Powered by Blogger.
रुपचन्द्र बिष्ट पहेँलो बस्त्र र कमण्डलु बोकेर एक्कासी नारायणघाटामा कसरी झुल्कीए ?

रणसंग्राम बिष्ट
असार ७ अर्थात रुदानेको स्मृति दिवस । १७ बर्ष बितेछ रुदानेले यो धर्तीबाट आफ्नो पार्थिब शरीर छोडेको । यी दौरानमा घर्तिखोला लगायत  दामन –पालुङ उपत्यका हुँदै बग्ने खोलाबाट  कति पानी बगेर कुलेखानीको बाँधमा जम्मा भयो होला ? अनि कति बिजुली उत्पादन भएर नेपालीहरुका घरघरमा पुग्यो होला ?  

सायद हिसाब किताब कोहीसंग पनि छैन होला ! अनि जनहितका नाममा यो देशमा के कति आन्दोलन, परिवर्तन साथै सन्धि सम्झौता भए  ? अनि कति वटा शासक ढले ? के कति नयाँ शासकहरु उदाए ? जनसाधारणले के कति हेक्का राखे या पक्ष विपक्षको जुवारी खेलमा मात्रै सिमित रहे ? 

के यो देशमा साँच्चै रुदानेले लागु गर्न खोजेको जस्तै जनमुखी संबिधान.. कानुन, बजेट र सरकार  आएको हो त ? के साच्चै  जनसाधरणले  इन्शाफ, बिकास र प्रगति अब पाउछन्  त ? यी दौरानका भएको परिवर्तन भाब, बिचार र व्यबहारमा आधारित थिए त ? आदि इत्यादी मात्रै होइन  धेरै प्रश्नहरु  उब्जिन थाल्यो, रुदानेको इतिहासलाई  स्मरण गर्दा । 

उनको देहावसान पछि बिभिन्न संचार माध्यममा आएको उनका जीवनी , मृत्यु , थाहा दर्शन र जनमुखी राजनीतिको बिषयमा जे जति कुरा आवरणमा आयो त्यो सबै सत्य नै थियो त ?  या हचुवाको भरमा .. वा जान्न नखोजेका तर जानेका स्वाङ पार्ने स्वाठहरुले लेख्ने, फलाक्ने काम गरे ? वा षड्यन्त्रकारीले  प्रायोजित ढंगबाट प्रचार गरेका हुन् ? 

आज यिनै कुराको सेरोफेरोमा रहेर यो सानो आलेखमा अति  नै छोटकरीको रुपमा समेट्न कोसिस गर्दैछु ।

२६ पुस १९९० मा जन्मेका  रुदाने छैटीको दिनमा (जन्मेको ६ दिन) आमा चित्रकुमारी आफ्नो दोस्रो  छोराको भाग्य भावीले लेख्ने दिन भन्दै उत्साहका साथमा कलश, बत्ती, धुप, फलफूल साथै आवश्यक सरसमान तयारी गर्दै गर्दा यो देशमा ठुलो महाभूकम्प आएको थियो रे !

आमाले छोरो च्यापेर भाग्ने क्रममा खोला पारी चौर (बिकास बारी) पुग्दा थाँग्ना मात्रै आफ्नो काखीमा हुँदा  अतालिदै छोरो खोज्न आउँदा मुला बारीमा घोप्टो परी रहेका अबस्थामा भेटिएका थिए रे ति न्वारान नै नभएका ६ दिने बालक !
  
बाजे डिठ्ठा नरकेशरका बाबु  खरदार भिम बहादुरले किर्तिपुरबाट घर बनाउने डकर्मी झिकाइ बि.सं १९४३ तिर घर्तीखोलामा चार तले इट्टा, झिँगटीले  बनाएको त्यो बेलाको गाँउभरीकै अलिशान घरमा जन्मेका ति बालक आफ्नो छैटीको दिन खुल्ला आकाशमा र  नवौं दिन देखि तीन महिनासम्म महा भूकम्प अनि पराकम्पनको कारणले  स्याउले छाप्रोमा आस्रित आमाको काखमा हुर्केका थिए । 

अलिसान घरमा जन्मे पनि स्याउले छाप्रोमा पुरोहित बोलाइ न्वारन गरिएका ती बालकका बाबु तत्कालीन श्री ३ जुद्ध समशेरका हुजुरिया कप्तान पदमबहादुर बिष्टबाट उनलाई बोलाउने नाम केदार अनि थर बिष्ट पाएका थिए रे । 

सानै देखि बिद्रोही स्वभाव भएका बालक केदार चार दिवारीको बन्देजको बाबजुद पनि समाजसेवामा तल्लिन आफ्नो आमालाई कहिले पनि दुख कष्ट दिएनन् रे । ज्यू , हजुरलाई, समर्थन, सुरक्षा र प्रोत्साहन  गर्ने उनका बाबु र त्यहीँ प्रथाको विरुद्ध बिद्रोह गर्ने सानो बालक केदार बाबुको नजरमा तारो थिए तर  लुकिछिपी समाजसेवा गर्ने आमाको नजरमा तारा नै थिए ।

बाबु र छोराको बिचार ,स्वभाव र व्यबहार नमिल्दा आखिर १० बर्षको कलिलो  उमेरमा  सुबिधाजन्य घर , कुलिन जीवनशैली अनि बाबुले दिएका नाम पनि  त्यागेर आफ्नो न्वारान आफै गरि  रुपचन्द्र नाम राखेर सत्य र ठिकको यात्रामा  हिडेका थिए ।

जीवन र जगतलाई बुझ्न् एक्लै हिँडेका कलिला मस्तिष्कका ति बालक काठमाडौ आई अरुका घरमा भान्से, घरेलुु कामदार बनेर आफ्नो जीवनयापनका साथै पढ्ने कामलाई पनि निरन्तर दिन थाले । यी दौरानमा देशमा राजनीतिक परिवर्तनको नारा गुन्जिन थाल्यो । १६ बर्षे रुपचन्द्र पहिलो पल्ट पदमबहादुर बुढाथोकीले २००६ सालमा आयोजना गरेका पन्च भेलामा पढ्ने कामलाई थाती राखेर सहभागी भएका थिए । २००७ सालको राणा शासन बिरुद्धको आन्दोलनमा सहभागी हुँदै विद्यार्थी राजनीति गर्दै २००९ सालमा  कम्युनिष्ट पार्टीको सदस्य लिए । भूमिगत राजनीतिक यात्रा शुरु गरेका रुपचन्द्र संगठनको काम गर्ने सिलसिलामा  पक्राउ परे र ऊनी जुन घरबाट पक्राउ परे त्यो ठाउँ पार्टीको जिम्मेवार केही सदस्यलाई मात्रै थाहा थियो रे ? 

र, जेलबाट छुटेर आए पछि मिटिङ राखी उनलाई पक्राउ गरेर तत्कालीन सरकारलाई  सहयोग गर्ने जासुस पार्टी भित्र रहेको तिनका पहिचान हुन पर्ने अडान राख्दा पार्टीले बेवास्था गरेकोले नेतृत्वको आलोचना गर्दै २ बर्ष काम गरि  अन्ततः २०११ सालमा पार्टीलाई त्यागेर आफ्नै ढंगमा जनसाधारणलाई सचेत अनि संगठित गराउदै हिड्न थाले ।

यिनै दौरानमा काठमाडौंको पश्चिमी भेग किर्तिपुर, बोसे गाउँ ,नैकाप, सतुङ्गल लगायत कालीमाटीमा ‘धर्म भकारी’ स्थापना गर्दै समाजमा मान्छे भएर जन्मे पछि समाजप्रति हरेक नागरिकको केहि न केहि  दाहित्व हुनुपर्छ भन्दै ‘सक्दो सबैले, पुग्दो सरिलाई’ भन्ने नारालाई अगाडि सारी केही  नागरिकहरुलाई मितव्ययितामा सहभागी गराई केही बिद्यालय निर्माण गर्ने र पढाउने काम गर्न थाले । त्यसै क्रममा २०१५ सालको आम निर्वाचनमा स्वतन्त्र उमेद्वारका रूपमा भाग लिए तर पराजित भए । 

यिनै दौरानमा जीवनयापन र श्रमको गाथाको महत्वलाई  अनुभव गर्नको साथै थाती राखेका पढ्ने कामलाई पुरा गर्नको साथै स्वावलम्बन हुनको लागी  केही पैसाको जोहो गर्न ट्रकको खलासी हुदै चालक बनेर त्रिभुवन राजपथमा करिब ७ महिना ट्रक चलाए । सो कार्यबाट केहि पैसा जोहो गरेर २६ बर्षको उमेरमा सिताराम हाइ स्कुलबाट   तत्कालिन म्याट्रिक अर्थात एसएलसी पास गर्न सफल भए ।  त्यसपछि उनी त्रिचन्द्र कलेज भर्ना भएर आईए हुदै  बिए र बिएल सम्मको अध्यनको दौरानमा रुप ०१८–१९ सालमा काठमाडौको कालिमाटी गाउ पंचायतको चुनाबमा भाग लिइ अत्याधिक मतमा बिजय भए ।  तर प्रहरी प्रशासनले पक्राउ गर्ने भए पछि सपथ नै नलिकन भूमिगत भए । 

तीन बर्ष भूमिगत हुदै फेरि ०२१–२२ सालको उपनिर्बाचनमा दामन, पालुङको प्रधान पञ्चमा निर्वाचित भए  । उनलाई फेरि प्रशासनले पक्राउ गर्न खोज्यो तर व्यापक जन बिरोधलाई थेग्न नसकेर प्रशासन असफल भयो । यसरी प्रधानपञ्च भए पछि  बिकास निर्माणको काममा आफू नै पहिले अघिसर्दै जनताहरुलाई प्रत्यक्षरुपमा सहभागी बनाउने उद्देश्यका साथमा ‘जनशक्ति जनहितको निम्ति’ भन्ने नारालाई अघि सार्दै जनताको प्रत्यक्ष सहभागितामा हरेक घरबाट कम्तिमा १ जना १६ बर्ष पुगेका ६० ननाघेकाले महिनामा १ दिन जनहितको (समाज) लागि काम गर्नै पर्ने प्रस्ताव राखि गाउँका सबै जनताको भेला गराएर बहुमतबाट (हात उठाएर ) पारित गरेर एउटा ठुलो प्रगतिशील  आन्दोलन अघि बढाए  । यिनै दौरानमा  पालुङमा बिकास घर, सामुहिक खेती (विकास खेत र विकास बारीमा), आधुनिक खेती र आधुनिक पशुपालन,सामुदायिक वन साथै धर्म भकारीको (सक्दो सबैले ,पुग्दो सरिलाई ) अबधारणा ल्याएर गाउँको जीवनशैलीमा कायापलट गरि दिए । 

गाउँका शोषक सामन्ती मात्रै होइन सिङ्गो राज्य नै  यी कार्य देखि डराएर आखिर प्रधानप ञ्च रुपचन्द्रलाई ‘शान्ति सुरक्षा’ भन्दै सार्वजनिक  मुद्दा लगाएर झ्यालखानामा हाले । यही दौरानमा रुपचन्द्रलाई राज्यबाट विभिन्न भौतिक  प्रलोभन (धन, मन्त्री पद इत्यादीले ) लोभ्याउने काम भयो ।  तर खाने, लाउने र मस्ती गर्ने उमेरमै  कुलिनता, बिरासतलाई लात हानेर  हिँडेका, जीवन र जगतको महिमा, गरिमा र उद्देश्य बुझेका, जन्म संयोग होइन, आबश्यकता हो भन्ने ति ईमानका पहाडले ‘ब्यक्तिगत स्वार्थ भनेको रछान हो त्यसमा किटाणु मात्रै रमाउँछ मान्छे होइन ’ भन्दै इन्कार गरेपछि अझै यातना दिन गोलघरमा केही महिना राख्ने काम भयो । 

जेलको बसाईको दौरानमा उनले नाताले नजिकको आफन्त पर्ने पाँच बर्षे बालकलाई  चिट्ठी लेखेका थिए जुन चिट्ठीको विवरण यस्तो थियो ।

पुन्टे, अब त अक्षर चिन्ने भयौं होला ..!
सानो हुँदा तिमी चङ्गा उड्यो भनेर रमाउँथ्यौ.
चङ्गा होइन जीवनमा आफै उडेर रमाउँदा बेस.. !
अहिले म  नेपाल भन्ने जेलको पनि सानो जेल भित्र  छु । अनि तिमी अलि ठुलो जेलमा, फरक यति मात्रै ? 

उहीँ तिम्रो जुङे माइकाइ

करिब दुई बर्षको जेलको बन्दी जीवन बिताएर जब रुपचन्द्र दामन पालुङ आए ।  आउँदाखेरि उनले जे देखे उनी जिल्लराम परे । उनले जनताको प्रत्यक्ष सहभागिता साथै अनुमोदन गरि बनाएको विभिन्न वडा र गाउँको बिकास कार्य समिति, उपसमिति सबै भंग भै सकेको थियो । विकास बारी र विकास खेत बाँझो चौरमा परिणत, धर्म भकारी बन्द, आइएनजिओ र एनजिओको चहलपहल साथै कुप्रभावमा परेकाले अब जनतालाई शिक्षित गरे पछी मात्रै उनले लिएको उद्देश्य पूरा हुने देखेर उनले शिक्षालाई नै जोड दिने संकल्प लिए ।

त्यो समयमा सेती गणेश स्कुल प्राथमिक  मात्रैमा सिमित भएकोले अर्को अमर निम्न माध्यमिक विद्यालयलाई  जनकल्याण हाइ स्कुलमा रुपान्तरणको साथै  उच्च प्राथमिकतामा राखेर शिक्षा आन्दोलन चलाए ।  ती दौरानमा हाइ स्कुलमा पढ्ने विद्यार्थीलाई हरेक वडामा खुलेको बिहानी र साँझको स्कुलमा पढाउन लगाएर होस या हरेक विद्यार्थीले बिद्यालय आउँदा हरेक दिन एकएक वटा ढुङ्गा अनिबार्य ल्याउन पर्ने नियम बनाएर होस, आखिर उनले जनकल्याण स्कुलको भबन बनाएरै छाडे । 

यिनै दौरानमा शिक्षाको महत्वलाई दर्शाउन विभिन्न  नाराका साथ कविता, गीत लेखेर जनता समक्ष राखे ।  यही क्रममा उनको प्रेम विबाह उमा शाहसंग भयो । करिब २ बर्ष शिक्षा क्षेत्रमा चलाएको आन्दोलन एक ढंगले सफलताको सिँढीमा पु¥याए  पछि जनकल्याण हाइ स्कुलका  प्रधानअध्यापकको पद छोडेर २०२८ सालमा घोषणा पत्र सहित स्नातकको चुनावमा भाग लिए  । त्यो बेला  झिनो मतमा पराजित हुन पुगेका रुदाने त्यसै सालको माघ १ गते देबघाटमा (नारायणघाट ) आफन्त नातेदारको चुडाकर्म गरिएको कार्यक्रममा अकस्मात् देखा परेका थिए । सुरुमा राम्रैसंग कुराकानी गरिरहेका उनी अचानक अस्वभाविक कुराहरु गर्दै निर्बस्त्र हुदै नारायणी नदिमा हामफालेर बेपत्ता भएका थिए । 

किन बेपत्ता भएका थिए त रुपचन्द्र त्यस्तो के परेको थियो त उनलाई ? उनी नदिमा हाम्फालेर कता गए ? अनि के के गरे ? पछि  पुर्ण लेखमा आउने छ । 

२०२९ साल नारायण घाटको कुरो हो ।  एउटा हातमा कमण्डलु बोकेको ,पहेँलो बस्त्र धारण गरेको, दारी कपाल पालेको एउटा जोगिले मलाई ‘एता आउ त पुन्टे’ भनेर बोलाउँदा म डरले भागेर आमा कहाँ पुगे ।  ‘आमा बाहिर एउटा जोगी आएको छ र मलाई एता आउ भनेर बोलाएको थियो तर भागेर तपाईं कहाँ आएको’ भन्दा आमा हत्तपत्त अतालिदै बाहिर आउँदा जोगी र आमाको  केहि समय हेरा हेर भयो । जोगी हासेर बोल्दा मात्रै आमाले चिन्नु भयो र उत्साहित हुदै ‘उहाँ जोगी होइन, तिमी सानो हुँदा पालुङमा चङ्गा लट्टाई लिएर आउने तिम्रो काका अर्थात माइलो काजी (आमाले संबोधन गर्ने नाताको नाम) करिब एक बर्ष बेपत्ता भएका थिए । र, म¥यो कि बाँच्यो भन्ने खबर सम्म पनि नपाएको अबस्थामा आफ्नो भाइ अकस्मात् देखा पर्दा मेरो बुबा,  लगायत सम्पुर्ण परिबारका सदस्यहरुको आँखाबाट हर्षको आसु बगेको  थियो त्यो दिन ।

करिब दुई तीन दिन नारायणघाट बसेर यो पङ्तिकारको औपचारिक नाम नै परिवर्तन अनि उनका भाइको छोराहरुका पनि नामै परिवर्तन गरेर उनी आफ्नो जन्म थलो साथै कर्म थलो दामन पालुङ तिर हानिए ।आफुले अधुरो छोडेर  गएको जनकल्याण हाई स्कुल त्यो बेलामा आर्थिक अभावको कारणले चरम संकटमा गुज्रीहेको अबस्थालाई मध्ये नजर गर्दै फेरि स्कुलको जिम्मेवारी समाल्दै  सम्पुर्ण जनताको उपस्थितिमा पाविस ३१ (पालुङ विकास समिति) गठन गरी दामन पालुङमा उत्पादित तरकारी, चौपाया लगायत अन्य चिजहरुमा कर लगाएर उक्त करको आम्दानी खर्चको हिसाब किताब दैनिक सुचना पाटीमा दुरुस्त प्रकाशित गर्दै स्कुल सञ्चालनको साथै अन्य विकास कार्यमा सहभागी जनाउन थाले । फेरि दामन पालुङको विकास साथै शिक्षाको गुणस्तरमा क्रान्तिकारी परिवर्तन हुँदा राज्य र स्थानीय शोषक, सामन्ती र गाउकै लोभीपापी मिलेर रुपचन्द्र अनि उनको अभियानको विरुद्धमा षड्यन्त्रको जालो बुन्न थाले ।

रुपचन्द्रले स्थापित स्कुलका थीतिहरु तत्कालीन राष्ट्रिय गानको सट्टा घोषणा.. गाउन पर्ने, विद्यार्थीले शारीरिक अभ्यास गर्नुपर्ने ,शिक्षक लगायत सम्पुर्ण विद्यार्थीहरुले स्कुलको स्तर उन्नतिका लागि  श्रमदान गर्नुपर्ने लगायत अन्य धेरै स्थापित बैज्ञानिक शिक्षामुखी बिधिको विरुद्धमा बहुसंख्यक विद्यार्थीको माग हो भन्दै  रातोरात किर्ते हस्ताक्षर गरेर, सरकारी पैसाको खोलो बगाएर, लोभी पापीलाई किनेर स्कुलको संचालक समितिमा पेश भए पछि रुपचन्द्र बिष्टले हाइ स्कुल साथै पछि गएर पाबिस ३१ बाट राजिनामा दिएर जनतालाई म नचाहेको रहेछ’ भन्दै सिम भञ्ज्याङमा गोठ बनाएर बाख्रा पालन गरेर एउटा गोठालोको जीवन यापन गरेर बसे ।

हरेक कुराहरूलाई मसिनोसंग अध्यन गर्ने स्वभाव भएका उनले बाख्रा पाल्दा एकातिर बाख्रा पाल्ने बैज्ञानिक विधिको अध्यन गर्दै थिए भने अर्को तिर दामनको जंगलमा पाइने जैविक जडिबुटी अनि प्रयोग गर्ने बिधिको साथै विभिन्न वनस्पतिहरुको पनि मसिनोसंग अध्यन गरेका थिए । 

करिब करिब ८ महिना जति बाख्रा पालन अनि प्राकृति अध्यनमा  आफ्नो जीवनकाल बिताएर उनले दामन टावरमा होटल तथा रेस्टुरेन्ट चलाउन थाले । ती दौरानमा खगोल शास्त्रको मसिनो अध्यन साथै ध्यान, पतञ्जली योग सुत्रको हठ योग करिब करिब ७ बर्ष कठोर अभ्यास गर्नुको साथै कुकुरहरू पालेर त्यस सम्बन्धमा पनि अध्यन (यी कुराको बर्णन पुर्ण लेखमा ) गर्दै गर्दा देशमा बिद्यार्थी आन्दोलनद्वरा आएको जनमतसंग्रहमा उनले पुरै निलो रंगको लुगा लगाएर हिड्ने काम गरेका थिए । 

र सुधरिएको पञ्चायती व्यवस्थाले जनअधिकारलाई अलि खुकुलो गर्दा उक्त अधिकार उपयोग गर्ने रणनीति अनुरुप २०३८ सालको आम निर्वाचनमा घोषणा पत्र सहित केदार, रुपचन्द्र, रुप अनि समयसंग जुधेर.., माझिएर..अभ्यास, साधना र तपस्या गरेर दार्शनिकमा रुपान्तरण भैसकेका रुदानेले (रुप, दामन, नेपाल) ‘थाहा दर्शन’ र जनमुखी राजनीतिलाई अघि सारेर चुनावी मैदानमा अन्ततः फेरि जसरु (जनमुखी सहकर्मी   रुपचन्द्र)नाममा उत्रिए । 

                         ध्यान
              भाब, बिचार, व्यबहार, 
          निष्पक्ष, सक्रियताको, अभ्यास,
जीवन, जगत,अबस्था,ब्यबस्था,आबश्यकता

सत्य, इन्साफ, अधिकार, बिकास र प्रगति अर्थात थाहा दर्शनको सुत्रलाई  लामा लामा ब्याख्या गर्दै र चुनावी घोषणापत्र र पर्चाहरुलाइ बिक्री गरेर (जनताको राजनीतिमा जनताको लगानी हुन पर्छ ) मकवानपुरका जनसाधारणको हजुरमा उजुर हाल्ने काम गर्न थाले । सत्य र ठिकले बनेको थाहा दर्शन अनि ईमान, बिबेक र प्रेमले बनेको जनमुखी राजनीतिलाई चुनावी सभामा राखेर ब्याख्या गर्दै बहुसंख्यक जनसाधारणबाट हात उठाएर अनुमोदन गराउदै हिँड्न थाले  ति दौरानमा बिरोधिहरुलाई पनि जनमुखी सभामा आफ्ना बिचार राख्न दिएर बैचारिक स्वतन्त्रताको अभ्यास उनले गरे । 

मकवानपुरको बिकट गाउँ गाउँमा  जनमुखी सभा गरेर हरेक जनताले  राजनीतिमा सकृय साथै  प्रत्यक्ष रुपमा सहभागिता जनाउनु पर्छ ,जनताले चुनेका प्रतिनिधि जनताको अधिनमा हुनुपर्छ, जति जन अधिकार हुन्छ त्यति इन्शाफ, बिकास र प्रगति जति शासन बढ्छ  अन्याय, अत्याचार र भ्रष्ट्चार आदि.इत्यादी  भन्ने रुदानेको बिचारलाई  बहुसंख्यक जनताबाट अनुमोदन हुदा ऊनी रापसमा निर्बाचित हुन पुगे । 


(रणसंग्राम विष्ट रुदानेको भतिजा तथा थाहा अभियानका एक शसक्त सहयोगी हुन् । मकवानपुरका डाँडापाखामा तत्कालिन  शासक  तथा व्यवस्थाका पक्षधर मण्डलेहरुले रुदानेको चुनावी अभियान बिथोल्न खोज्दा रुदानेसंगै हिँडेर उहाँलाई ठूलो सहयोग गर्ने विष्टले रुदानेसंग लामो समय नजिकै हुने मौका समेत पाए । तसर्थ उनलाई रुदानेसम्वन्धी बाहिर नआएका थुप्रै जानकारीहरुको ज्ञान छ । रुदानेको आरोह अवरोह र योगदान तथा जीवनकालका सम्पूर्ण घटनाक्रमलाई तथ्यमा समेटेर एउटा पुस्तक प्रकाशन गर्ने उद्द्ेश्यका साथ हाल त्यसैमा व्यस्त विष्टको यो लेख पनि आँशिक मात्रै हो । ०३८ देखी ०५६ सम्मको उनको राजनीतिक यात्रा, थाह दर्शन अनि जनमुखी राजनीति र  रुदानेले लेखेका पर्चाहरुलाई समेटेर पूर्ण लेख सक्दो चाँडो प्रकाशित गर्ने प्रतिवद्धता विष्टले दामनपोष्ट समक्ष गरेका छन् । विष्टले इमेलमार्फत पठाएको यो लेखमा विना आधार व्यत्ति केन्द्रीत गरि लाञ्छित गरिएको  एक प्रसंगबाहेक अन्य सबै हुबहु प्रकाशित गरिएको छ ।)–सम्पादक






0 comments

Write Down Your Responses