Powered by Blogger.
रेडक्रसकर्मीले मनाए बेपत्ता दिवस


काठमाडौं, १४ भदौ । “मैले छोरीलाई धेरै ठाउमा खोजें, कहाँ जाउँ कहाँ जाँउ भयो । चिन्ता मुक्त नभएसम्म र छोरी फेला नपारेसम्म हिंडिरहेँ । ५ बर्ष भौतारिएपछि छोरी मारिएको ठाँउ फेलापर्यो । मेरो चिन्ता केही कम भयो । दिमाख अलि सितल भयो । यसक्रममा मलाई छोरी खोज्न रेडक्रसले सहयोग गर्यो । चिहान पाइयो । फलफूल चढाँए । कुशको छोरी बनाएर संस्कार गरें । आज म दोसाँधको चिन्ताबाट मुक्त छु तर न्यायको खोजीमा अझै छु ।” 
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र बेपत्ता परिवार समाज नेपाल (नेफाद) ले संयुक्त रुपमा आयोजित अन्तर्राष्ट्रिय बेपत्ता दिवस को कार्यक्रमको बीचमा दाङकी भोलाजी चौधरीले सो कुरा बताउनुभएको हो । हरेक बर्षको अगष्ट ३० लाई विश्वभर अन्तर्राष्ट्रिय बेपत्ता दिवसको रुपमा मनाउने गरिएको छ ।

मंगलबार ललितपुर कुपण्डोलमा जम्मा हुनुभएका वेपत्ता परिवारका आफन्तजन, बेपत्ता आयोगका माननीय अध्यक्ष र सदस्यहरु, रेडक्रसकर्मीहरु बीच बेपत्ता भएका व्यक्तिहरुका भोलाजी जस्तै जमुना सेढाई, लगायत परिवारहरुले आफ्नो पीडा र चासोहरु व्यक्त गर्नुभयो । आफन्तहरू मूलतः आफ्ना बेपत्ता प्रियजनको अवस्था जान्न चाहन्छन् ।

नियमावली आउन ढिलाईभएको बताउदै बेपत्ता आयोगका माननीय अध्यक्ष श्री लोकेन्द्र मल्लिकले आयोगमा २,८४६ जनाको उजुरी परेको र अहिलेसम्म २,८७० जना बेपत्ता भएको जानकारी आएको बताउनुभयो । घटना बुझ्ने, प्रमाण संकलन गर्न आयोग लागिपर्ने भएकोले पीडित परिवारसंग  उहाँले सहयोगको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेरेसोका महामन्त्री देवरत्न धाख्वाले सहभागीहरुलाई स्वागत गर्दै बेपत्ताहरुको विषय मानवीय विषयभएकोले रेडक्रस सञ्जालले यसमा काम गर्ने बताउनुभयो ।  बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रामकुमार भण्डारीले दैनिक रुपमा वेपत्तापरिवारका सदस्य कसरी बाँचेका हेर्न अनुरोध गर्दै  बर्षौदेखि बेपत्ताका परिवारले उठाइरहेका आफन्तजनको अवस्था के छ प्रष्टपारिदिन सरकार र आयोगलाई अनुरोध गर्नुभयो । परिपुरणको नीति अझै नबनेको, अन्तरीम राहत भनेर विभेदमा पारेर वितरण गरिएको, सरकार र उच्च तहमा अहिले पनि पीडकहरु रहेको गुनासो गर्दै निश्पक्ष छानविनको अपेक्षा गर्नुभयो ।  

यसैवीच सोही कार्यक्रममा नेपालमा बेपत्ता भएका व्यक्तिहरूको सूची सार्वजनिक गरिएको छ । नवौं संस्करण यो सूचीमा १,३३४ जना बेपत्ता व्यक्तिहरूको नामावली समावेश गरिएको छ । सोहि अवसरमा अन्तिम बिदाई नामक छोटो वृत्तचित्र प्रदर्शनी गरिएको थियो । जसमा, आफ्नी छोरी अन्तिम पटक देखिएकी स्थानसम्मको भावनात्मक यात्रा तय गरेकी एउटी आमाको कथा बोकेको छ । त्यस्तै गरि बेपत्ताको सम्झना ‘हातेमालो’ नामक संस्मरणात्मक कार्यहरूका तस्बीर समेटेको पुस्तक पनि सार्वजनिक गरिएको छ ।

कार्यक्रमको समापन गर्दै आईसीआरसी काठमाडौं नियोग प्रमुख अन्द्रे पाकेले अन्तर्राष्ट्रिय मानवीय कानूनमा उल्लेख भएअनुसार बेपत्ता प्रियजनको अवस्थाको बारेमा लामो समयदेखि प्रतिक्षामा रहेका पीडित तथा परिवारहरूलाई जवाफ दिन एवं उनीहरूका अन्य आवश्यकता सम्बोधन गर्न ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’ तथा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ ले हरसम्भव प्रयास गर्नेछन् भन्ने अपेक्षा गर्नुभयो ।



0 comments

Write Down Your Responses