Powered by Blogger.
चन्द्रागिरी केवलकारः ‘गरे त हुने रहेछ’

रामजी बलामी
धेरै बर्षपछि फेरि एक पटक चन्द्रागिरी पर्वतको चर्चा चुलिएको छ । विगतमा राजधानी प्रवेश गर्ने मुख्य मार्गको रुपमा चिनिएको यो बाटो पछिल्लो समय केवलकार निर्माण भएसँगै चर्चामा आएको हो । चन्द्रागिरी हिल्स प्रालिले काठमाडौंको थानकोटदेखि चन्द्रागिरी पर्वतको भालेश्वरसम्म केवलकार निर्माण गरेसँगै अहिले त्यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरुको भिड लाग्न थालेका छन् ।

करिव ३ अर्ब २५ करोको लागतमा निर्माण गरिएको केवलकारको तल्लो स्टेशन ६ हेक्टर जनिमा फैलिएको छ भने माथिल्लो स्टेशनका लागि ३६ हेक्टर जमिन लिजमा लिईएको छ । लम्वाई २.४ किमी लम्वाई रहेको केवलकारबाट ८ मिनेटमा चन्द्रागिरी डाँडा पुगिन्छ ।

यस पर्वतका वारेमा एउटा कथन छ । दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर हिड्ने क्रममा सतिदेवीको भाल अर्थात निधारको पतन चन्द्रागिरी डाँडा भएको मानिन्छ । त्यसैकारण यो ठाउँको नाम भालेश्वर राखिएको स्थानीय वताउछन ।

पृथ्वीनारायण शाहले वि.सं. १८२६ मा भक्तपुर विजय गरिसकेपछि राजा रणजीत मल्ल थानकोट र चित्लाङको चन्द्रगिरी पर्वत चिसापानी भई भारत गएको विभिन्न पुस्तकहरुमा उल्लेख छ । साथै पृथ्वी नारायण शाहले आफ्नो ससुराली मकवानपुरबाट काठमाडौं जानेक्रममा चन्द्रागिरीको डाँडामा आएर काठमाडौं, ललितपुर र भक्तपुरको राजा बन्ने अभिलाशा व्यक्त गरेको कुरा पनि उल्लेख छ ।

ई.सं. १९०६ मा जंगबहादुर राणा युरोप यात्रामा निस्कँदा पनि यही बाटो भएर गएको भनाइ छ । जंगबहादुरले कुलेखानीदेखि भीमफेदीसम्मको बाटो बनाइदिएकाले सो बाटोको नामै जंगबहादुरको बाटो भन्ने गरिएको छ ।  चित्लाङ, मार्खु, कुलेखानीका विभिन्न स्थानहरूमा आवास गृह निर्माण गरेको पाइन्छ । यी सन्दर्भहरुले यो मार्गको ऐतिहासिक महत्व र पहिचान दर्शाउँछ ।

ऐतिहासिक मात्रै नभएर पर्यावरणीय स्वच्छताको लागि समेत यो पर्वतलाई एउटा प्राकृतिक वरदान मान्न सकिन्छ । काठमाडौंलाई स्वच्छ हावा प्रदान गर्ने चार भञ्ज्यांग मध्ये यो पनि एक हो ।ऐतिहासिक एवं धार्मिकरुपले प्रसिद्ध यो ठाउँ अहिले पर्यटकीय केन्द्र बन्न पुगेको छ । यहाँबाट महालंगुरदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको दृश्य अवलोकन गर्न सकिन्छ । 

राजधानीबाट नजिकै रहेकाले पनि चन्द्रागिरीले धेरैको ध्यान तानिरहेको छ । चन्द्रागिरी पर्वतबाट पूर्वतर्फ राजधानीको दृश्य र पश्चिमतर्फ सुन्दर चित्लाङ फाँटको दृश्य अवलोकन गर्न सकिन्छ । साथै केही हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ । त्यसैले पनि पारिवारिक मुडफ्रेसदेखि प्रेमिल जोडीहरुको डेटिङस्पट समेत बन्न थालेको छ चन्द्रागिरी । 

चन्द्रागिरी पर्वत मात्रै होईन यो मार्ग पनि त्यतिकै लोकप्रिय र महत्वपूर्ण छ । अहिले केवलकार बनाएर चर्चामा आए पनि पैदल यात्राको महत्व आफैमा महत्वपूर्ण छ । यो पर्वतको अथाह महत्व प्रत्यक्ष अनुभूति गर्नका लागि पैदल यात्रा लाभदायक हुन्छ ।  प्राकृतिक,  ऐतिहासिक, धार्मिक र सांस्कृतिकरुपले भरिपूर्ण तथा यथेष्ठ पर्यटकीय संभावना बोकेको यो मार्ग अहिले विगतमा जस्तो खासै चर्चा र प्रयोगमा आउन सकेको छैन । 

हुन त अहिले पनि उत्तरी मकवानपुरको चित्लाङ, बज्रवाराही, मार्खु र काठमाडौंका केही स्थानीय यहि मार्ग भएर ओहोरदोहोर गर्ने गरेका छन । कुनै समय राजधानीमा सवारी साधन बोकेर भित्र्याउँने यो मार्गमा अहिले करिव आधा दर्जन साना जिप तथा माइक्रोहरु संचालनमा छन । यो बाटोमा त्यसताका मान्छेले गाडी बोक्थे अहिले गाडीले मान्छे बोक्न थालेका छन ।

काठमाडौंको थानकोट गोदमदेखि चित्लाङसम्मको १८ किमीको पैदल यात्रा करिव ३ घण्टामा गर्न सकिन्छ । गणेशमान सिंह मार्गको नामले समेत चिनिने यो मार्गको स्तरीकरण गरी भरपर्दाे बाटो बनाउँने हो भने तराइ जोड्ने सवै भन्दा छोटो दुरीको रुपमा समेत लिन सकिन्छ । बाइरोडको बाटो, मुग्लिनको वाटो र दक्षिणकालीको मार्ग भन्दा कयौ गुणा छिटो पुग्न सकिने यो मार्ग ओझेलमा पर्दा स्थानीय मात्रै मर्कामा परेका छैनन् मुलुकको अर्थतन्त्रमै धक्का पुगेको छ ।

विशेषतः अहिलेको मौसममा यो डाँडाको टुप्पोबाट देखिने काठमाडौं उपत्यकाको दृश्य र सूर्याेदयले चम्काएको हिमालको मुस्कान देख्दा मोहित नहुने सायद कमै होलान । वरिपरि देखिने हिमश्रृंखलाको अवलोकन र स्वच्छ पर्यावरणमा रम्नकालागि समेत यो मार्गको यात्रा अति उत्तम मान्न सकिन्छ । बर्षात मौषममा बादल र कुहिरोले गर्दा बिहानी र साझँमा भने यस्तो मनमोहक दृश्य देखिन्न । डाँडाबाट नियाल्दा गुच्चाकारको काठमाडौं उपत्यका र बेलुका झिलिमिली देखिने उपत्यकाले मानवको मात्रै होइन हरेक प्राणीले राजधानीलाई स्वर्ग ठान्दा हुन । काकाकुल उपत्यकामा भविष्य खोजेर हराउनेहरुकालागि शान्त, सुन्दर र शितलता प्रदान गर्न यो पर्वत आतुर देखिन्छन् ।

चराचुरुंगीको चिरविर आवाजमा रम्दै यात्रा गर्नुको मज्जै बेग्लै छ । यस जंगलमा विभिन्न अनौठा किरा फट्यांग्राहरु, चरा लगायतको अवलोकन समेत गर्न पाइन्छ । अर्काे अचम्म लाग्दो कुरा त के  छ भने, यो मार्गमा गड्यौला असाध्यै देखिन्छ । बास्तवमै भन्नु पर्दा यो गड्यौलाहरुले ढाकेको गड्यौली सडक हो । उचित पूर्वाधारको विकास हुने हो भने मकवानपुरकै पर्यटकीय क्षेत्र दामनको विकल्पको रुपमा समेत स्थापीत हुने प्रवल संभावना छ चन्द्रागिरी पर्वत । पर्याप्त पुर्वधारको अभाव र सरकारको सकारात्मक नजर पुग्न नसक्दा नै यो मार्ग ओझेलमा परेका हुन । राजनीतिक संग्रामबाट मुक्ति पाउँन धुलिखेल र दामन पुग्ने नेतागणहरुलाई चन्द्रागिरी झन ठूलो उपयुक्त स्थल हुने पक्का छ । 

चोरी, डकैटी र बन्यजन्तुको डरले नै त्यस क्षेत्रमा रहेका केही सिमित घरहरु समेत अवशेषमा रुपान्तरीत भएका छन । त्यसकारण यो क्षेत्रको यात्रा गर्दा अत्यावश्यक कुराहरु जस्तै पानी, औषधी, खानेकुरा लगायत साथमा राख्नु आवश्यक छ । चन्द्रागिरीको प्रस्थान विन्दुदेखि चित्लाङ नपुगुञ्जेलसम्म कहिंकतै पनि बस्ती भेटिदैन । पैदल यात्रा गर्ने मार्ग र अहिले केवलकार बनाइएको मार्ग भिन्दै छ ।

यो पर्वतको अर्काे सम्पदा हो जडिवुटी । यहाँ चिराइतो, पाखुम्बेत, लौठ सल्लाजस्ता सयौं जडिबुटीहरु त्यसै खेर गईरहेका छन । खेर गइरहेका मात्रै होइनन् केही स्थानीय व्यक्तिहरुले आयआर्जन समेत गरिरहेका छन । यसलाई अझ व्यवसायिक रूपमा सही सदुपयोग गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमै सकारात्मक प्रभाव पर्ने कुरामा शंका छैन । खोज्दै जाने हो भने यो जंगलमा अझ धेरै लाभदायक संभावनाहरु देखिन्छ ।

लामो समयदेखि यो बाटो निर्माण र स्तरीकरणकालागि भन्दै सरकारले बजेट छुट्याउने गरिए पनि प्रायः हरेक वर्ष फ्रिज हुने गरेको छ । थानकोट र चित्लाङका स्थानीय वासिन्दा तथा राजनीतिक दलहरुको मतभेदका कारण यो मार्ग बन्न सकेको छैन । यति मात्रै होइन सरकार र सडक विभाग लगायतका निकायले समेत यो मार्ग बनाउँन खासै पहल गरेको देखिदैन । कहिले ठेकेदार विवाद त कहिले उच्च पदस्थ व्यक्तिहरुको विवादका कारण हरेक वर्ष यो मार्गको बजेट फिर्ता भएको समाचार सुन्न वाध्य छौ । कुलेखानी, चित्लाङ लगायतका क्षेत्रको भ्रमणकालागि जाने पर्यटकहरुले कच्चीबाटोमा उड्ने धुलोकै कारण हैरानी खेप्नु परेको छ । 

यो मार्गको स्तरीकरण गरि आवश्यक पूर्वाधार खडा गर्न सरकारले वातावरण मिलाउँनु पर्दछ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाई सरकारले यो क्षेत्रलाई प्रमुखताका साथ लगानी गर्ने हो भने चन्द्रागिरी डाँडा हाम्रोलागि ठूलो उपलब्धि सावित बन्ने थियो । 

अतः चन्द्रागिरी केवलकारको निर्माणसँगै ‘गरे त हुने रहेछ’ भन्ने कुरा प्रष्ट भएको छ । हरेक कुरामा सरकारको मुख ताक्ने प्रवृतिले पनि विकास हुन नसकेको कुरा सत्य हो त्यसैले निजी व्यवसायीहरुले पनि संभावित क्षेत्रहरुमा लगानी गरी विकासको ढोका खोल्न सकिन्छ ।  

rbalami2008@gmail.com

0 comments

Write Down Your Responses

pfizer vaccine