Powered by Blogger.
कृषि पत्रकार प्रतिष्ठानमा नयाँ नेतृत्व


काठमाडौ, १ असोज । कृषि पत्रकारहरुको छाता संगठन नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)को दोश्रो अधिवेशनले  अन्नपूर्ण पोष्टका राजेश बर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार राजधानीमा सम्पन्नअधिवेशनले वर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । 

समितिको उपाध्यक्षमा कारोबार दैनिकका किरण आचार्य, महासचिबमा कृषि टेलिभिजनका गोविन्दप्रसाद घिमिरे, सचिवमा कृषि टेलिभिजनका पवन श्रेष्ठ, कोषाध्यक्षमा हिमालय टाइम्सका लेखनाथ पोखरेल, सह कोषाध्यक्षमा राजधानी दैनिकका लक्ष्मी सापकोटा सर्वसम्मत रुपमा चयन भएका छन । 

यसैगरी  सदस्यहरुमा नयाँ पत्रिकाका अजित अधिकारी, गोरखापत्रका सुरेशकुमार यादव, राष्ट्रिय समाचार समितिका राजाराम कार्की, नागरिक दैनिकका दिलीप पौडेल, आर्थिक दैनिकका हिमा बिक र रातोपाटी डटकमका भरत पाण्डेय पनि सर्वसम्मतिले चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले कृषिको नीति निर्माण तथा कार्यान्वयन तहका दुबै निकाय एनजिओमुखी भएको हुँदा वस्तुगत नतिजा हासिल गर्न समस्या भएको बताउनु भयो  ।  धुलिखेलको एउटा रिसोर्टमा एडिएसको बैठक आयोजना भएकोमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, देशको कृषिको विकासमा बैठक थियो, तर त्यहाँ किसानको प्रतिनिधित्व थिएन । जबसम्म किसानको घरदैलो, खेतबारी र फार्महरुमा नीति निर्माण तहका व्यक्तिहरु बसेर छलफल गरिदैन, तबसम्म कृषिमा रचनात्मक विकास हुन सक्दैन । ‘काठमाण्डौमा गोलभेंडा भसक्कै म¥यो, तर राज्यले बेलैमा ध्यान दिन नसक्दा धेरै किसानको उठिबास भयो । हामीले नेपाली विज्ञको ज्ञान उपयोग गर्न सकेनौं । विदेशीलाई मात्र विज्ञ ठान्ने मानसिकताले हामी ग्रसित भयौं ।’ उहाँको भनाई थियो । 

कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता योगेन्द्रकुमार कार्कीले सिमान्त र साना कृषि उद्यमीहरुलाई बढी सबल बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल चेम्बर अफ कमर्सका सदस्य कृष्णमान श्रेष्ठले कृषिमा अनुदान, बीमा, सहुलियत व्याजको ऋणलगायत नीति बनेपनि किसानले खास लाभ पाउन नसकेको गुनासो गर्नुभयो । बैंकले कृषि ऋण सकेसम्म दिन चाहँदैन । कृषि बीमा पनि खासै प्रयोगमा छैन । झन् तरकारी बालीमा त कुनै बीमा कम्पनीले चासो राख्दैन । काठमाण्डौमा आधुनिक कृषि फार्म सञ्चालन गरी तीन करोड लगानी गरेका श्रेष्ठले निजी कृषि उद्यमीलाई सरकारले अन्य व्यवसायी सरह कर लिने गरेकोमा चित्त दुखाउनु भयो । 

कृषि विकास बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष एवं कृषि उद्यमी तेजविक्रम थापाले आम सञ्चारबाट कृषिको प्रवद्र्धनमा टेवा दिन सकिने धारणा राख्नुभयो ।राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले साना किसानले अनुभूत गर्ने गरी नीति तथा कार्यक्रम लागू नभएसम्म नेपाली कृषिको उन्नति हुन नसक्ने बताउनुभयो । 
कृषि विभागका महानिर्देशक डा.युवकध्वज जिसीले कृषिको प्रवद्र्धनमा नेपाली मिडियाले प्राथमिकता दिन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अनियन्त्रित रुपमा गुणस्तरहीन मल, बीऊ र औषधि आयात भइरहेको बताउनुभयो । सम्बन्धित निकायले यसको नियन्त्रणमा चासो नदिएको हुँदा कृषि उत्पादनमा प्रतिकूल असर परिरहेको उनको विश्लेषण थियो । अहिले विषादि नहालेको खाद्य पदार्थ पाउनै छाड्यो, यसको विषयमा व्यापक मिडिया कभरेज हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल फलफूल, तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी तथा फलफूलको बजारीकरणमा पर्याप्त नीति निर्माणको खाँचो औंल्याउनुभयो ।

डेरी उद्योग संघका उपाध्यक्ष अरनिको राजभण्डारी र डेरी एसोसियनका उपाध्यक्ष राधाकृष्ण सापकोटाले नेपाली मिडियाले गलत अफवाहलाई चिर्न निकै सहयोग गरिरहेको बताउनुभयो । कोलिफर्मको गलत इस्यू खुबै प्रचार भएको थियो, कृषि पत्रकारहरुले यसको वस्तुगत आधारसहित अफवाह चिर्न सहयोग गर्नुभयो, नेपालका डेरी उद्योगहरु कृतज्ञ छौं , दुबैजनाको भनाइ थियो । 

डेरी उपकरण उद्यमी तिलक शर्माले डेरी उपकरणको आयातमा १ प्रतिशत भन्सार शुल्कमा आयात गर्ने नीति ल्याएर स्वदेशी उद्यमीको अवहेलना भएको बताउनुभयो । साधारण किसानले आयात गर्न सक्दैनन्, हामीले गरेको उत्पादनमा चर्को शुल्क लाग्छ । यसले सर्वसाधारण किसान र स्वदेशी उद्यमी दुबै पीडित भए ।

आर्थिक पत्रकार जुनारबाबु बस्नेतले सरकारी नीति आम किसानमुखी बनाउनु आवश्यक रहेको बताउनुभयो । कुनैबेला नेपाल कोरियामा खाद्यान्न निर्यात गथ्र्यो, अहिले हामी त्यहाँ कामदार भएर जान लाइन बस्छौं, कृषिको दूर्दशा यसको एउटा कारण पनि हो । नेपालका कृषि पत्रकारहरुको सर्वाधिक ठूलो संगठन यस प्रतिष्ठानले हालै अन्तर्राष्टिय कृषि पत्रकार महासंघको आवद्धतासमेत हासिल गरेको यसका नवनिर्वाचित अध्यक्ष राजेश बर्माले बताउनुभयो । 



0 comments

Write Down Your Responses