Powered by Blogger.
सूचनाको हकमा १० प्रतिशतको मात्र पहुँच


काठमाडौं । प्रेस काउन्सिल नेपाल र राष्ट्रिय सूचना आयोगको आयोजनामा आयोजित अन्तक्रियामा वक्ताहरुले सूचनाको हकको उपभोगमा १० प्रतिशत नेपालीको मात्र पहुँच हुन सकेको बताएका छन् । बिहीबार प्रेस काउन्सिलमा आयोजना भएको कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । 

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले पौने तीन करोड नेपालीमा १२ जनाले मात्र सूचना मागको पुनरावदेन गरेको तथ्यवाट सूचनाको हकको उपभोगको अवस्था छर्लङ्ग भएको बताउनुभयो । अहिले ३१ वटै मन्त्रालयमा फोटोसहितको सूचना अधिकारीको ब्यवस्था गरिएको , पचहत्तरै जिल्लाका स्थानीय विकास अधिकारीलाई स्थानीय सरकारको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गर्न निर्देश गरिएको बताउनुभयो । 

जिल्लामा पहिले कार्यालय प्रमुखहरुको वैठक वस्थ्यो अहिले सवै कार्यालयका सूचना अधिकारीको वैठक वस्ने गरेकोले केही सुधार हुँदै गरेको प्रमुख आयुक्तको धारणा थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले सूचनाको हकमा नागरिकको पहुँच नभएको र नागरिकको यसप्रकारको अधिकारमा मिडियाले समन्वय गरि महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेकोमा सराहना व्यक्त गर्नुभयो ।

लोकतन्त्रमा नागरिक सर्वोच्च हुन्छन्, सूचनाको हक नागरिकको अधिकार भएको भन्दै प्रशासकीय अदालतका प्रमुख काशीराज दाहालले कार्यविधि झन्झटिलो भएकोले सूचनाको हकको कार्यान्वयनमा प्रभावकारिता नभएको वताउनुभयो । दाहालले सार्वजनिक हित, सुशासन कायम गर्न सूचनाको प्रवाह गर्न मिडियाको भूमिका अतुलनीय रहेको धारणा राख्नुभयो । राजनीतिक छाप र आर्थिक प्रभावले गर्दा सूचनाको अधिकार कुन्ठित भएको र मिडियाले नागरिकको सुचनाको पहुँचलाई वृद्धि गर्न नसकेको यथार्थता डा.सुरेश आचार्यले वताउनुभयो ।

कार्यक्रममा मानवअधिकार सञ्चार प्रतिष्ठानका अध्यक्ष अमृता लम्साल र मिडिया सेन्टर नेपालका संयोजक गोबिन्द आचार्यले सूचनाको हकसम्वन्धि राष्ट्रिय अन्तरराष्ट्रिय अभ्यास, अनुभवलाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

७० बढीको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, मधेशी पत्रकार समाजका मोहन सिंह, एनपीआईका तीर्थ कोइराला, लोकतान्त्रिक छापामाध्यम सञ्जालका दामोदरप्रसाद दवाडी, दिव्यचक्षु साप्ताहिकका पद्मभक्त खरेल, सूचना आयोगका आयुक्तद्वय यशोदा तिम्सिना, किरण पोखरेल लगायतले धारणा राख्नुभएको थियो ।


0 comments

Write Down Your Responses