Powered by Blogger.
रक्तदाताहरुलाई मरणोपरान्त सम्मान


२३ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको क्षेत्रमा उत्कृष्ट कार्यगर्ने ६ सय २८ जनालाई सम्मान गरेको छ । 

रेडक्रसको रक्तसञ्चार सेवाको स्वर्णजयन्तीको अवसरमा स्वर्णजयन्ती पदक, कदरपत्र र स्मृति चिन्ह वितरण गरिएको हो ।सो अवसरमा गत भूकम्पको समयमा रक्तदान शिविर आयोजना हुदैगर्दा काष्ठमण्डप, काठमाडौंमा मृत्यूबरण गर्नुभएका ७ जना रक्तदाताहरुलाई मरणोपरान्त सम्मान गरिएको छ । 

त्यस्तै अन्य १५ जनालाई मरणोपरान्त प्रमाणपत्र प्रदान गरिएको छ । रक्तदानको क्षेत्रमा योगदान गर्ने नेरेसोका पूर्व अध्यक्ष रमेशकुमार शर्मा, लगायत २ सय २३ जनालाई  कदरपत्र र सेवापदक वितरण गरिएको छ । सम्मानित हुनेहरुमा डा. विश्वकेशर मास्के, डा.गौरीशंकर लालदास, इन्दिरा जैसी, कमल राणा, चन्द्रविक्रम शाह, डा.नरेन्द्रबहादुर थापा, डा.नारायणकेशरी सिंह र प्रतिभा राणा लगायत हुनुहुन्छ । 

त्यस्तै सम्मानित हुनेहरुमा १ सय ८४ जना रक्तदाताहरु र रक्तसञ्चारसेवाका कर्मचारीहरु रहनुभएको नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । नियमित रक्तदान शिविर आयोजना गर्ने ३ सय ५१ संघसंस्थाहरु र रक्तसञ्चार स्वर्णजयन्ती मूल समारोह समितिका २० जना सदस्यहरु र रक्तसञ्चार अस्पताल इकाइलाई पनि नेरेसो अध्यक्ष संजीव थापाले सम्मान गर्नुभयो । 

नेपालमा रक्तसञ्चार सेवा सुरुभएको ५० वर्ष पुगेको अवसरमा गत साउत १२ गते देशभरीका १ हजार ३ सय ४५ जनालाई स्वर्णजयन्ती पदक, कदरपत्र र स्मृति चिन्ह प्रदान गर्ने घोषणा गरेको थियो । यस वितरणको सिलसिला उपराष्ट्रपति नन्द बहादुर पुनले गत साउन १२ गते सुरु गर्नुभएको थियो । तीमध्ये जिल्ला जिल्लाका पदक र प्रमाणपत्रहरु सम्बन्धित जिल्लामा नै पठाइएको र जिल्ला रेडक्रसले विशेष कार्यक्रम गरि सम्मान गरिने कार्यक्रम रहेको छ ।

नेपालमा रक्तसञ्चार सेवा सुरुभएको ५० वर्षमा ३३ लाख भन्दा बढी यूनिट रक्त संकलन गरिएको र ४० लाख मानिसलाई रक्तसेवा पुर्याइएको छ ।




0 comments

Write Down Your Responses