपाध्यक्षमा शम्भुसिंह कार्की, महासचिव सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष शिवकुमार खत्री, सचिव प्रदीप प्रधान छन् । 

यसैगरी सदस्यहरुमा रामप्रसाद ढकाल, युगशेर बिष्ट, नवराज बिष्ट, भरत गोपाली र आरती श्रेष्ठ छन् । संघको प्रारम्भिक साधारणसभाबाट संघका विभिन्न विषयगत  जिम्मेवारी सहित समिति २७ सदस्यीय बनाइने अध्यक्ष खत्रीले बताए । संघले तत्काल नेपाल उद्योग वाणिज्य महासंघमा दर्ता प्रक्रिया अघि बढाउने महासचिव सुरेन्द्र प्रधानले जानकारी दिए ।

उत्तरी क्षेत्र समिति रहँदा कुल चार सय सदस्य रहेकोमा तिनैलाई नवगठित संघको सदस्यको मान्यता दिने गरी साधारणसभाले अनुमोदन गर्ने बताइएको छ । मकवानपुरको उत्तरी क्षेत्र कार्यक्षेत्र रहने गरी स्वीकृत प्राप्त थाहानगर उद्योग वाणिज्य संघले उत्तरी क्षेत्रका व्यवसायीहरुलाई संघमा आवद्ध गराउने महासचिव प्रधानले बताए । 

संघले स्वायत्त संस्थाको रुपमा आफ्ना सदस्यहरुको व्यावसायिक सुरक्षा तथा स्तरोन्नतिका लागि विभिन्न गतिविधि सञ्चालन गरिने अध्यक्ष खत्रीले बताए । हालसम्म भाडाको सटरमा कार्यालय सञ्चालन गर्दै आएको संघले अब थाहा नपा–८ स्थित आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने महासचिव प्रधानले जानकारी दिए ।

थाहा नगर उद्योग वाणिज्य संघका रुपमा स्तरोन्नति गर्न मकवानपुर उद्योग वाणिज्य संघले सिफारिस दिएपछि दर्ता प्रक्रिया शुरु गरिएको हो ।



0 comments

Write Down Your Responses