Powered by Blogger.
‘प्रथम मिसेस तामाङ –२०१६’ को उपाधि शान्तिलाई


काठमाडौं ।  ‘प्रथम मिसेस तामाङ –२०१६’को उपाधि शान्ति तामाङले हात परेकी छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा राजधानीमा सम्पन्न ‘प्रथम मिसेस तामाङ –२०१६’ मा १७ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भएकी शान्ति धादिङ, दार्खाकी हुन् । कार्यक्रम कृषि विकास राज्यमन्त्री राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उपाधिसँगै शान्ति हिरो कम्पनीको दियो स्कुटी, सिटिभी कम्पनीको थ्रिजी मोबाइललगायतले पुरस्कृत भइन् ।

त्यसैगरी, फस्ट रनरअपको उपाधी अनुकुमारी लामाले जितेकी छिन् भने सेकेन्ड रनरअप अनिता लामा, थर्ड रनर अप सुनिता घलान, फोर्थ रनरअप श्याममाया लामा र फिप्थ रनरअप राधा थोकर भएकी थिइन् । विजेताहरु सबैलाई नगद तथा चेक क्रमशः ५० हजार, ३५ हजार, २५ हजार, २० हजार, १५ हजारसहित सिटिभी कम्पनीको थ्रिजी मोबाइल प्रदान गरिएको थियो ।

शान्ताकुमारी लामाको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद् तथा तामाङ डाजाङका सल्लाहकार अमृत योञ्जन तामाङ, शिव सेना नेपालका अध्यक्ष मुस्कान पौडेल, मोडल निर्जन थापा र समाजसेवी दीक्षा चापागाई  निर्णायक भूमिकामा थिए ।

१८ प्रतिस्पर्धीबाट १० जना अन्तिम प्रतियोगिताका लागि छानिएका थिए । उनीहरु सबैलाई निर्णायकहरुले एउटै प्रश्न सोधेका थिए । ‘यदि तपाई देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?’ उक्त प्रश्नको सबैले आ–आफ्नो शैलीमा जवाफ दिएका थिए । कार्यक्रममा फोटो पोजिसन, को–अपरेटिभ, इन्टेलिजेन्ट, फेसबुक बिजेता, पपुलर, फोटो जेनिक, स्माइलिङ, वाकिङ, फ्रेन्डसिप, ड्रेसलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा चर्चित कलाकार युवा गायक विजय लामा, हास्यकलाकार बुद्धि तामाङ ‘हैट’, गायक फूलकुमार बम्जन, गायिका मेनुका राई तामाङ, गायक सगुन तामाङलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए । युवा गायक लामाको प्रस्तुती जमदार रहेको थियो । 

‘प्रथम मिसेस तामाङ –२०१६’को कार्यक्रममा ‘संयुक्त अपांग आवाज केन्द्र नेपाल’लाई ४० हजार नगद दिलबहादुर कार्कीको हातमा आयोजक टिमले सुम्पिएका थिए ।आयोजक एसके इन्टरटेन्मेन्टका प्रमुख शान्ताकुमारी लामाले तामाङ गृहिणीहरु पनि कम नभएको बताइन् । 

एउटी महिला श्रीमती, बुहारी, सासु, र  आमा बनेर गृहिणीमा परिणत भए पनि क्षमतामा कमी छैनन् बरु अनुभवले अरु खारिएका छन्  भन्ने सन्देश दिन पहिलोपटक मिसेस तामाङको आयोजना गरिएको बताइन् । मिसेस तामाङको मिडिया पार्टनर प्रभाव दैनिक, तामाङ डाजाङ डटकम डटएनपी, युवाहुंकार रहेका थिए ।



0 comments

Write Down Your Responses