Powered by Blogger.
संघसँग भएको सहमतिलाई ट्राफिक प्रहरीले कार्यान्वयन गर्नुपर्ने : अध्यक्ष न्यौपाने

हेटौंडा, ३१ भाद्र । मकवानपुर उद्योग वाणिज्य संघले आज हेटौंडा बजारमा सवारी पार्किङ्ग व्यवस्थित गर्ने विषयमा सरोकारवाला निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा हेटौंडा उप–महानगरपालिका सँग छलफल तथा अन्तक्र्रिया गरेको छ । विगतमा मउवासंघको पहलमा हेटौडा उप–महानगरपालिका, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग हाल खाली र उपलब्ध भएको स्थानमा नै अर्को विकल्प नभएसम्मका लागि सवारी पार्किङ्ग गर्ने सहमतिलाई ट्राफिक प्रहरीले वेवास्ता गर्दै हिजोबाट ती स्थानमा राखिएका सवारीमाथि कार्वाही गरेको थियो । व्यवसायीहरु प्रहरी प्रति रुष्ट भएपछि संघको पहलमा सो छलफल गरिएको हो । छलफल कार्यक्रममा संघका अध्यक्ष राजकुमार न्यौपानेले विगतको सहमतिलाई सरोकारवाला निकायले वेवास्ता गरेको र यसले व्यवसायीलाई असर पारेकोले यस तर्फ गम्भीर हुन आग्रह गर्नु भयो ।
 जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण थापाले ट्राफिक प्रहरीले सवारी व्यवस्थापन मात्र गर्न खोजेको बताउनु भएकोछ । नगरपालिकाले सवारी व्यवस्थापनका लागि स्थान तोकिदिए सोही बमोजिम अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोछ । छलफल कार्यक्रममा प्रहरी निरीक्षक थापाले तत्कालका लागि सो स्थानमा डोरीले पार्किङ्ग स्थल तोक्न संघले भूमिका खेल्नुपर्ने र हिजो प्रहरी नियन्त्रणमा लिएका व्यक्तिलाई छोड्ने तर्फ पहल गर्ने बताउनु भएकोछ । कार्यक्रममा हेउनपाका अधिकृत जगन्नाथ सापकोटाले नगरपालिकाले सवारी पार्किङ्गका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न नसक्ने र हाल भएकै स्थानबाट विकल्प खोज्न आग्रह गर्नुभयो । भाद्र ३० गते बुद्धचोक आसपासका पसल अगाडी राखिएका सवारीलाई कार्वाही गर्न थालेपछि हिजो केहीबेर सो स्थानमा तनाब श्रृजना हुँदा २ जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
हिजो श्रृजना भएको विषयमा छलफलका लागि हेटौंडा उप–महानगरपालिका र जिल्ला ट्राफिक प्रहरीलाई लिखित पत्र दिएपनि ट्राफिक प्रहरीको तर्फबाट संघले बोलाउदैमा छलफलमा भाग लिन बाध्यकारी नहुने टेलिफोन मार्फत बताएका प्रहरी निरीक्षक थापा छलफलका लागि उवासंघको हलमा ढिलो गरी आईपुगेका थिए । छलफल कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, सल्लाहकार विजेन्द्र अग्रवाल, महासचिव महेन्द्र राउत, कार्य समिति सदस्य काव्यमणि अधिकारी, व्यवसायी लगायत करीब ५० जनाको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses