bank

BANK





Powered by Blogger.
नारायणी अञ्चलमा हामीले अहिलेसम्म कुनै गुटगत ‘धार’ देखा पर्न दिएका छैनौं

अशोककुमार ठकुरी, अध्यक्ष, नेकपा एमाले, नारायणी अञ्चल सम्पर्क कमिटी 
अशोककुमार ठकुरी नेकपा एमाले नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष हुन् । लामो समय विद्यार्थी र युवा राजनीतिमा लागेका उनी केही वर्ष अघि मात्र सम्पर्क मञ्चको राजनीतिमा जोडिएका थिए । तर क्रियाशीलताकै कारण स्थापीत हुन उनलाई लामो समय लागेन । 

मकवानपुर सिस्नेरीका स्थायी बाशिन्दा ठकुरी पार्टीमा ‘आँखा चिम्लेर गुटको वकालत गर्न नहुने’ र काम गर्नेलाई माया गर्नुपर्ने धारणा राख्छन् । अनेरास्ववियुको राजनीति गर्दा पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु तर्फबाट सभापति जितेका उनी अहिले सांसद सुभाषचन्द्र ठकुरीको आफ्नै भाई भएपनि आफ्नै परिचय बोकेर उभिएका छन् । 

राजनीतिका अलावा आफ्नै उद्यमशिलतामा समेत लागेका उनी अबको समय पनि पुरापुर राजनीतिमै लगाउने सोच रहेको बताउँछन् । नारायणी अञ्चल सम्पर्क कमिटीमा कुनै गुटगत धारलाई प्रवेश गर्न नदिएको दावी गर्ने उनीसंग दामन पोष्टले लामो कुराकानी गरेको छ । प्रस्तुत छ ठकुरीसंग अञ्चलका गतिविधीमा केन्द्रीत रहेर गरिएको कुराकानी ः

नारायणी अञ्चल सम्पर्क कमिटीले कसरी काम अघि बढाइरहेको छ ?

नारायणी अञ्चलका ५ जिल्लाबाट काठमाडौंमा आएर अस्थायी रुपमा बसोबास गर्ने मान्छेहरु जो विभिन्न पेशा व्यवसायमा संलग्न हुनुहुन्छ, उहाँहरुको सुख दुखको साथी  नेकपा एमाले, नारायणी अञ्चल सम्पर्क कमिटी हो । यहाँ विभिन्न पेशा व्यवसायमा संलग्न रहनु भएका उहाँहरुलाई नेकपा एमालेको झण्डामुनी गोलबन्द र एकतावद्ध बनाउने जिम्मेवारी हाम्रो कमिटीलाई छ । 

हामीले यस कमिटी मार्फत हाम्रा झण्डामुनी आवद्ध विभिन्न पेशा व्यवसायमा आवद्ध साथीहरुलाई उहाँहरुको पेशा व्यावयायमा परेको असहजतालाई सहज पार्ने, कतिपय अवस्थामा बिरामी पर्दा भरथेग गर्ने, आर्थिक अवस्था नाजुक भएर  पढ्न नसकेकाहरुलाइै पढाइको प्रवन्ध गर्ने लगायतका काम गर्दै आइरहेका छौं । 

त्यती मात्र होइन सुरुमा काठमाडौं आउँदा बस्नको लागि नै पनि असहज अवस्था पर्न सक्छ । कतिपय काम गरेको स्थानमा साहुहरुले हेप्ने, पेल्ने गरेको भेटिन्छ । त्यस्तो अवस्थामा असहज कामलाई सहजतातिर लैजाने काममा नारायणी अञ्चल सम्पर्क कमिटी विगतका दिनमा पनि दिलोज्यान दिएर लागेको छ र आगामी दिनमा पनि लाग्नेछ । 

यस बाहेक पार्टीको सांगठानिक काममा पनि लाग्नुभएको छ, होइन र ?

हो, हामी केन्द्रीय  सम्पर्क समन्वय कमिटीको निर्देशन र हाम्रा कार्य क्षेत्रभित्रका अधिकारमा रहेर संगठन विस्तार र अन्य राजनीतिक कामहरुमा समेत केन्द्रीत भइरहेका छौं । सांगठानिक रुपमा कमिटीलाई व्यवस्थित गर्ने, आर्थिक रुपमा कमिटीलाई पारदर्शी ढगले अगाडि बढाउने जिम्मेवारीहरु पनि हाम्रो यथावतै छ । हाम्रा मातहत जिल्लागत रुपमा ५ जिल्लाका जिल्ला सम्पर्क मञ्च, त्यस मातहत क्षेत्रीय सम्पर्क मञ्च र बिभिन्न नगर सम्पर्क मञ्च र केही स्थानमा गाँउ सम्पर्क मञ्च समेत क्रियाशील छन् । 

यस अञ्चल सम्पर्क कमिटीको छाताभित्र कति सदस्य संगठित छन् ?

यस वर्ष मात्र ५ वटै जिल्ला सम्पर्क मञ्चहरुमा अधिवेशन सम्पन्न भए । नयाँ नेतृत्व चयन भएका छन् । ५ वटै जिल्लाका गरी नारायणी अञ्चलबाट आएर काठमाडौंमा बसोबास गर्ने सदस्यहरुको संगठित पंति र पार्टी सदस्य गरी करिव ५ हजार छन् । त्यसमा संगठित सदस्यहरु भने ७ सय जति हुनुहुन्छ । 

गैर एमालेलाई पनि एमालेको झण्डामा गोलबन्द गराउन प्रोत्साहीत गर्ने गरी के के काम गर्नुभएको छ ?

पहिलो त हामीले काठमाडौंमा रहने मान्छेहरुलाई असजिलो परेका खण्डमा ‘यो पार्टी,उ पार्टी’ नभनी सहयोग गर्छौं ।त्यसमाी हाम्रा पार्टीकै साथीहरुलाई सहयोग गर्ने हाम्रो कर्तव्य नै भयो ।

क्याम्पसमा भर्ना हुन नसकेकालाई भर्ना गरिदिने, फि तिर्न नसक्नेलाई फि निशुल्क गर्न पहल गर्ने, रोजेको कलेजमा रोजेको विषय पढ्नका लागि नाम निकाल्न नसकेको खण्डमा त्यसका लागि पहल गर्ने, कतिपय बेरोजगार साथीहरुलाई रोजगार दिलाइदिन सम्वन्धित निकायमा भनसुन र पहल गरिदिने, स्वास्थ्य उपचारमा सहयोग र आवश्यक प्रवन्ध गर्ने काममा गाह्रो, अफ्ठेरो पर्दा सिधै सम्पर्क मञ्चलाई सम्झने चलन छ । हामी त्यस्तो अवस्थामा कुनै अफ्ठेरो नमानी सक्दो पहलकदमी लिन्छौं । 

त्यतीमात्र होइन जिल्लाबाट इमरजेन्सी ढंगले ल्याइएका बिरामीहरुलाई कुन अस्पतालमा जैजाने भन्ने देखि लिएर सक्दो उपचारमा सहुलीयत मिलाउन सहल गरिरहेका हुन्छौं । कुर्ने मान्छे नहुँदा सम्पर्क मञ्चका साथीहरु परिचालन गर्ने सम्मका काम गरेका छौं । 

काठमाडौं बाहेक भूगोल केन्द्रीत कार्यक्रहरु चाँही गर्नुहुन्न ?

अवश्य गर्छौ । हामीले केन्द्र र भूगोललाई जोड्ने सेतुका रुपमा आफ्नो भूमिका प्रस्तुत गरिरहेका छौं । हाम्रा जिल्लाहरुमा बर्खा याममा आएको बाढी पहिरो पीडितलाई राहत व्यवस्था गर्नेदेखि स्थानीय स्तरमा विकास निर्माणमा लविङ गर्न र योजना पार्न पनि केन्द्रबाट पहल गरिरहेका हुन्छौं । भूकक्प, आगलागी तथा अन्य दैवी प्रकोप पर्दा काठमाडौंमा चन्दा संकलन गरेर, झोली थापेर पनि जिल्लाका दाजुभाई दिदिबहीनीहरुको चह¥याईरहेको घाउमा मल्हम लगाउने काम गरिरहेका छौं ।

 यसै वर्ष पनि महाभूकम्पले पीडितलाई पुनर्निर्माण र राहतका लागि हामी निक्कै लाग्यौं । सम्पर्क कमिटीले आर्थिक रुपमा सहयोगको अभियान त चलायौं नै, त्यसबाहेक ३५ दिनसम्म यस अञ्चलबाट १०० जना कार्यकर्ता फिल्डमा खटायौं । 

यसबाहेक अन्य ?

हामीले हाम्रा साथीहरु राजधानीमा क्रियाशिल भइसकेपछि केही न केही उद्यमशिलतामै केन्द्रीत हुनुपर्छ भन्ने कुरामा जोड दिने गरेका छौं । आर्थिक रुपमा स्वाबलम्बी हुनका लागि प्रशिक्षणहरु गर्ने, भैपरी आँउदा भरथेग गर्ने, सुखदुखका साथीका रुपमा सम्पर्क मञ्चहरुलाई विकास गर्ने काममा जुटेका छौं । यस कारण पनि मान्छेहरु सम्पर्क मञ्चमा आवद्ध हुन उत्साहीत भइरहेका छन् ।

सम्पर्क मञ्चलाई भूगोलमा राजनीति गर्नेहरुले प्रयोग मात्र गर्ने तर राजनीतिक हैसियत दिने काम भएन भन्ने गुनासो छ नी ?

हामीले भूगोलका निर्वाचनहरु हुँदा नेताहरुलाई असहज हुँदा हामीले उहाँहरुले अनुरोध गरे अनुसारको काममा सघाइरहेका पक्कै छौं । त्यो काम हेर्दा साँच्चै हामीलाई भूगाृलले प्रयोग मात्र पो गरेको हो की भन्ने भान हुन्छ । तर ‘पार्टीमा किन लाग्ने, राजनीति किन गरेको’ भन्ने कुरा नेकपा एमालेका कार्यकर्ताले मात्र होइन अन्य दलका कार्यकर्ताहरुले पनि पहिले नै बुझ्न जरुरी छ । 

एउटा वर्गा जो शोषित पीडित छ उनीहरुको उत्थान र सामाजिक परिवर्तनका लागि हो । त्यो वर्गलाई उत्साहीत पार्न, अफ्ठेरो पर्दा सहयोग गर्न राजनीति अपरिहार्य छ । हामीले यही काम गर्न राजनीति गरेका हौं भने यि काम अह्राउँदा किन प्रयोग भइयो भन्ने ? त्यसलाई त एउटा अवशरको रुपमा लिन सक्नुप¥यो नी ।

तर संसदीय फाँटमा जान पनि सम्पर्क मञ्चमा काम गरेकोलाई छेकबार लगाइन्छ नी ?

त्यस्तो पनि पूर्णतया होइन होला । सबै पार्टीकै कार्यकर्ता हुन् । कस्तो बेला कुन ठाँउमा कसको आवश्यकता छ भन्ने कुरा हेरे पार्टीले उपयुक्त जिम्मेवारी दिन सक्नुपर्छ । भूगोलमा काम गरेकाहरु उच्च प्राथमिकता पाउने र सम्पर्क कमिटीमा काम गरेकाहरुले उतिसारो महत्व नपाउने गर्दा त्यस्तो देखिएको हो । पार्टीको आठौं तथा नवौं महाधिवेशनबाट सम्पर्क मञ्चहरुबाट पनि निश्चित कोटा छुट्याइर प्रतिनिधी व्यवस्थापन गर्ने काम भएको छ । 

जिम्मेवारी पनि अलि बढी दिन थालिएको छ, त्यसैले अबका दिनमा पार्टी भूगोल र सम्पर्क कमिटीहरुका बीचमा पक्कै समन्वय हुनेछ भन्ने आशा पलाएको छ । 

संघीय प्रदेश विभाजन र नारायणी अञ्चल टुक्र्याएर केही जिल्ला २ नम्मर प्रदेश तथा केही जिल्ला राजधानी प्रदेशमा गाभिएको छ, यसले तपाईहरुलाई राजनीति गर्न कत्तिको समस्या पर्ने ठान्नुहुन्छ ?

नारायणी अञ्चलका राजधानीसंग जोडिएको केही जिल्लाहरु राजधानी प्रदेशमा गाभ्ने र तराईका जिल्ला २ नम्मर प्रदेशमा हाल्ने काम भएको छ । काम गर्ने सवालमा मलाई व्यत्तिगत रुपमा त खासै अफ्ठेरो पर्दैन । किनकी हिजो युवासंघमा, अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेको हुनाले मेरो आफ्नै ढंगको नेटवर्क पक्कै छ । तर हाम्रो देशकै अवस्थालाइृ विचार गर्ने हो भने पहाड, तराई र हिमाल मिलाएरै प्रदेशको सिमाङ्कन गर्दा अत्यन्त उत्तम हुन्थ्यो । 

विद्यार्थी, युवा राजनीति हुँदै सम्पर्क मञ्चबाट अञ्चलको नेतृत्व हाँक्दै हुनुहुन्छ, आगामि दिनको राजनीतिक योजना के छ ?

अहिलेसम्मको उमेर लगातार राजनीतिमै बिताइ सकियो । त्यस हिसाबले अबको जीवन पनि पार्टी राजनीतिमै बिताइन्छ । पार्टी कहाँ के जिम्मेवारी दिन्छ, त्यही भूमिका निर्वाह गरिन्छ । अब यो उमेरमा फेरि विद्याथी राजनीतिमा फर्किने कुरा पनि पक्कै भएन । त्यसो भएकाले यो कार्यकाल पछि पनि हेरेर पार्टीले पक्कै केही भूमिका दिनेछ भन्ने कुरामा आशावादी छु । 

पार्टी सरकारमा भएको अहिलेको अवस्थामा सम्पर्क कमिटीहरुले काम गर्न कत्तिको सहज अनुभुती भएको भएको छ ?

पार्टी सरकार बाहिर भएको अवस्थामा भन्दा सरकारमै रहेको अवस्थामा काम गर्न अलि सहज हुने त स्वभाविक नै भैहाल्यो । बजेट जिल्लामा लैजान पनि आफैं मन्त्री भएपछि मात्र सहज हुने भन्ने पनि अवस्था किन होइन भने एमाले अरुभन्दा बढी संस्थागत र फरक ढंगले चल्ने पार्टी हो । तर पनि नारायणी अञ्चल मधेसमा पनि पर्ने, पहाडमा पनि पर्ने हुनाले मन्त्री मण्डलमा भने अञ्चलको केही न केही प्रतिनिधित्व हुन सक्नुपथ्यो भन्ने लाग्छ । तर १६ पार्टी मिलेर बनाएको सरकार भएकाले यसका आफ्नै सिमितता र वाध्यताहरु पक्कै नभएका होइनन् । 

यो पटक मन्त्री मण्डलमा समावेश गर्न नसके पनि हामीले सम्पर्क मञ्चका तर्फबाट सांसदहरुलाई पनि सुझाव दिइरहेका छौं । पार्टीकै नेताहरुसंग पनि हाम्रो पहुँच ठिकै खालको भएको हुनाले नारायणी अञ्चलमा विकास निर्माण र बजेट पार्ने सवालमा काम भइनै रहेका छन् । पुल, बाटोघाटो, नदी नियन्त्रण,पर्यटकीय ठाँउहरुको विकास र विस्तार, देशैभरी विकराल बनेको बेरोजगारी समस्याको व्यवस्थापन लगायतका कुराहरुमा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने हाम्रो आग्रह हो । 

तपाईको गृह जिल्ला मकवानपुरमा केही जनसंगठनमा समानान्तर कमिटी समेत बनेको छ, नारायणी सम्पर्क कमिटीमा पनि गुटबन्दीको प्रभाव देखिने हो की भन्ने चिन्ता छ नी ?

तपाईले यो प्रश्न सोधेर राम्रो गर्नुभयो । मलाई पनि एउटा आरोप कि ‘अशोकजी के लाइन, के लाइन ’ लाइन नै प्रस्ट देखिएन भन्नेहरु धेरै छन् । मेरो प्रष्ट धारण लाइन भनेको जहिले पनि पार्टीको लाइन नै हुनुपर्छ । केन्द्रमा जुन नेतृत्व आयो त्यो नेतृत्वलाई ५ वर्ष मध्ये  ४ वर्ष ६ महिनासम्म हामीले पुरापुर सहयोग गर्नुपर्छ र त्यो छ महिना मात्र चुनाव लाग्नुपर्छ । राष्ट्रिय राजनीतिक विषयमा कहिले काँही पार्टी नेतृत्व भएपनि सही खालको धारणा ल्याउन सक्दैन त्यस्तो बेलामा जुन नेताले धारण ठिक ल्याउन सक्नुहुन्छ हामीले उहाँलाई नै ठिक भन्नुपर्ने हुन्छ । 

सधै आँखा चिम्लीएर लाइन मात्र भन्न थालियो भने पार्टी सही ढंगले अघि बढ्न सक्दैन । मकवानपुरको भूगोलको कुरा गर्दा जिल्ला अधिवेशन पश्चात केही धारहरु नचाहिने ढंगले अगाडि बढीरहेको भन्ने मैले सुनिरहेको छु । तर अहिले जो मान्छेहरु एउटा धार भनेर अगाडि बढ्नुभाछ त्यो गलत छ । पार्टीलाई समग्र रुपमा नेतृत्व गर्न नसक्ने मान्छेहरु एउटा धारको मात्र नेतृत्व गरेर अगाडि बढ्न खोज्छन् । 

नेकपा एमाले भनेको दुइवटा छैन । जहिल्यै एउटा छ । त्यो एउटा भित्र महाधिवेशन वा जिल्ला सम्मेलनको बेला आफ्नो टिमलाई अगाडि ल्याउन एउटा धार बनाएर अगाडि बढ्यो होला । तर सम्मेलन सकिएपछि त धार सकिनुप¥यो नी । नारायणी सम्पर्क कमिटीको कुरा गर्दा हामीले ५ वटै सम्पर्क मञ्चका सम्मेलन सम्पन्न ग¥यौं । कुनै ठाँउमा अहिलेसम्म कुनै धार देखा पर्न दिएका छैनौं । 

हामीले काम गर्ने र क्रियाशीलताका आधारमा स्थापीत हुने मान्छेलाई अगाडि ल्याउनका लागि प्रोत्साहीत गरेका छौं । त्यो पनि निर्वाचन वा सर्वसम्मत विधिबाट । हामीले ५ जिल्लामध्ये ४ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन ग¥यौं । एउटा जिल्लामा अध्यक्ष र कोषाध्यक्षको मात्र निर्वाचन भयो । त्यहाँ पनि धार भनेर निर्वाचन भएन की व्यत्तिगत ढंगले प्रतिश्पर्धा भयो ।

नारायणी अञ्चल भरीबाट राजधानीमा बसोबास गर्ने एमालेको सबै पेशागत क्षेत्रको विशाल पंतिमा यो कमिटी पुग्नै सकेको छैन भनिन्छ नी ?

हामीले योजना अघि सारीदिने हो र त्यही रुपमा जिल्ला सम्पर्क मञ्चहरु अगाडि बढ्ने हो । हाम्रो काम त समन्वयात्मक ढंगले कमिटी परिचालन गर्ने मात्र हो । हाम्रो खासगरी काम गर्नका लागि देखिएको ३ फाँट हो । मजदुर, युवा–विद्यार्थी  र पेशागत फाँटमा अझ मसिनो गरी जानु आवश्यक पक्कै छ । हरेक मञ्चले विभिन्न विभाग बनाएर यसलाई अझ गहन ढंगले काम अघि बढाइरहनु भएको छ । यो संगठन थप व्यवस्थित पनि भइरहेको नै छ । 

तर पनि सोचेजस्तो काम त नभएकै हो नी ?

केही कठिनाईहरु पक्कै छन् । विभिन्न पेशा व्यवसाय गर्ने भनेपछि मान्छेहरु हप्तामा ६ दिन काममै व्यस्त हुन्छ । हप्तामा ६ दिन व्यस्त भएका मान्छेहरुलाई हामीले सातौं दिनमा बोलाइ दिए पछि सातौं दिनमा घर सरसफाई गर्ने, लुगा धुने, आफन्तहरुलाई भेट्ने, बोलाएर संगै खाना खाने, मठ मन्दीर तथा घुमफिरमा जाने जस्ता कार्यक्रहरु पर्दो रहेछ । 

यि यि कारणले गर्दा हामीले भने जसरी मान्छेहरु व्यापक सहभागिता हुन नसक्ने रहेछ । तर पनि जुनसुकै सम्पर्क मञ्चले छोटो तयारीमा भेला गर्दा पनि सय जना भन्दा कम कहिल्यै भएको छैन ।

नारायणी सम्पर्क कमिटीले मूर्त रुप दिने भनेर सोचेका विशेष योजनाहरु के के छन् ?

तत्काल सम्पर्क मञ्चमा आवद्ध भइसकेपछि देशका राजनीतिका बारेमा सुसुचित गराउनु पर्छ । त्यसका लागि हामीले राजनीतिक तथा सांगठानिक प्रशिक्षण अभियान चलाउने र देश र समाजप्रतिको दायित्व बुझाउने काम गर्ने सोचिरहेका छौं । यसलाई अभियानकै रुपमा केन्द्रीत गरिनेछ । त्यतिमात्र होइन, मान्छेले कुरा मात्र बुझेर हुँदैन, विभिन्न पेशा व्यवसाय गरेर बाँच्नुपर्ने हुन्छ । 

त्यसका लागि प्रत्येक मान्छेहरु जो व्यवसाय गर्दैनन् उनीहरुलाई समेत व्यवसायिक बनाउन प्रशिक्षण तथा शिविरहरु सञ्चालन गर्ने योजना बनाएका छौं । आगामी वैशाखदेखि यि दुईवटा कार्यक्रम संससंगै लैजाने योजना बनाएका छौं । यसमा सहयोग र सद्भावका लागि म सम्पूर्ण कमरेडहरुलाई विशेष आग्रह गर्दछु । 



















0 comments

Write Down Your Responses